रक्तदान मैत्री समाज आजको आवश्यकता

दिनेश बोहरा

स्कुले साथी सुमन । बोनम्यारो समस्याले उस्लाई उति साह्रो सन्चो हुदैन थियो । पटकपटक रगत चढाई राख्नु प¥थ्यो । त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले फोन ग¥यो, ‘मेरो ‘ब्लड’ चढाउनु पर्ने छ, ‘ब्लड बैक’ आएको छु ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’

लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको रक्तसञ्चार केन्द्र पुगे । रक्तसञ्चार केन्द्र मेनरोडमै पर्ने भएकाले आवतजावत गर्दा सधै देखेको भएनि भित्र छिर्ने अवसर जुरेको थिएन । त्यहाँ रगत पाइन्छ, यति थाहा थियो मलाई । सुमनको कारणले त्यसदिन सिधै भित्र जाने मौका मिल्यो ।

सुमन मलाई पर्खेर बसेको रहेछ । उसले मलाई पनि रक्तदान गर्न अनुरोध ग¥यो । म झस्किए किनभने यसअघि मैले कहिल्यै रक्तदान गरेको थिएन । तैपनि साथीले नै अनुरोध गरिसकेपछि म तयार भए ।

रक्तदान व्यवस्थापनमा खटेका रेडक्रसका एक कर्मचारीले मेरो ब्लड ग्रुप सोधे । मैले ब्लड ग्रुप ‘बी’ भनिदिए । स्कुल पढ्दा एक संस्थाले ‘ब्लड ग्रुप’ जाँच गरिदिएकाले मलाई थाहा थियो । खाजा खाए/नखाएको, औषधि सेवन गरे/नगरेको सोधे । साथै मेरो रक्तचाप र तौल पनि जाँच गरियो ।

सबै चेकजाँचपछि म रक्तदान गर्न योग्य ठहरीए । फर्ममा मेरो व्यक्तिगत विवरण टिपियो । रेडक्रसका कर्मचारीले नजिकै बेडमा पल्टिन लाए । पल्टिए । मनमा भने डरैडरले भरिएको थियो । हेर्दाहेर्दै उनले मेरो देबे्र पाखुरामा सुई घोपे । घोपे ठाउँमा कमिलाले चिलेजसरी दुख्यो । उनले सुई र रगत राख्ने थैलो जोडिसकेका थिए ।

डरले मैले दुवै आँखा चिम्म गरे । पहिलो पटक रक्तदान गर्ने कतिपय मानिस रगतको थैलो देखेर मानसिक समस्यामा पर्छन् भन्ने सुनेको थिए । मलाई पनि आफ्नो शरिरबाट तानेको रगत नलीबाट बग्दै थैलोमा जम्मा भैरहेको हेर्ने आँट नै आएन ।

२०७३ सालको दशै सुरु हुँदै थियो । त्यसबेला म काठमाडौमा थिए । सामाजिक कार्य गर्दै आएको दारी ग्याङमा जोइन’ हुने मौका पाए । दशैको लागि घर फर्किने क्रममा दारी ग्याङ संस्थापक एड्मिन जग्दिश भण्डारी दाइबाट एउटा टिसर्ट पाएको थिए । धनगढी आउदा लगाएर आएको थिए । जसले मलाई धनगढीमा दारी ग्याङको ‘अफिसियल’ सदस्यका रुपमा चिनारी दिन्थ्यो ।

दारी ग्याङमा प्रवेशपछि पहिलोपटक फेसबुकबाट रक्तदाता खोजेको पोस्ट देखे । मैले वि.स २०६७/६८ बाटै फेसबुक चलाउन थालेको भएपनि धनगढीमा सामाजिक सञ्जालबाट रक्तदाता माग्ने चलन थिएन ।

तर फेसबुकमा पोष्टमार्फत रक्तदाता खोज्ने तरिकाले मेरो ध्यान खिच्यो । धनगढीमा पनि यो चलन बसाउन मन लाग्यो । ०७३ कार्तिकमा मैले केही युवा साथीहरुसित मिलेर धनगढीमा दारी ग्याङ गठन गरे । ०७३ कार्तिक १२ गते शुक्रबारका दिन सेती अञ्चल अस्पतालमा भर्ना भएको एक बालकलाई ‘एबी प्लस’ रगत चाहिएको थाहा पायौ । हामीले फेसबुकमा स्ट्याटस् पोष्ट गरेर दारी ग्याङमार्फत खोजिदियौ । जुन हामीले सामाजिक सञ्जालमार्फत रक्तदाता खोजेको पहिलो केश थियो । त्यसयता हामीले फेसबुक पोष्टमार्फत धेरै विरामीहरुलाई रगत दान गर्न/गराउन सकेका छौ ।

म आफैले पनि ३/३ महिनाको अन्तरमा रक्तदान गर्न थाले । रगत चाहिएका बिरामीहरुको अवस्था, उनीहरुका आफन्तको भोगाई नजिक बाट अनुभव गर्न पाए । अनि बल्ल बुझ्न थाले ‘रक्तदान जीवन दान’ त्यसै भनिएको होईन रहेछ । धनगढीमै रगत व्यवस्थापन गर्दा यहाँको समाजमा रक्तदानबारेको चेतना प्रत्यक्ष बुझ्न पाए ।

पछिल्लो समय धनगढीमा रक्तदान गर्ने ज्ञान, स्रोत साधनको कमीजस्ता थुप्रै समस्याका बाबजुत रक्तदाताको संख्यामा वृद्धि भईरहेको छ । यद्यपी रगत दिन र लिन अझै पनि हच्किने सोचाइ फेरिएको छैन ।

रगत न कुनै कम्पनीमा उत्पादन हुन्छ, न यसको प्राकृतिक मुहान नै छ । जब सम्म हामी युवा र हाम्रो समुदायले रक्तदान गर्न सक्दैनौं तबसम्म सुरक्षित हुन सक्दैनौं । युवाहरुले आफ्नो समुदाय र घरपरिवारमा रक्तदानको अमुल्य महत्वलाई बुझाएर रक्तदाता मैत्री समाज निर्माण गर्नु आजको आवश्यकता बनेको छ ।

अहिले कोरोना महामारीको विषम परिस्थतीले सिर्जना भएको लकडाउनमा सामाजिक सञ्जालमार्फत रक्तदाता र व्यवस्थापकहरु अझ सक्रिय हुनु जरूरी छ ।

लेखक दारी ग्याङ धनगढीका संयोजक हुन् ।