प्रतिवाद – राम्रालाई पनि ठाउँ छ की ?

जहिले पनि समस्याहरुमात्रै देखाइरहने होइन बरु नभएर मानिसहरुले खोजिरहेको समाधानलाई पनि मिडियामा स्थान दिनुपर्छ ।

वसन्तप्रताप सिंह

प्रधानमन्त्री केपी ओलीले पुस २९, ०७६ मा नेपाल चेम्बर अफ कमर्स आवद्ध व्यवसायीसँगको एक भेटमा भन्नुभयो ‘सरकारको राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् ।’ सरकारले सडकलाई मानवमुक्त बनाएको हुँदा कुनै पनि मानिस सडकमा बेबारिसे नभेटिने प्रसंग जोड्दै उहाँले भन्नुभएको थियो, ‘हामीले काम गरेका छौं, त्यस्ता कामहरूको प्रशंसामा लेख्ने पत्रपत्रिका छैनन्, प्रशारण गर्ने टेलिभिजन छैनन् ।’ उहाँले अझै थप्नुभयो, ‘कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि राम्रा कुरा गर्न थालिस् भनेर गाली खान्छ, राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, बिग्रिन्छस् भन्छन् ।’

ओलीको यो अभिव्यक्ति प्राय सबैजसो औपचारीक मिडियाका निम्ति गतिलो मसला बन्यो । सामाजिक सञ्जालहरुमा भाइरल भयो । सम्पादक र पत्रकारहरुले अनेक टिकाटिप्पणी गरे । असहज ठाने । हिमाल खबरको ‘के सम्पादकको ‘मुटु’ छैन ?’ शिर्षकमा लेखेको आलेखमा बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतिक प्रधानले ओलीको यो अभिव्यक्तिलाई राजतन्त्रमा मिडियासँग राजाले देखाएको रवैयासंग तुलना गर्नुभयो ।

नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले प्रधानमन्त्री वा उनले नेतृत्व गरेको सरकारको प्रशंसामा लेख्ने अवसर नपाउनु आफ्ना लागि दुखद भएको प्रतिक्रिया दिनुभयो । चौहान आफैले नयाँ पत्रिकामै ‘मुटु हराएको सूचना’ शिर्षकमा विचार लेख्नुभयो । त्यसमा प्रधानमन्त्रीलाई भन्नुभएको छ, ‘तपाईं यो देशको प्रमुख कार्यकारी हो, जनताले तपाईंको प्रशंसा गर्ने अवसर पाएमा देशको भविष्य उज्ज्वल हुनेछ । तपाईंलाई दुत्कार्ने परिस्थिति आएमा हाम्रो भविष्य अन्धकारमय हुनेछ । हामी अध्यारो होइन, उज्यालोको पर्खाइमा छौ ।’

सम्पादक र पत्रकारहरुले देशको कार्यकारी हैसियतमा रहेका प्रधानमन्त्रीको अभिव्यक्तिलाई असहज मान्नु स्वभाविक छ । जनताको भोटले नेतृत्व पुगेको सरकार उनै जनताको आवश्यकता अनुसार काम गर्न नसकेर यत्रतत्र आलोचित भैरहेको छ । सर्वसाधारणहरुका लागि विकास, न्याय र सुशासनको प्रत्याभुत छैन भने मिडियाले सरकारको वाहवाही गरेर लेख्न सक्दैन । लेख्न मिल्दैन ।

यसो भनिरहँदा प्रधानमन्त्रीको अभिव्यक्तिलाई ठाडै असहज मानिहाल्नुपर्ने पनि देखिदैन । मिडियाको मुख्य काम सरकारलाई प्रश्न गर्ने नै हो । जनताका समस्या उजागर गर्ने नै हो तर मिडियालाई यतिमै सिमित गर्न भने मिल्दैन । यदि सरकारले जनताको पक्षमा साँच्चै सकारात्मक काम गरेको छ भने मिडियाले स्थान दिन किन हिच्किचाउने ?

सरकारको गतिविधिलाई निष्पक्षताको तराजुमा राखेर मन, बचन र कर्मले केलाएर यथार्थलाई समेट्न सक्नुपर्छ । जनताले गरेका राम्रा प्रयास र प्रगतिलाई पनि स्थान दिनुपर्छ । जनता सधै समस्याले मात्रै गाँजिएका हुदैनन् । प्रधानमन्त्रीमात्रै होइन, आज आमपाठक उत्साह र उमंगको खबर सुन्न, पढ्न र हेर्न चाहान्छन् ।

केही समयअघि एक पत्रकार साथीले बलात्कारसम्बन्धी लेखेको समाचार उनी कार्यरत मिडियाले मुख्य समाचार बनायो । संयोग त्योसंगै अरु दुई संवाददाताका हिंसा सम्बन्धि समाचारले एकसाथ स्थान पाए । निकै मेहनतका साथ समस्या खोलखातल पारेर लेखेको समाचार मिडिया त स्थान पाए । सामाजिक सञ्जालमा भने नकरात्मक ‘ट्रोलिङ’ भैदियो ।

‘फलानो मिडिया एकाविहानै उठ्दा यस्ता विरक्त लाग्दा समाचार पढ्न, हेर्न नपर्ने दिन कहिले आउलान्’ यस्तै क्याप्सन राखेर ट्रोलिङ भयो । ‘विहान उठेर ट्विटर खोल्दा म त ट्वा परे, मेहनत गरेर पिडितको न्यायको पक्षमा लेखेको छु, मेरै समाचार ट्रोलिङ भैरहेको ’ उनले सुनाएका थिए, ‘यसले मलाई पाठ सिकायो, पाठकहरु समस्या नै समस्याले गाँजेको अवस्था भन्दा समाधानको पाटोमा रुची राख्छन् ।’ उनले त्यो घटनापछि समाचारमा सकरात्मतालाई जोड दिन थालेका छन् ।

पत्रकारितामा पछिल्लो समय ‘सोलुसन जर्नालिजम्’ अर्थात समाधान पत्रकारिता भन्ने शब्द प्रयोग भैरहेको छ । विकसित देशको पत्रकारिता नै हेरौ न । उनीहरु हाम्रोजस्तो तेस्रो देशलाई मुख्य समाचार बनाइरहेका छन् । हाम्रो गरीबी, अभाव र चेतनाको कमीलाई उनीहरुले ठुला समाचार बनाइरहेका छन् ।

हामी नेपाली खानै नपाएर मर्नुपर्ने स्थितीबाट त निकै माथि उठिसकेका छौ । तर उनीहरु हामीलाई सामाजिक रुपमा कमजोर देखाइरहन्छन् । जसले हाम्रो देशको परिचय विश्वमान चित्रमा निरिह जस्तो बनिरहेको छ । यस्ता कुरालाई चिर्न बिषय उठानमा सकरात्मक कोणलाई पनि हामीले स्थान दिनैपर्छ ।

पछिल्लो समय यो चेतना अन्तरराष्ट्रिय मिडियाका लागि नेपालबाट काम गर्ने पत्रकारमा देखिन्छ । एक दशकदेखि अन्तरराष्ट्रिय सञ्चारमाध्यममा काम गरिरहेका पत्रकार दिपक अधिकारीले गत डिसेम्बरमा पोखरामा भएको साहित्यिक महोत्सवको प्यानल डिस्कसनमा यो प्रसगं जोडेका छन् ।

उहाँले एक अन्तरराष्ट्रिय मिडियामा काम नलाग्ने फाल्तु पदार्थलाई पुन चक्रण गरेर कसरी आम्दानी लिन सकिन्छ भन्ने समाचार ल्याउदा प्रशंसा पाएको सुनाउदै भन्नुभएको थियो, ‘हामी बाँचिरहेको संसारलाई पत्रकारिताले प्रतिबिम्बित गर्नुपर्छ, हामीमा आलोचनात्मक चेत हुनुपर्छ संगसंगै राम्रँ कुरालाई ‘फलो’ गर्नुपर्छ, पत्रकारिताको यथार्थ यसैमा छ ।’ जहिले पनि समस्याहरुमात्रै देखाइरहने नभएर मानिसहरुले खोजिरहेको समाधानलाई पनि मिडियामा स्थान दिनुपर्ने उहा“को सुझाव थियो ।

उहाँले भनेजस्तै समाजले खोजेको समाधानलाई स्थान दिनु आजको आवश्यकता हो । जस्तो सुदुरपश्चिम र कर्णालीमा व्याप्त छाउपडी प्रथाले छाउगोठमै मान्छेको ज्यान गैरहेको छ । महिनावारी हुदा घरभन्दा टाढा रहेको सानो, साघुरो गोठमा निसासिएर, सर्पले डसेर आगलागी भएर मान्छेले अकालमा ज्यान गुमाइरहेका छन् । नीतिनिर्माण तहले यसको दोष छाउपडीप्रथालाई दिइरहेको छ ।

सरकार गोठ भत्काउने अभियानमा जुटेको छ । तर देउताको डर मान्ने सुदूरपश्चिमेली र कर्णालीबासी त्रिपाल टाँगेरै छाउपडी बार्न पछि हटेका छैनन् । यसको मतलब उनीहरुको मनको छाउगोठ कुनै भौतिक शक्तिले नष्ट गर्न हम्मे परिरहेको छ । यी बिषय समाचारमा आइरहेका छन् । तर छाउपडी नबार्ने परिवार पनि त छन् नि सुदूरपश्चिम र कर्णालीमा ।

महिनावारी हुदा बार्नका लागि कठोर मानसिकता बोकेका आमा, हजुरआमाहरु अचेल उनका नातीनातिनीलाई घरैभित्र, आफ्नै कोठामा सुत्न दिन थालेका छन् । उनीहरुलाई देउता लागेको छैन, अनिष्ट भएको छैन । यि कुराहरुको अनुसरण अरुले पनि गर्न सक्छन । तर यस्ता सकरात्मक समाचार मिडियाको हेडलाइन विरलै बन्ने गर्छन ।

समाधान पत्रकारिताको कुरा गर्दैगर्दा ‘हामी कार्यकारी भुमिकामा छैनौ, यो कसरी सम्भव छ ?’ प्रश्न उठ्न सक्छ । समाधानका लागि कार्यकारी भुमिका हुनैपर्छ भन्ने होइन । हाम्रो मुख्य जिम्मेवारी भनेकै शब्दको खेती हो । कलमको खेती हो । हाम्रा लेखन र प्रस्तुतीबाट मानिसमा चेतना जगाउने हो । जसले गर्दा कठिन परिस्थितीमा बाँचिरहेको मानिसले सहज जिवनयापनको ज्ञान पाउन सकोस् ।

उदाहरणकै लागि भन्ने हो भने हाम्रो देशका हजारौ युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्छन् । तर नेपालभित्रै बसेर विभिन्न उद्यम, कृषि व्यवसाय अपनाउने युवाले पनि करोडौ कमाइरहेका छन् नि । देशमा रोजगार नभएर विदेशिनु पर्ने पिडालाई मात्रै कति लेख्ने ? देशमै पसिना बगाउनेहरुको सफलताको कथालाई लेखौ । जसले देशभित्रै बसेर काम गर्न उत्प्रेरणा जगाओस् । उनीहरुको व्यवसायमा लगानी गर्न सरकारलाई प्रेरणा मिलोस् ।

यति कुरा लेखि रहदा खबरदारी गर्ने, लुकेका र लुकाउन खोजिएका कुरालाई उघिन्ने मुल कर्मबाट पत्रकारीता विमुख हुन हुदैन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । यो लेखको आसय समस्या खोज्ने क्रममा भेटिएका समाधानहरुलाई पनि उतिकै महत्वका साथ स्थान दिइनु पर्छ भन्ने मात्र हो । यस्तो हुनसक्यो भने मात्र समाजमा सन्तुलित सन्देश जान सक्छ ।

मिडियाहरुले नकारात्मकताको मात्र खोजी गर्ने र नकारात्मक सन्देशहरुलाई मात्र मुल मसला बनाउदै जाने हो भने मिडियामा आएका समाचारहरुलाई आधार मानेर आफ्नो धारणा बनाउने ठुलो समुदायमा नकारात्मक मानसिकता बन्ने खतरा रहन्छ । एकातिर प्रतिभा पलायन हुने र अर्काे तिर देशमै बसेर केही गरौैं भन्नेहरुलाई पनि मिडियाका खबरले हतोत्साहीत गर्ने खतरा पनि हुन सक्छ । यता तिर पनि सोचौं ।

लेखक कान्तिपुर दैनिकमा कार्यरत बझाङ संवाददाता हुनुहुन्छ । उहाँकाे याे लेख प्रेस काउन्सिल नेपालकाे संहिता जर्नलबाट साभार गरिएकाे हाे ।