समय – गाउँगाउँमा मिडियाप्रति फैलिँदो बितृष्णा

अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाण जुटाउने झन्झट गर्नुपर्दैन ।

विद्या राई

फागुन पहिलो साता एक पत्रकार साथीसंग काठमाडौं नजिकैको गाउँमा रिपोटिङ गर्न गए । त्यहाँको एक स्वास्थ्य कार्यालयमा केही महिला कर्मचारीसंग भेट भयो । हामी दुईले आफ्नो परिचय दियौ । उनीहरुले पनि परिचय दिए । उनीहरुले नजिकैको विद्यालयमा स्वास्थ्य सम्बन्धि चेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको बारेमा सामान्य कुराकानीलाई गर्दै कापीमा टिपोट गर्न थाल्यौ ।

हामीले टिपोट गरेको देखेर एक कर्मचारीले अप्ठेरो मान्दै भनिन्, ‘हामीले बोलेको पनि टिप्नुपर्छ र !’ र्कोले थपिन् : ‘हो हो । नटिप्नुस् है !, यहाँ एकथोक कुरा गरेर अनलाइन र युट्युबभरी अर्कै छापिदिन्छन्, तपाईहरु पनि त्यस्तै त होला ! हामीलाई पत्रकारको विश्वासै लाग्दैन ।’

पत्रकार साथीले सहजीकरण गराउदै भने, ‘हामी अरुजस्तो भिडियो खिच्ने, फोटो खिच्ने पत्रकार होइनौ, डराउनुपर्दैन, तपाईहरुले बोलेको हामीले छाप्नैपर्छ भन्ने पनि छैन, सामान्य कुराकानी गर्दा के भो त !’

अघि असहज मान्ने ति कर्मचारीले फेरी थपिन् : तपाईहरु त्यस्तो होइन भनेर कसरी पत्याउनु ? युट्युबमा तपाईहरुजस्तै पत्रकारहरुकै काम त हो नि !’

साथीले भने : हामी युट्युबमा हाल्नलाई रिपोर्टिङ गर्न आएकै होइनौ, पत्रिकामा छाप्नलाई हो, हामी आफैले छाप्ने पनि होइन, हामी माथि थुप्रै सम्पादकले छाँटकाँट गरेर छाप्ने हो ।

यो पछिल्लो घटना हो । मानिसहरु सामान्य विषयमा कुरा गर्न पनि पत्रकारलाई रुचाउँदैनन् । जो हाम्रा लागि समाचारका स्रोत हुन् । सामान्य नागरिकहरुमा नै पत्रकार र मिडिया प्रति बितृष्णा छ । उनीहरु दैनिक जिवनयापनमा आइपर्ने समस्या भन्नु भन्दा लुकाउनु नै बेस ठान्छन् । यसले गर्दा रिपोर्टिङ झनै जटिल बनिरहेको छ ।

एकबर्षअघि सुदूरपश्चिमको बझाङ जिल्लाका गाउँमा हलियाप्रथाको रिपोर्टिङ गर्न पुगेकी थिएँ । त्यहाँका हलियाहरुसंग पनि बिषयमा प्रवेश गर्न निकै सम्झाइबुझाइ गर्नुपरेको थियो । उनीहरु एउटा झुप्रो र एक टुक्रो जग्गामा बसेका छन् । साहुको मजदुरी गरेर विहानबेलुकीको छाँक टारेका छन् । गाँस, बाँस र कपासका लागि आफ्नो सरकारले पिडा सुनिदियोस् भन्ने चाहान्छन् । तर मिडियासित बोल्न खोज्दैनन् ।

किन यस्तो भन्ने मेरो जिज्ञासामा उनीहरुले भनेका थिए, ‘तपाईजस्ता थुप्रैलाई ‘इन्टरभ्यु’ दिइसक्यौ, हाम्रो अवस्था जस्ताको तस्तै छ, तपाईसंग बोलेर नि उस्तै त हो, हाम्रो भिडियो, फोटो बेचेर खाने ।’ बझाङका पत्रकार आशिष सिंह मध्यस्थकर्ता बनिदिएका कारणले मात्रै मैले रिपोर्टिङ गर्न सकेकी थिए । मैले बुझ्दै जादा हलिया र गरिब परिवारको नाममा खेतीपाती गर्ने एनजिओहरुले उनीहरुलाई समस्या सल्टाइदिने आश्वासन बाँडेका रहेछन् ।

दुरदराजका मान्छेहरु नै मिडियासंग उतिसारो आकर्षित छैनन् । लुकाउनुपर्ने, छुपाउनुपर्ने बिषय नहुदैपनि बोल्न चाँहदैनन् । त्यसो त पत्रकारको कामै मानिसहरु बुझाएर समाचार खोतल्ने हो । तर सामान्य बिषयमा पनि स्रोतहरु झस्कन थालेका छन् ।

मेरो बुझाइमा यसो हुनुका पछाडी दुई कुराले घर गरेको छ । पहिलो इन्टरनेटको पहुँच भएका ठाउँहरुमा च्याउसरी फैलिएका युट्युब च्यानल र अनलाइनको अव्यवसायिक गतिविधि । दोस्रो दुरदराजमा गएर खेतीपाती गर्ने वैदेशिक सहायताबाट चलेका एनजिओ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीले आफ्नो पदबहालीको १०० दिनमा गरेका उपलब्धी र भावी कार्यदिशा प्रस्तुत गर्दै भनेका थिए, ‘एनजिओ/आइजिओहरु खुसुखुसु आएर कुनै टोलमा गएर काम गर्ने, त्यसैलाई जिल्लाभर गरेको भन्ने भ्रम छरिदिने यसले जनताहरुमा नैराश्यता बढेको छ ।’

व्यवसायिक पत्रकारिता र एनजिओ धन्दालाई एकठाउँ थन्काएर व्यवसायिक पत्रकारितालाई मात्रै हेर्ने हो भने पनि मिडियाप्रति मानिसहरु खुसी छन् भन्न सकिने अवस्था छैन । किनकी आज मानिसहरुमा विकासे एजेण्डा बग्रेल्ती छन् । मध्यमवर्गीय मानिसहरु हाबी छन् । उनीहरुको महत्वकांक्षाले चरमचुली सिमाना नाघेको छ ।

उनीहरु समाचार आएपछि तत्कालै बाटोघाटो, बिजुली, पानी लगायत बिकासे बर्षा होस् भन्ने चाहान्छन् । पत्रकारले जनतालाई सुसुचित गराउने र सरकारको शुसासन र जवाफदेहिताप्रति खबरदारी गर्ने हो । पत्रकारले शब्दको सहायताले मानिसहरुको आवाज बोलिदिने हुन् । पत्रकार स्वयम् कुटो, कोदालो बोकेर बाटाघाटा खन्ने मान्छे होइनन् । पत्रकारको भुमिकाबारे आममानिसको सोचाइ सरकारको कार्यपालिकासरह ठानिँदा बितृष्णा बढेको देखिन्छ ।

इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा पनि पत्रकारिता चुनौतीपुर्ण बनेको छ । बिशेषगगरी फेसबुक, युट्युब र ट्विटरले गर्दा समाचारमा ब्रेकिङको परिभाषा नै फेरिएको छ । हामीमा कुनै घटनाबारे पहिलोपटक ब्रेक गर्नुलाई बे्रकिङ भन्ने चलन छ । अचेल सामाजिक सञ्जालमा यस्ता घटना पहिल्यै ब्रेक भैसक्छन् । जस्तो फागुन १६ गते विहान महानगरीय प्रहरी प्रभाग भैसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा बच्चा च्यापेर दौडिरहेकी एक महिलालाई लाठी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

यो भिडियो भैसेपाटीमै नेपाली सेनाका पुर्वजर्नेल हेम खत्रीको घरको कम्पाउण्डमा बिहिबार खिचिएको थियो । भाइरल भिडियोबारे सामाजिक सञ्जालमा निक्कै टिक्का टिप्पणी भएपछि विधुतिय र छापा सञ्चारमाध्यमले खोजी गरेर समाचार छापेका थिए । पुर्वजर्नेल खत्रीले सम्बन्ध राखेर आफुलाई पत्निका रुपमा नस्विकारेको भन्दै माला शाह बिहिबार विहानै एक हुल महिला लिएर त्यहाँ पुगेकी थिइन् । यसरी सामाजिक सञ्जालमै भाइरल भैसकेको बिषयमा थप बोल्न र बुझ्नका लागि स्रोत र पाठक तथा स्रोतामा खासै रुची देखिदैन ।

सामाजिक सञ्जालमा समेत नआएका बिषय ल्याउनसके मात्रै केहीका लागि खुराक बन्ने गर्छ । यसका लागि पत्रकारले पनि उति नै मेहनत गर्नुपर्ने हुन्छ । पत्रकारले ल्याउने बिषयबस्तु र त्यसको विश्वसनीयताका लागि जति मेहनत हुनुपर्ने हो त्यो कुरा हराउदै गएको छ । इन्टरनेटमा आउने हरेक नयाँ कुरामा नयाँपन खोज्ने पाठक, स्रोताका लागि खोजमुलक सामाग्री ल्याउन त्यति सहज छैन । उही पुरानै कुरालाई लम्बाइचौडाइ गरेर समाचारमा प्रस्तुत गर्ने बानीले गर्दा पत्रकारको क्षमता त गिरिरहेकै छ । व्यवसायिक पत्रकारिता नै धरासायी बन्दैछ । मानिसहरुको मिडियाप्रति बितृष्णा बढिरहेको छ ।

खस्किदो मिडियाको साख फर्काउन त्यति सजिलो पनि छैन । सामाजिक सञ्जालबिना समाचार बिकाउन सकिदैन । तर यस्लाई विवेकपुर्ण ढंगले प्रयोग गर्ने हो भने केही राहत मिल्छ । जस्तो युट्युब च्यानलकै कुरा गरौ । युट्युबरहरु च्यानल मनिटाइज गरेर पैसा कमाउने धन्दामा लाग्दा अनेक बिषयबस्तुहरु आइदिन्छन् ।

उनीहरुले न पत्रकारआचारसंहिताको पालना गर्छन् । न त संविधानको मौलक हककै हेक्का राख्छन् । पैसाकै लागि युट्युबमा ‘जे पनि राखिदिने’ गर्दा मानिसहरुको संवेदनशिल व्यक्तिगत जिवनमा नराम्ररी असर पारेको छ । पैसा कमाउनकै लागि पत्रकारहरु युट्युबखेतीमा फैलिरहेका छन् ।

जो सुचना र स्रोतले धनी छ, उही पत्रकार पत्रकारितामा धनी मानिन्छ । तर यो नभएर पत्रकारले पनि व्यापार व्यवसायीकै लाइन समात्दा व्यवसायिकता र बिश्वसनियता गुमिरहेको छ । पत्रकारितामा कमाउ धन्दाले क्षमता विकासलाई प्रत्यक्ष असर पारिरहेको छ । किनभने अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाणहरु जुटाउनुपर्ने झन्झट गर्नुपर्दैन । कुनै अनलाइनमा आएको समाचारलाई हुबहु साभार गरेर बढाइचढाइ गरिदिए पुग्छ ।

यसका लागि ‘एजेन्सी’ फोवियाले पनि काम गरेको छ । पुर्वी नेपालको एक अनलाइन पत्रिका छ । उसले जुनसुकै सञ्चारमाध्यमबाट समाचार हुबहु साभार गरेपनि बाइलाइनमा एजेन्सी राखिदिन्छ । चोरी समाचारले त्यो अनलाइन पत्रिका त चलेकै होला । तर कार्यरत पत्रकारमा समाचार चोर्ने प्रवृतिबाहेक अन्य क्षमता विकास हुदैन । यो संख्या धेरै छ । यि सबैलाई नियामक निकायहरुले बेलैमा नियमन गर्नुपर्छ । पत्रकार आफै पनि सच्चिनु जरुरी छ ।

लेखक कान्तिपुर दैनिकमा कार्यरत काठमाडाैं संवाददाता हुनुहुन्छ । उहाँकाे याे लेख प्रेस काउन्सिल नेपालकाे संहिता जर्नलबाट साभार गरिएकाे हाे ।