बझाङका सदावहार विद्रोही मल्लको निधन

साइपाल खबर संवाददाता
बझाङ । जिल्लामा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका मुख्य संस्थापक मध्ये एक नेता धनबहादुर मल्लको निधन भएको छ । मल्ल दुवै मृगौलाले काम गर्न छोडे पछि दुइ वर्ष यता नियमित डायलोसिस गराइरहेका थिए ।

तत्कालिन नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समेत रहेका मल्लको विहिबार विहान आठ बजे धनगढीको सारथी अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको परिवारीक स्रोतले बताएको छ । २०४६ साल अघी तत्कालिन नेकपा मालेबाट राजनितिक यात्रा सुरु गरेका मल्ल एमाले हुदै २०५३ सालमा माओवादी विद्रोहमा लागेका थिए ।

संगठन विस्तारको क्रममा माओवादी नेता हेमन्तप्रकास मल्ल (सुर्दशन) बझाङ आए पछि उनि माओवादी विद्रोहमा लागेका थिए । त्यस यता १२ पटक भन्दा बढी पटक पक्राउ परेर तीन वर्ष भन्दा बढी जेल जिवन विताएका उनी २०५६ सालमा पुर्ण रुपमा भुमिगत भएका थिए । छोरा र छोरीलाई समेत भुमिगत राजनितीमा होमेका उनको घरमा २०६० सालमा तत्कालिन शाही नेपाली सेनाले आगजनी गरी ध्वस्त बनाई दिएको थियो ।

नेकपा माओवादी केन्द्र विभाजित भए पछि उनि वैद्य हुदै विप्लव समुहमा आवद्ध थिए । सदावहार विद्रोही नेताको रुपमा चिनिने उनि पछिल्लो समय विप्लव समुहको सेती महाकाली संयुक्त मोर्चाका संयोजकको भुमिकामा रहेको भए पनि स्वास्थ्य अवस्था विग्रदै गए पछि सक्रिय भुमिकामा थिएनन ।

हाल उनकी छोरी देवकी मल्ल नेकपाबाट विजयी भई सुदुरपश्चिम प्रदेश सभा सदस्य छिन भने छोरा भरत मल्ल नेत्र विक्रम चन्द विप्लव समुहको अछाम जिल्ला सेक्रेटरी छन । नेता मल्ल केही वर्ष यता छोरीको संरक्षणमा धनगढीमा उपचारत थिए ।

छलछाम नगर्ने निडर र हक्की स्वभावका उनको निधनले बझाङको कम्युनिष्ट आन्दोलनमा ठुलो क्षती पुगेको तत्कालिन जनयुद्धका सहयात्री समेत रहेका बझाङका तत्कालिन संविधान सभा सदस्य जनकबहादुर बुढाले बताए ।