खतिवडा जी, सत्ताकाे उन्मादले मानमर्दन बिर्सिनुभएछ !

प्रिय युवराज खतिवडा ज्यु,

हार्दिक अभिवादन !

मैले तपाईलाई भेटेर बाहिरियकाे एक घण्टामै सरकारले तपाँईलाई अमेरिकाकाे राजदुतका लागी सिफारिस गरेकाे खबर सुनेपछि याे खुल्ला पत्र लेख्नु सान्दर्भिक ठानेर उब्जेकाे कुरालाई अाज पुर्णता दिएकाे छु । पुरै पढ्नु हुने छ भन्ने अाशा र बिश्वास पनि लिएकाे छु । मेरा सुझाव ,गुनासा र तीता मीठा अनुभूतिलाई द्धन्दात्मक भाैतिकवादी चिन्तनले मनन गर्नु हुनेछ । र बाँकि दिनहरु रूपान्तरण भएर चल्नुहुनेछ भन्ने समेत ठानेकाे छु।

खतिवडा ज्यु , मैले २०४६ काे जन अान्दाेलनमा विद्यार्थी भएर भाग लिईरहदा प्रजातन्त्र जनताकाे शासन हाे । प्रजातन्त्रमा जनताका कुराहरु सुनिन्छन।प्रजातान्त्रिक ब्यवस्थामा मात्र देश बिकास हुन्छ । पञ्चायतले लुट्याे भन्ने नेताहरुका भाषणबाट प्रभावित भएर राजनीतिक यात्रा शुरु गरेकाे हुँ।

अाज हामिले प्रजातन्त मात्र हैन गणतन्त्र नेपालका नागरिक बनेका छौं । म तत्कालिन नेकपा (एमाले)काे गाउँ कमिटी सचिव,ईलाका कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, राष्टिय परिषद् सदस्य प्रदेश कमिटी सदस्य हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा कार्यरत छु ।

२०६४ सालमा संविधान सभा समानुपातिक उमेद्वारकाे पार्टीले टिकट दिएकाे थियाे ।२०७० मा संबिधानसभा सदस्यमा निर्बाचित भएकाे संविधानसभा सदस्य तथा पुर्ब सांसद हुँ।अाठौं महाधिवेसनमा निर्वाचन कमिटी सदस्य भएर भुमिका निभाए।नवौ महाधिबेशनमा केन्द्रिय लेखा अायाेगमा तीन मतले हारेकाे ब्यक्ति हुँ।

संविधान सभा २०७० काे संसद भित्र भयका हाम्राे पार्टीका सांसदले मात्र हैन, कांग्रेस, राप्रपा फाेरम लगायत त्यस कार्यकालका सबै सांसदले मलाई चिन्दछन र अहिले पनि भेट हुँदा संघिय संसदमा नभएपनि तपाई प्रदेशमा मन्त्री हाे?भनेर साेध्छन। हैन म चुनाव लडिन । अगुवा नेताहरुलाई जिताएर पठाएकाे छु भन्छु।

गर्व लाग्छ एउटा पहिचान छाेडेछु। माननीय कृष्णभक्त पाेख्रेलले गएकाे फागुन महिनामा भेट हुँदा भन्नू भयाे, ‘कमरेड त्यति बेला केपी कमरेडकाे नेतृत्वकाे सरकारलाई सफल बनाउन संसदमा डिफेन्स गर्ने मध्यकाे तपाईं पनि एक हाे, अहिले के भयाे के भयाे हामीहरुले डिफेन्स गर्न सकेका छेनाै ।’ वहाँकाे त्याे भनाईले अति गर्व लाग्याे ।

यतिमात्र हैन संविधान निर्माण हाेस कि बिकास निर्माण, विधायन समितिमा हाेस वा अन्य कानुन बनाउदा मेरा महत्वपुर्ण बिचारहरु राज्यकाे सम्पतिका रुपमा रहेका छन्।अहिलेका संसद महासचिव डा. भरत गौतमले भन्नुभयाे ‘तपाईका बिचारहरु तपाईका पार्टि नेताले कसरी लिन्छन थाहा छैन । तर संसद र राज्यका लागि मार्गदर्शक छन। म महासचिव हुदाँ तपाईं सांसद नहुदा नरमाईलाे लागेकाे छ’ भन्दा अाफुलाई अानन्द लाग्छ ।

मैले भने तपाईं महासचिव भएकै बेला म फर्कने छु । यसका साथै मानविय पिडाका समाचार अाउदा लाखौ रकम संकलन गरेर दाताहरुकाे नाम सहित पिडित कहाँ बुझाएका मेरा कयौं उदाहरण छन । ४५ महिनाकाे संसद कार्यकालमा १४ पटक जिल्ला फर्कने सांसद हुँ म ।जहाँ एक पटक अाउदा र फर्किदा न्युनतम पचाँस हजार खर्च हुने जिल्लाकाे बासिन्दा पनि हुँ। याे मेराे सामान्य परिचय दिए तपाईंलाई।

युवराज जी, हामी पार्टीकाे कार्यकर्ता हुँदा तपाइ जागिरे हुनुहुन्थ्याे । हामिले राजतन्त्रकाे बिराेध गर्दा तपाईं शाही सरकारकाे याेजना अायाेग सदस्य हुनुहुन्थ्याे।राजाबादी जाेग मेहर श्रेष्ठकाे नजिककाे मान्छे हुनुहुन्थ्याे।त्यस पछि देउवा सरकारमा पनि याेजना अायाेगकाे सदस्यमा मनाेनित हुनु भयाे। पछि तपाईं जागिर काे अबसरकै लागि श्रीलंका पुग्नु भयाे।

फेरि २०६६ सालमा माधव नेपालकाे सरकारमा याेजना अायाेगकाे उपाध्यक्ष बन्नु भयाे।त्यतिले चित्त नबुझेर याेजना अायाेगकाे उपाध्यक्ष भन्दा वरियतामा सानाे पद गभर्नर हुन मन लाग्याे।गभर्नर बन्नु भयाे।गभर्नरकाे पूरा अबधि सकेपछि फेरि २०७२ सालमा बनेकाे श्रदेय अध्यक्ष केपी अाेलीकाे नेतृत्वकाे सरकारमा पुन: राष्ट्रिय याेजना अायाेगकाे उपाध्यक्ष बन्नु भयाे।त्याे तपाईकाे क्षमता साथै नेतृत्वलाई प्रभाव पार्न सक्ने शक्तिका लागी बधाई छ।

हामीले २०७४ काे स्थानिय तहकाे निर्बाचनमा देशभर अत्यधिक स्थान जितेर स्थानिय तहमा सरकार बनायौं। राष्टिय चुनावमा करिव दुई तिहाई मत प्राप्त गरे पछि हाम्राे पार्टीका अध्यक्ष क. केपी शर्मा अाेलीकाे नेतृत्वमा शक्तिशालि सरकार बन्याे। तपाईं फेरि राष्टिय सभा सदस्यमा मनाेनित हुनु भयाे ।लगत्तै अर्थमन्त्रीकाे जिम्मेवारी पाउनु भयाे ।

बधाईकाे अाेईराे लाग्याे।बजेट ल्याउनु भयाे तर हाम्राे पार्टीकाे घाेषणा पत्र बिपरित। जनमुखी बजेट नल्याएकाे, कम्युनिष्ट सरकारकाे गन्ध नअाएकाे ,समाजबादी धारा समात्न नसकेकाे बजेट ल्याएर तपाइले अाफु एक जनप्रतिनिधि भन्दा पनि एक कर्मचारीकाे पहिचान दिएर बजेट ल्याउनु भाे ।

जसमा दुई तिहाई कम्युनिष्ट सरकारकाे प्रतिबिम्ब कहि कतै नअाएकाे भन्ने प्रशस्त टिप्पणी भए। सरकारकाे लाेकप्रियता र सफलता देखाउने मुख्य कडी बजेट हाे।तर तपाइले तिनअाेटा बजेट ल्याएर पनि एउटा बजेटले प्रशंसा बटुल्न सकेन।सरकारकाे बिराेध र अालाेचनाकाे ग्राफ याे अबस्थामा पुर्याउन तपाँईकाे महत्वपुर्ण हात छ भन्दा अतियुक्ति नहाेला।

कम्तिमा सामाजिक सुरक्षा भत्तामा सुरुकै बर्ष अलि कतिपनि बढाेत्तरी नगरेकाे दिनबाट सुरु भएकाे सरकारकाे बिराेध अहिले सम्म राेक्न सकिएन।मलाई शंका छ बृद्ध भत्ता बढ्दा कम्युनिष्ट सरकारकाे जयजयकार हुन्छ नबढ्दा साख गिर्छ भन्ने प्रतिकृयावादी शक्तिकाे केन्द्रहरुकाे कहि तपाईं हतियार तथा मतियार बनेकाे त हैन?

प्रतिनिधिहरुलाई फेस सेभिङ गर्ने ठाउँ समेत रहेन।तपाईं लाई दुई बर्ष मात्र चिठ्ठा पर्नु तिनै असहाय बृद्धहरुकाे सराप लागेकै हाे। तर पनि सरकारकाे सफलता नै मुलुककाे सफलता हाे भन्दै सरकारलाई सफल पार्न, अर्थतन्त्र दिगाे बनाउन र मुलुक लाई करकाे दायरामा ल्याउने विज्ञ ब्यक्ति भनेर फेस गर्दै तपाईकाे सधै प्रतिरक्षा गर्ने शसक्त ब्यक्ती म पनि हाे।

किनकि मैले संसद भित्र हाम्रा राजनेताकाे दर्शन, दिमाग र दुरदर्शिता हेर्दा सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली सर्बश्रेष्ठ ठम्याएकाे थिए। तपाईं प्रधानमन्त्रीज्यूकाे प्रियपात्र भएकाेले पनि मेराे वकालत थियाे। राजनिति स्थिरता, शुशासन, बिकास र समृदि सम्माननीय प्रधानमन्त्री ज्यु बाट सम्भव छ तपाँलाई प्रधानमन्त्रीले राेज्नु ठिकै हाेला भनी ठानेर पनि हाे।

अर्थमन्त्रीमा दुई बर्ष कार्यकाल सकियाे फेरि संबिधानकाे धारा ७८ काे उपधारा १ बमाेजिम अर्थ मन्त्रीमा नियुक्त हुनु भयाे। तपाँईकाे नियुक्तिले पार्टीमा केही समस्या अाए। मैले प्रधानमन्त्रीज्युलाई एसएमएस गरेर तपाँईकाे पुन: राष्टिय सभामा लिने बिषयले पार्टीमै हलचल हुने भयाे । राष्टिय सभामा बामदेव कमरेडलाई ल्याएर तपाईंलाई अार्थिक सल्लाकार बनाउदा ठिकै हुन्छ भनेर मेसेज गरेकाे तेस्राे दिनमा तपाईं सल्लाहाकार नियुक्त हुनु भयाे।

मेराेमा एस. एम. एस डिलिट गरे सायद प्रधानमन्त्रीज्युकाे ईनबक्समा हाेला।सम्माननीय प्रधानमन्त्रीज्यु लाई साेध्न सक्नुहुन्छ।पार्टीमा तपाईहरु जस्तैका नियुक्ति र तपाईले ल्याएका ऐजेन्डाले पार्टी भित्र सृजना भएका अन्तरद्वन्दकाे कारण दुई पटक पार्टी बिबाद चरम उत्कर्षकाे अवस्थामा पुग्दा मैले सामाजिक संजालमा दुवै पटक दिएका सुझाव काे मान्यता अनुसार कार्यदलबाट सम्बाेधन भयर बिबाद समाधान तिर गएकाेमा खुसी लाग्छ।

साथै मेरा बिचार र सुझावहरु सधै पार्टी निर्माण कार्यकर्तामा हौसला साथै अन्तरद्धन्द ब्यवस्थापनमा ग्राह्य भएकाेमा खुसी र गर्व लाग्छ।
युवराजजी,अब केही मेराे ब्यक्तिगत प्रसंग जुन तपाईं संग मेराे साक्षात्कार हुदाका अनुभव सेयर गर्न मन लाग्याे। स्वभाविकरुपमा म एउटा बिपन्न परिबारबाट राजनीति यात्रा शुरु गरेकाे ब्यक्ति हुँ।

राजनिति नै मुख्य कर्म बनाएर पार्टीका लागि जीवन ,जिवनका लागि जनताकाे सेवा भनेर हिडियाे।फेरिपनि यात्रा जारी छ।सभासद हुनु अगाडि मेराे मेडमले गर्ने किराना पसल छाेडेर परिबार काठमाडौं ल्याईयाे।सभासदबाट बाहिर अाउदा अाय अार्जनका बाटा नभएकाेले अार्थिक समस्या थपिदै गएकाे बेला मेराे छाेरीले +२ बिज्ञान बिषयमा ७७ % अंक ल्याएर पास गरेपछि एम.बि.बि.एस.छात्रबृतिकाे लागि प्रबेश परिक्षामा नाम निकाल्न सकिनन्।

शुल्क तिरेर डाक्टर बनाउन सकिने मेराे हैसियत हुने कुरा भएन।छाेरीले भनिन,´अब म ब्यवस्थापन बिषयमा बि.बि.एस.भर्ना गर्छु बाबा तपाईकाे श्राेत केही छैन, काठमाडौं मा हामी दुई भाइ बैनीलाई मासिक बीस हजार ऋण काडेर कति सम्म पढाउनु हुन्छ। अब यसरी चल्देैन मलाई दिउसाे कतै जागिर खाेजिदिनु बिहान कलेज जान्छु। दिउसाे `जब´ गर्छु।काठमाडौकाे खर्च अाफै चलाउन्छु।´

मलाई पनि ठिकै लाग्याे छाेरीकाे बायाे डाटा बनाए । कुदे मन्त्रीहरुकाेमा तिनचारजना मन्त्रीसंग निकै धाए।तपाईकाे स्वकिय सचिव तुल्सी मैनाली कहाँ तीन पटक बायाेडाटा बुझाए।भेट्न दिनुस भन्दा म समय मिलाउँछु ।पख्नुस मात्र भन्ने।सबैले हेरौला भन्नू भयाे सम्बाेधन कतैबाट भएन।

मलाई थाहा छ,जागिर खुवाउनु त्यति सजिलाे छैन।पार्टीकाे काममा जिल्ला अाउने जाने मेराे नित्यक्रम जारी रह्याे। प्रत्येक तीन/चार महिनामा काठमाडौं अाउदा खेरि बायाेडाटा बुझाएका मन्त्रीज्यूहरुलाई `रिमाईन्ड´ गराउँथे। तर, कतै बाट पनि सम्बाेधन नहुने जस्ताे त छदै थियाे त्यसैमा काेभिड अायाे झन सबैलाई त्रसित बनायाे ।

पछिल्लाे पटक साउन २० गते काठमाडौं अाएर तपाईका स्वकिय सचिवलाई भेटे, उनले भने, ´बाबै काे समस्या छ।रिपिट भए भई हाल्छ नै। नभएपनि उहाले भने पछि कुनै बैकमा भई हाल्छ । पछि अाउदा भेटेर कुरा गर्नु।´ म साउन ३० गते जिल्लाकाे सचिवालय बैठकका लागि जिल्ला फर्के । पार्टीका काममा तथा बाढी पहिराेमा परेका नागरिककाे दुख कष्टकाे स्थलगत निरिक्षण गर्न।

भदौकाे भेलकाे वास्ता नगरी जिल्लाभर सहभागी भएर असौज ७ गते काठमाडौं फर्किए।मलाई तपाईकाे स्वकिय सचिव तुलसि मैनालीले पछि बाबैलाई भेट्नुनी भनेकाे कुरा याद अायाे ।१४ गते तपाईकाे कार्यकक्षमा पुग्दा तपाईं बैठकमा हुनुहुन्थ्याे ।भाेली ११ बजे मिटिङ छ ,साढे दशमा अाउनु भन्ने समय दिनु भाे।

मेराे नाम डायरीमा लेखे तपाँईका सचिवालयका कर्मचारीले।त्यसपछि १५ गते हतार हतार काेठाबाट निस्के। साढे दश बजे तपाईकाे कार्यकक्षमा हाजिर भए। तपाईं पाैने एघार बजे अाउनु भयाे। म हत्तपत्त उठेर नमस्कार गरे ।

तपाईले नमस्कार नफर्काई भन्नू भयाे, ´समय नलिएर किन अाकाे ?मैले भने,´ हिजाे अाएकाे थिए। अाज साढे दश बजे अाउनु भनेकाे हुँदा अाएकाे हुँ ।त्यसाे भए पछि अाउँला भनेर बाहिर निस्कन लाग्दा तपाईले भन्नू भयाे ,ल ल उहाँलाई भनौ त पछि हुदैन माक्स नखाेल्नु।मैले पाँच मिनेट बसौ भन्दा हुन्न हुन्न भनेर तपाईं उभिराख्नु भयाे ।म बसे ।तपाईं लाई बस्ने पनि समय भएन। तपाईं मालिक जस्ताे म दास जस्ताे भएर छाेरिकाे बायाेडाटा बुझाउदै मैले भने कतै बैंकमा भनि दिनु पर्याे ।समस्या छ छाेरिकाे जागिर भए मलाईनी अलिकति सहज हुन्थ्याे।

तपाईले सिधै भन्नू भाे , ´ म सरकारलाई सल्लाह दिने मान्छे हुँ यहाँ बसेर ‘ब्राेकरी’ गर्ने हैन।त्याे शब्दले मेराे मुटुमा महाभारतकथामा अर्जुनले भिष्मपितामह लाई सैयामा लेटाएकाे बाणकाे गहिराे चाेट परेकाे महशुस भयाे।एकछिन दिमागले काम गर्न छाेड्याे ।मेरा नाै नाडि कापे।अाक्राेस र पीडा एकैचाेटी भैदिदा मलाई सहन गाह्राे भाे।

बायाेडाटा त राख्नुन हजुर भन्दा त्यही टेबुलमा छाेडेर लिएनी त भनेर तपाईं भित्र जानुभयाे।खै त्याे बायाेडाटा तपाँईले कुन डस्टबिनमा राखनु भयाे तपाँईलाई थाहा हाेला।तैपनि तपाँईकाे अपमानकाे कुनै जवाफ नदिएर म बाहिर निस्के किनकि त्याे दिन जेष्ठ नागरिक दिवस पनि थियाे। सम्झे म भन्दा धेरै उमेरले जेष्ठ मान्छे संग अाज प्रतिबाद गर्दिन।

तर खतिवडाजी हेक्का रहाेस म त्यस्ताे ब्यक्ति हाे; रामशरण महत अर्थ मन्त्री हुँदा बझाङ -बाजुरा -स्यार्पुदहका ६ सय किलाे वाट बिधुत मर्मत गर्न १ अर्ब ८७ कराेड जापान सरकारकाे अनुदान लिने सरकारकाे निर्णयमा मैले रामशरण महतलाई भने २० कराैडमा एक मेगावाट बन्छ नौ मेगावाट निर्माणकाे पैसा ६ सय किलाे वाट मर्मत का लागि किन यस्ताे अनुदान लिने?

यस्ता अनुदानले हामीलाई अन्तराष्टिय स्तरमा कमजाेर बनाउछ ,कहि न कतै गरिव राष्ट्रमा यति अनुदान दियौं भनेर लेखिन्छ ।हामिलाई अनुदान भएपनी अप्रत्क्ष ऋण हुन्छ ।रामशरण महतले भन्नू भयाे ‘तपाई मेसिन बनाउनु न त नलिने भए । म संग बझाङका अन्य सांसद र अरु धेरै जना संगै हुनुहुन्थ्याे। मैले जवाफ दिए ,´ मेसिन बनाउने ठाउँमा २५ बर्षदेखि तपाईं बसि रहने अनि मैले कहाँबाट बनाउने ?

खतिवडा जी म राजनैतिक कार्यकर्ता हाे ।तपाईं अाशिर्बाद र हुकुम प्रमांगीबाट अाएकाे ब्यक्ति हाे। मेराे मनमा तपाईंलाई दिने उत्तर थियाे, तिन दशक ब्राेकरी गर्ने ठाउमा तपाईं बस्ने मैले के ब्राेकरी गरेकाे छु हजुर? फुलकाे अाँखामा फुलै संसार काँडाकाे अाँखामा काँडै संसार ।

तर जेष्ठ नागरिक दिवस भएकाले उत्तर दिईन। अर्काे कुरा मेराे बुवाले मृत्युवरण गर्नु अाधाघण्टा अगाडि भनेकाे सम्झिए। `बाबू जिवनमा केही गर्नु छ भने मुटु लाग्ने बाँण,हानि गर्ने जाँण,पतन गराउने राण,बिना परिश्रम अाउने माण (पैसा धन सम्पति खानेकुरा), लुटिएको डाँण र अनाबस्यक भाँण ( भाँण भैलाे) बाट टाढा बस्नु भनेकाे उपदेस सम्झे। तपाईं संग प्रतिउत्तर दिनु मेराे चरित्र र पृष्ठभूमिले दिन्न , मेरा बुवाकाे उपदेसकाे उलंघन हुन्छ भनेर कुनै उत्तर नदिई मुटुमाथि ढुंगा राखी हास्नु परेछ भने झै बाहिर निस्किए।

खतिवडाजी, मैले तपाई लाई छाेडेकाे अाधा घण्टा पछि समाचार अायाे सरकारले तपाईलाई अमेरिकाकाे लागि राजदुतमा सिफारिस गर्याे।अब सार्बजनिक सुनुवाई हुनेछ। त्यहाँ तपाँईकाे जय जयकार हाेला। किनकि हाम्राे ब्यबस्था नै शक्तिकाे दास ब्यबस्था हाे।तपाईं शक्तिकाे दास बनेर सिफारिस हुनु भयकाे छ।

प्रिय मित्र, लाेकतन्त्रका लागि लड्ने हामी। सबै सेवासुबिधा एक पटक हैन दशौं पटक लिने तपाँई ।तर, हामीले निरन्तर दाेस्राे कार्यकाल नदाेहाेरयाउने पाटीकाे नजिर अक्षरस मान्नु पर्ने, तपाईं लाई एक दिन नबिराई राजनितिक नियुक्ति अाउने। तपाईं राजदुतका लागि सिफारिस भएपछि सामाजिक संजालमा अाएका प्रतिकृया र हाम्राे पार्टीका नेता कार्यकर्तामा उत्पन्न भ्रम र सम्भाब्य खतरालाई हेरेर म पनि लेख्न बाध्य भए।

सिंगाे नेकपाकाे बहुमत तपाईकाे सिफारिसकाे बिरुद्धमा देखिन्छ।सचिवालयका साथिहरु बिरुद्धमा छन।हाम्राे पाटिभित्र खैलाबैला मच्चिएकाे छ।शक्तिशाली ब्यक्तित्व तथा सबैका अाशा र बिस्वासका केन्द्र सम्माननीय प्रधानमन्त्रीज्यूकाे निस्पक्ष छबिमा समेत प्रश्न उठेकाे छ।के युबराज जत्तिका मान्छे हाम्राे पाटीमा अरु काेही छैनन? भन्ने बहस भएकाे छ।किन तपाईलाई मात्र पदमाथि पद? अाखिर कारण केहाे? मान्छेहरु अचम्म मानिरहेका छन्।

अन्तमा, प्रिय युवराज खतिवडा जी,

सिंगाे न्यायप्रेमी जनसमुदाय तथा अत्याधिक नेकपाका कार्यकर्तामा तपाइलाई हाम्राे पार्टीमा बिग्रह ल्याउने कारक तत्वकाे रुपमा हेरिन्छ।म मात्र हैन अधिकांश पार्टीका नेता ले तपाँईकाे अराजनितिक व्यवहार काे पीडा भाेगेका छन।तपाइले पहिलाे पटक मन्त्री हुदा धेरै माननीयहरुकाे अपमान गरेका दर्जन उदाहरण छन्।

नेतृत्वकाे चाकडी गर्ने कार्यकर्ताकाे अपमान गर्ने, सिमित ब्यक्तिकाे चाकरीवाज बनेर अवसरमा जाने हक कसैलाई छैन ।तपाँईकाे कारण अाउदाे निर्बाचनमा अाउने खराव नतिजाले जति मेराे मन रुनेछ त्यति तपाई काे मन पक्कै रुने छैन।किनकि तपाईं बिज्ञ मान्छे भयर सुबिधा लिएकाे ब्यक्ति।एक जागिरे मान्छे।

हामी रगत र पसिना बगाएर जनताकाे सेवामा लाग्ने ब्यक्ति ।त्यतिबेला तपाईले राज्यबाट लिएका सेवा सुबिधा र सम्पतिकाे मज‌ाले उपभाेग गर्नु हुनेछ।नेकपामा लागेका अाम जनताले दुख पाएका हुनेछन।त्यतिबेला हामी धुरुधरु राेएका हुनेछौं ।तपाईं जाे शक्तिमा अाएपनि सुबिधा लिई हाल्नुहुन्छ।हिजाे राजाले माया गर्याे।पछि काँग्रेसले माया गर्याे ,अाज नेकपाकाे माया पाउनु भएकाे छ।

तर तपाइले देशमा तीस बर्ष लाभकाे पदमा बस्दा मुलुक कहाँ पुग्याे ?तपाईकाे एक थाेपा पसिना वा अाँसु बगेकाे छैन।तपाईं भुगाेलका हिसावले बढीमा सदरमुकाम त्याे पनि चिल्ला कार ,हवाई जहाज , हेलिकप्टरकाे यात्रा गर्नु भयाे हाेला।हामीलाई दुरदराजका जनता का दुख देखेर हजार पटक अाँसु बग्छन। अार्थिक प्रगतिमा मुलुक कहाँ छ?तथ्यांक अध्ययनले थाहा हुन्न।गरिव र झुपडी बस्तिमा पुग्नुपर्छ।हामी १२ महिनामा ८ महिना जिल्लाबासीकै घरदैलाे र सेवामा जुटेका हुन्छाै।

तपाईले ल्याएकाे बजेट भाषणमा दुईलाख युवा लाई राेजगार दिन्छु भनेकाे बिषय कार्यान्वयन नहुदै अाफैले किन अमेरिकाकाे जागिर खान जाने?तपाई संग जवाफ छैन। त्यसैले नेकपा काे सिफारिसमा राजदुत हुने पनि हक छैन।नियत नैतिकता ,अनुशासन र बाेलि व्यवहार पनि छैन।बफादारिता,बाेलि र बचन काम र कार्यब्यबहार पनि देखिएन।राज्य र हाम्राे पार्टीबाट लिनु जति लिइ सक्नु भयाे।

अब विश्राम लिएर अर्काे लाई अबसर दिने स्वैच्छिक अबकासकाे घाेषणा गर्नुहाेस ।यसैमा राज्य र तपाईकाे भलाई छ।साेनिया गान्धिले एउटा बिराेधमा महान भारतकाे प्रधानमन्त्री त्यागिन्।तपाईकाे बहुमत नेपालीले बिराेध गरेका छन।तपाँई जस्ता राजदुत समाल्न सक्ने धेरै छन।नेकपा र जनतनकाे सेवामा लागेर जीवन बितायका अन्यले राज्दुत हुँदा जति न्याय हुन्छ तपाईं पन्छिदा तेति अन्याय नहुनेमा दुई मत छैन ।

बफादार ,कर्तब्यनिष्ठ,जनताकाे काममा अहाेरात्र खट्ने पार्टीकाे पूर्णकालिन सिपाहीकाे अपमान गरिराख्ने तर हाम्रै परिश्रममा अार्जन भएकाे राज्यशक्ति बाट तपाईं सुबिधा लिई रहने ।म जस्तै हजाराै कार्यकर्ता र जनतालाई छाक टार्न समस्या छन।तर एक ब्यक्ति सर्बेसर्बा ,सर्बज्ञ र सर्ब उपभाेगी भैदिदा पार्टीजिवनमा जिन्दगी ब्यतित गरेका याेग्य र सक्षम ब्यक्तिकाे मानमर्दन हुने कुरालाई कहिले ख्याल गर्नु भएकाे छ?

सुन्छु तपाईं शाकाहारी र सादगी ब्यक्ति हाे।त्याे सादगीपना अाफ्नाे ब्यक्तिगत स्वस्थताकाे लागि मात्र हैन मुलुककाे स्वस्थतामा पनि देखाउनुस।सधै अग्लाे ठाउँ बस्नेले पिँधमा पनि हेर्न सक्नुपर्छ।

अफिलाल ओखेडा 
संविधान सभा सदस्य, बझाङ