अखिल संयोजक महरको सक्रियतामा तपोवन सफाई

साइपाल खबर संवाददाता

बझाङ । अनेरास्वियुका केन्द्रिय संयोजक ऐन महरको पहलमा धार्मिक तथा पर्यटकिय स्थल तपोवनको सरसफाई गरिएको छ । सेती नदीमा बर्खामा आएको बाढीले यस क्षेत्रमा भएका तातोपानीका कुण्डहरु पुरिएका कारण यहाँ आउने पर्यटकहरुले समस्या भोग्दै आएका थिए ।

दशैं मनाउन गृह जिल्ला आएका महरले अनेरास्वियु आवद्ध विद्यार्थी तथा कार्यकर्ताहरुलाई लिएर तपोवनमा सरसफाई गरेका थिए । ‘बर्खामा सेतीको बाढीले ल्याएको बालुवा, ढुङ्गा र माटो भरिएर कुण्ड पुरिएका रहेछन’ संयोजक महरले भने ‘अहिले सम्म कसैले पनि सफा नगरेका कारण त्यहाँ नुहाउन जानेलाई समस्या हुने गरेको थाहा पाए पछि सरसफाई गरेका हौं ।’

सरसफाई पछि कुण्ड पुरानै अवस्थामा आइसकेको र त्यहाँ पहिले जस्तै तातोपानीमा डुवेर नुहाउन मिल्ने अनेरास्वियुका जिल्ला संयोजक प्रविन्द्र धामीले बताए । छाला सम्बन्धी र अन्य विभिन्न रोगको प्राकृतिक पद्धतीबाट उपचार हुने विश्वास गरिएको बझाङको तपोवनमा रहेको तातोपानीमा नुहाउने पुग्नेहरु कुण्ड पुरिएका कारण समस्या भोग्दै आएका थिए ।

गत वर्ष मात्रै संचालनमा आएको तपोवन सम्म पुग्ने सडक पनि बर्षातमा आएको पहिरोले पुरिएको कारण झण्डै आधा घण्टा भन्दा बढी हिड्नु पर्ने बाध्यता रहेको बताउदै धामीले सडक छिटो खोल्नका लागि गाउंपालिका संग समन्वय गरिने बताए ।

तलकोट गाउँपालिकाको वडा नं, १ मा पर्ने जिल्ला कै प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल तपोवनमा यस पुर्व माघे संक्रान्ती, श्रीपञ्चमी जस्ता विषेश दिनहरुमा मात्रै ठुलो मेला लाग्ने गरेको छ । धार्मिकरुपमा यहाँका स्थानिय समुदायमा यस क्षेत्रको विषेश महत्व छ । सेती नदीको किनार वारी र पारी गरेर १० वटा भन्दा बढी तातोपानीका मुहानहरु रहेका यस क्षेत्रमा विवा, व्रतवन्ध जस्ता धार्मिक अनुष्ठानका लागि बझाङ, डोटी, अछाम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्दछन । मानसखण्ड पुराणमा उल्लेख भए अनुसार अत्रि क्रषीले तपस्या गरेको ठाउँ भएकाले यस क्षेत्रलाई तपोवन भनिएको हो ।

यहाँ माघे संक्रान्ती, श्रीपञ्चमी, फागु पुर्णिमामा विषेश खालको मेला लाग्ने गर्दछ । मेलाको दिन यहाँ पुजा गरेर इच्छित वर प्राप्त हुने जनविश्वास रहेको छ । यहाँको तातोपानीमा नुहाएमा छाला र हड्डी सम्बन्धी रोगहरु निको हुने गरेको स्थानियको अनुभव छ ।

प्राकृतिक तातोपानीका मुहान रहेको यो ठाउँ पर्यटकको आर्कषणको केन्द्र बन्ने सम्भावना भए पनि पुर्वाधार र प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताउदै केन्द्रिय संयोजक महरले यहाँको पर्यटन विकासको लागि आफुले पहल गर्ने बताए । ‘तपोवन धार्मीक हिसावले मात्र नभएर प्राकृतिक उपचारका लागि पनि महत्वपुर्ण ठाउँ हो’ महरले ‘यसको संरक्षण, व्यवस्थापन र प्रचार प्रसार गर्नका लागि संघ र प्रदेश सरकारमा पहल गर्नेछु ।’

सेती नदी किनारमा रहेका तातोपानीका मुहानहरु नदी कटानका कारण जोखिममा रहेकाले यसको संरक्षणको लागि तटबन्ध निर्माण गर्न आफुले पहल गर्ने उनको भनाई छ । उनले कार्यपालिकाको नदी किनारमा तटबन्धन गर्ने, सहजै नुहाउन र पौडी खेल्न मिल्ने पोखरी र धारा बनाउने लगायतका कामको लागि आफुले सक्दो पहल गर्ने बताए ।

यहाँ रात विताउन चाहानेको लागि पाहुना घर, योग ध्यान जस्ता गतिविधी गर्न मिल्ने खालका संरचनाहरु तयार गर्नका लागि गाउँपालिकाले पनि कार्यक्रमहरु बनाएको तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विस्टले बताए । उनले बर्खामा आएको पहिरोले विगारेको सडक छिट्टै सुचारु गरिने बताए ।