सखाप भयो हिमाली वन

दशक अघिसम्म हराभरा बझाङको हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । मानवीय अतिक्रमणले बहुमूल्य जडीबुटी लोप हुन थालेका छन् भने आश्रित वन्यजन्तु पलायन भइसकेका छन् ।
‘यार्सा टिप्‍नेका कारण धुपीको जंगल सकियो, भेडावालाले भोजपत्र सिध्याए ।’

वसन्तप्रताप सिंह
बझाङ– साइपाल गाउँपालिका २, धलौनका सौंरे बोहरा ५८ बर्ष पुगे । उनि प्रत्येक वर्ष यार्सा टिप्न राइढुङ्गी पुग्छन । उनको घरबाट एक दिनको पैदल दुरीमा रहेको त्यो वनमा उनि लगातार जान थालेको २० बर्ष भयो । लेक जान भने पछि हुरुक्कै हुने उनको मन पछिल्लो समय भने रमाउन छोडेको छ । ‘अचेल त लेक पनि लेक जस्तो छैन । जता हेर्ये उतै उजाड छ ।’ उनले लेक प्रतिको आफ्नो आर्कषण घटनुको कारण खोल्दै भने ‘जंगल जति सबै सखाप भैसक्यो । त्यस्तो रहर लाग्दो ठाउँ हेर्दा हेर्दै बैराग लाग्दो भयो ।’

‘चारै तिर हरियो जंगल, रंगिचंगी फुलेका चाँप, चिमालो, नाकैमा ठोकिन आउने धुपीको हरहर बासना साँच्चै, आज भन्दा पाँच सात वर्ष पहिला लेक पुग्दा छुट्टै आनन्द आउथ्यो ।’ केही वर्ष पहिलाको हिमाली वनको सम्झना ताजा बनाउदै सौरे कल्पिए ।

‘सर्पको मुख नछिर्ने जंगल थियो । दिउँसै बाघ भालुले भेडा खाइदिन्थो’ उनको छेउमा बसेका ७० वर्षिय कुलभान बोहराले भने ‘त्यो ठाउँमा यस्तो घना जंगल थियो भन्दा अचेलकाले पत्याउलान र ? बाघ लाग्ने जंगलमा आजभोली कान कोट्याउने सिन्को पनि पाइदैन । त्यो कुरा त अव कथौला (कथा) भैसक्यो ।’

सौंरे र कुलभान बोहरा जस्तै उजाडिदै गएको हिमाली क्षेत्रको वनको बारेमा चिन्ता गर्ने धेरै छन । एक दशक अघि सम्म हराभरा रहेका हिमाली क्षेत्रका डाँडाकाँडाहरु अहिले नाङ्गा भएका छन । यो समस्या साइपाल गाउँपालिकामा मात्र नभएर जिल्ला भरी नै देखिएको छ ।

साइपाल गाउँपालिकाको औलागाड क्षेत्रमा फडानी भएको भोजपत्रको जंगल ।

साइपाल गाउँपालिकामा पर्ने माझा, फरालखेत, कालापानी, राइढुगी, औंलागाड, स्याङवन दोतले, इङ्गलदार, दहचौर, कालंगा, खोपा लगायतका ठाउँको ठुलो वन क्षेत्र सखाप भैसकेको छ । यस्तै सुर्मा गांउँपालिका अन्र्तगतका जलजला, डांफेचुली, तपोवन, डांडा, ठाडे, जर्सी, गोलढुङ्गा लगायतका वनको अवस्था पनि उस्तै छ ।

बुङगल नगरपालिकाको उच्च हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुङ्गा, चुपी, चालिगाड, ठाडीगाड, भिडे लगायतका क्षेत्रको धेरै जसो वन पनि उजाड भैसकेको छ । दुर्गाथली, छविस पाथीभेरा, मष्टा र तल्कोट गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाको लेकाली भेगको जंगल पनि तिव्रतर गतिमा फडानी हुन थालेको छ ।

‘पहिला पहिला पाल हाल्ने (यार्सा तथा जडिबुटी संकलनका वेला) ठाउँ वरिपरी प्रसस्त दाउरा पाइन्थे । लेकमा जादा दाउराको दुखै थिएन’ सुर्मा गाउँपालिकाकी पवित्रा बोहराले भनिन ‘अचेल चार पाँच घण्टा टाढा गएर दाउरा ल्याउनु पर्ने भएको छ । यस्तै भयो भने एक दुइ बर्षमा लेक जाँदा घरबाटै दाउरा लैजानु पर्ने हुन सक्छ’ उनले आफ्नो गाउ“बाट केही वर्ष पहिला यार्सा संकलन हुनु एक दुइ दिन पहिला मात्र मानिसहरु लेक उक्लने गरेकोमा अहिले दाउराको जोहो गर्नकै लागि सिजन सुरु हुनु भन्दा १०/१५ दिन अगाडी नै त्यहाँ जाने गरेको र सो अवधीमा टाढाटाढाबाट ल्याएर पाल टाँगेको ठाउँमा दाउरा थुपार्ने गरेको बताइन ।

जडिबुटी र यार्साले सकियो वन
बझाङका हिमाली भेगमा २०६० साल यता यार्सा संकलन गर्ने चलनले व्यापकता पाएको हो । त्यस पुर्व फाट्टफुट यार्सा संकलन भैरहेको भए पनि यसको मुल्य र महत्वका बारेमा सिमित व्यक्तीहरुले मात्र जानकारी पाएका कारण हिमाली भेगमा अहिलेको जस्तो मान्छेको चाप थिएन । २०६३ सालमा शान्ती प्रकृया सुरु भए पछि यार्सा तथा अन्य जडिबुटी संकलन गर्नका लागि हिमाली क्षेत्रमा पुग्नेहरुको संख्या ह्वातै बढ्यो ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउने हो भने बझाङमा यार्सा संकलनको लागि मात्रै लेक जानेहरुको संख्या प्रतिवर्ष ४८ हजारको हाराहारीमा छ । यो वर्षको बैसाख देखी असार सम्म मात्र ५१ हजार जना साइपाल, सुर्मा, छविस पाथिभेरा गाउँपालिका र बुङ्गल तथा जयपृथ्वी नगरपालिकाकाको हिमाली क्षेत्रमा प्रवेश गरेको स्थानिय तहको अभिलेख छ ।

साइपाल गाउँपालिकाका विभिन्न वनहरुमा यो वर्षको बैसाख देखी असार सम्म मात्र ८ हजार ९ सय ४६ जना यार्सा संकलनको लागि पुगेको अभिलेख छ । यद्यपी धेरै जसो स्थानिय र छिमेकी पालिकाका संकलकहरु नियमित बाटोबाट प्रवेश नगर्ने भएकोले अभिलेखमा नसमेटिएको र यहा“का वनमा पुग्नेहरुको संख्या यो भन्दा दोब्बर हुन सक्ने गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाई छ । यार्सा संकलनको लागि लेक जानेहरुले सुरुका १०/१५ दिन दाउराको लागि जंगल फाड्ने र तिन महिना सम्म पुग्ने दाउराको जोहो गरिसके पछि मात्र यार्सा संकलनको काम सुरु गर्ने गरेको संकलकहरु बताउछन ।

‘एउटा परिवारले एक ठाउँमा भएको जंगल पुरै फाडेर सुरुमा दाउरा काट्छन’ धलौनका एक जना यार्सा संकलक रुन्छे बोहराले भने ‘हजारौ मान्छेले एकै पटक दाउराको लागि रुख काट्दा सिंगै जंगल एकै सिजनमा उजाड भैहाल्छ । अर्काे वर्ष अर्काे जंगलको पनि त्यस्तै हालत हुन्छ’ उनले यार्सा संकलनको सिजनमा हिमालमा पाइने भुँइचिमालो, भोजपत्र, चिमालो, चा“प, धुपी, लेककुयली, पङरँ“तो लगायतका रुख र झाडी प्रजातीका विरुवाहरु काटेर दाउराको प्रयोग गरिने बताए । यस्तै डालेचुक, मछाङग्रो, कालोभोज, रयस, बायोजडी च्याङवा लगायतका बोट विरुवा भएको जंगल पनि दाउरा बनाएकै कारण उजाड भैसकेको उनले बताए ।

अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र (इसिमोड) को कैलाश पवित्र भुपरिधि कार्यक्रमले यार्सा संकलनको कारण सामाजिक, आर्थिक र वातावरणिय क्षेत्रमा परेको प्रभावको बारेमा नेपालको दार्चुला र बझाङ जिल्लामा गरेको अध्ययनले पनि यहाँको हिमाली वन विनास भईरहेको देखाएको छ । ‘यार्सा संकलनका क्रममा खपत हुने इन्धनका कारण संवेदनशिल जंगल क्रमश नास हुँदै गएको पायौं’ अध्ययन टोलीमा सहभागी (इसिमोड) का शुशासन तथा संस्थागत विश्लेषक डा.विनय पसखल भन्छन । ‘यही गतिमा हिमाली वनको दोहन हुँदै जाने हो भने वातावरणमा ठुलो प्रतिकुल असर पर्ने देखिन्छ’। अध्ययनका क्रममा प्रतिदिन एक पाल (सरदर ६ व्यक्ती) ले सरदर १२ किलोग्राम दाउरा खपत गर्ने गरेको पाइएको पसखलले बताए ।

संकलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसहरुले विभिन्न पाटनहरुमा करिब १५ हजार पाल हाल्ने गर्दछन । इसिमोडको अध्ययनलाई आधार मान्दा करिब ३ महिना सम्म पाटनमा वस्ने यि परिवारले एक सिजनमा १ करोड ६२ लाख किलोग्राम दाउरा खपत गर्ने गरेको देखिन्छ ।

बैसाख देखी असार सम्म यार्सा संकलनको लागि जानेहरुकै हाराहारीमा भदौ देखी मंसिर सम्म यहाँका जंगलमा अन्य जडिबुटी संकलनको लागि मानिसहरु पुग्ने गर्दछन । जटामसी, कटुकी, सेतकचिनी, भुतकेस लगायतका जडिबुटी संकलनका लागि बझाङका स्थानिय लगायत रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेत, डोल्पा, दार्चुला, बाजुरा लगायतका जिल्लाबाट सयौंको संख्यामा आएका मानिसहरु बझाङका लेकाली भेगमा प्रत्येक वर्ष अस्थायी क्याम्प खडा गरेर बस्ने गर्दछन । उनिहरुले खाना पकाउन र आगो ताप्नका लागि दाउराको प्रयोग त गर्छन नै । त्यो भन्दा कैयौं गुणा बढी दाउरा जडिबुटी पकाउनका लागि प्रयोग हुने गर्छ ।

‘सेतकचिनी पकाउनका लागि सिंगै रुख काटेर भट्टीमा जोत्ने गर्दछन’ बुङ्गल नगरपालिकाका दहबगरका जयधन धामीले चिन्ता गर्दै भने ‘एउटै ठाउँमा सयौं भट्टी सल्काएका हुन्छन । आज देखीएको घना जंगल हेर्दा हेर्दै दुइचार दिन मै नाङ्गो भैसक्छ । यस्तै हो भने दुइचार बर्ष भित्रै लेकमा रुखै नभेटिन सक्छन ।’

गत वर्ष र यो वर्ष मात्रै बझाङका उच्च हिमाली भेगमा पर्ने विभिन्न जंगलबाट एक लाख क्विन्टल भन्दा बढी सेतक चिनी मात्र संकलन भएको व्यापारीहरु बताउछन । एक किलो सेतक चिनी पकाउन सरदर चार किलो दाउरा खर्च हुने गरेको लामो समय देखी सेतकचिनीको कारोबार गर्दै आएका साइपालका स्थानिय जडिबुटी व्यापारी ढाक्पा लामाको भनाई छ ।

उनकै भनाईलाई आधार मान्ने हो भने पनि बझाङमा दुइ वर्षको अवधीमा सेतक चिनी पकाउनका लागि मात्रै चार करोड किलो भन्दा बढी दाउरा खर्च भैसकेको छ । यद्यपी यो विषयमा कुनै आधिकारीक अध्ययन भएको छैन । इसिमोडको अध्ययनमा पनि यो पाटो समेटिएको छैन ।
पछिल्लो समय सुकेको दाउरा पाउन छोडे पछि आलै रुखबाल्ने गरेको उनले सुनाए । ‘सुकेको दाउरा त पाउदै पाउदैन’ ढाक्पा भन्छन ‘सुरुमा भट्टीमा आगो बाल्न मात्र समस्या हो । एक पटक आगो बलिसके पछि आलै रुख पनि हुरुरु बल्छ’ लेकाली क्षेत्रमा पाइने रुख विरुवाहरुमा पानीको मात्रा कम हुने भएकोले आलै काठ पनि राम्रो सँग बल्ने गरेको उनले बताए ।

साइपाल गाउँपालिकाको दोतलेमा सेतकचीनी पकाउदै संकलकहरु ।

खुला चरिचरन पनि समस्या
निरन्तरको दोहनले उजाड हुदै गएको हिमाली वन सकिनुको अर्काे कारण खुल्ला चरिचरन पनि हो । यहाँको वन एकातिर इन्धनको लागि तिव्रगती फडानी भैरहेको छ भने अर्काे तिर हजारौं भेडा च्याङग्राहरु चराउदा जोखिम झन सघन बन्दै गएको छ । यार्सा संकलनका क्रममा इन्धनको लागि धुपीको दाउरा बढी प्रयोग हुने गर्छ भने भेडा च्याङ्गग्राको आहारको लागि भोजपत्रको जंगल फडानी हुने गरेको छ । भोजपत्र साइटिस र आयुसिएनले लोपोन्मुख प्रजातीको रुपमा सुचिकृत गरेको उच्च हिमालमा पाइने रुख प्रजातीको विरुवा हो । नेपाल सरकारले पनि यसलाई संरक्षित वनस्पतीको रुपमा सुचिकृत गरेको छ ।

‘यार्सा टिप्नेहरुका कारण धुपीको जंगल सकियो । भेडावालाले भोजपत्र सिध्याए’ साइपाल गाउँपालिकाकै जंगबहादुर धामीले भने ‘भेडालाई पात खुवाउनका लागि सिंगै रुख ढाल्ने चलनका कारण भोजपत्र सकिएको हो’ साइपाल गाउँपालिकाको जंगल क्षेत्रमा मात्र बझाङ, बाजुरा, हुम्ला र मुगु जिल्लाका २५ हजार भन्दा बढी भेडा च्याङग्रा चराउनका लागि ल्याउने गरेको र उनिहरुले व्यापक मात्रामा भोजपत्रको जंगल फडानी गर्ने गरेको यहा“ स्थानियहरु बताउछन ।

बझाङ जिल्लाको उच्च हिमाली क्षेत्रका जंगलहरुमा चैत्र देखी असोज सम्म ३५ हजार भन्दा बढी भेडा च्याङग्राहरु खुल्ला रुपमा चराउने गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अति चरिचरन हुदाँ भेडा च्याङग्राहरुको खुरले कुल्चिएर जंगल तथा जडिबुटीको उत्पादनमा समस्या हुने गरेको भए पनि त्यो भन्दा बढी क्षती भेडापालकहरुको गलत व्यवहारका कारणले भैरहेको विज्ञ केन्द्रको ठम्याई छ ।

‘भेडा च्याङग्राको आहाराका लागि सिंगै रुख काट्ने चलनले वन विनास बढाएको हो ।’ विज्ञ केन्द्रका प्रमुख पशुपति नाथ भन्छन ‘एक पटक भेडा लगेको जंगलमा अर्काे वर्षको लागि रुख नै बाँकी नहुने गरी फडानी गर्ने चलनले लेकाली वन जोखिममा पर्दैछ’ उनले भेडापालकहरुले अर्काे वर्ष राम्रो घा“स पलाओस भन्नका लागि जंगलमा आगो समेत लगाउने प्रचलन पनि रहेको र यसले हिमाली क्षेत्रको जंगल डढेलोको प्रकोपमा पर्ने गरेको बताए ।

हराए जंगली जनावर
कुलभान बोहरा तत्कालिन काँडा गाउँ पञ्चायतका प्रधान पञ्च हुन । २०४० र ५० को दशक तिर तत्कालिन राज परिवारका सदस्यहरु र विदेशी नागरिकहरु हेलिकप्टर लिएर यहाँका हिमाली जंगलहरुमा शिकार खेल्न आउदा स्थानियहरुले स्वागत र सहयोग गर्ने गरेको सम्झना पनि उनको मनमा ताजै छ । ‘पछि सम्म पनि हेलिकप्टरमा शिकारीहरु आउँथे । कोही टेन्ट लाएर एक दुइ दिन बस्थे । कोही ३/४ घण्टा मै झारल, नाउर मारेर हेलिकप्टर मै लिएर फर्किन्थे’ उनले भने ‘त्यति वेला शिकार खेल्ने जंगलमा अव बोट विरुवा नै देखिदैनन ।’

आफ्नै आँखाले देखेका जंगली जनावर र पन्छीहरुको बथान अचेल देखिन छाडेकोमा उनि चिन्ता व्यक्त गर्छन । विगत स्मरण गर्दै उनि भन्छन ‘लेक कुँयाली र चिमालोका झ्याङ्गमा देखिने डाँफे, मुनाल र कालिजका बथान, धुपीका जंगलमा फुत्तफुत्त गर्दै लुकामारी खेल्ने कस्तुरी मृग अचेल कहाँ गए होलान ? कहाँ होलान ? ति भेडाबाख्राका बथान जस्तै देखिने झारल र नाउरका ताँती ?’

कुलभानले भने जस्तै जंगली जनावर र पंक्षीहरु लोप हुनुको पछाडी वन विनास मुख्य कारण रहेको त्रिभुवन विश्व विद्यालय वनस्पती शास्त्र केन्द्रिय विभागका प्राध्यापक सुरेस घिमिरे बताउँछन । ‘उदाहरणका लागि धुपीको जंगल कस्तुरीको मुख्य बासस्थान र चरन क्षेत्र हो । यसको विनास हुदाँ कस्तुरी संकटमा पर्छ’ उनि भन्छन ‘वन नै रहेन भने सबै भन्दा पहिला संकटमा पर्ने भनेकै त्यहाँ हुने जिवजन्तु हुन’ उनले एउटा जनावर, पंछी वा वनस्पतीको संख्यामा कमी आउने वित्तिकै त्यसमा आश्रित अर्काेलाई पनि जिवन चक्र संचालनमा समस्या उत्पन्न हुने बताए । ‘एउटा प्राणी वा वनस्पती लोप हुना साथ त्यसमा आश्रीत अन्यको पनि खाद्य चक्रमा असर पर्छ । खाद्य चक्रमा एउटा मात्रै नभएर थुप्रै जिवजन्तु, वनस्पती र पंक्षीहरु एक अर्का सँग अन्तरसम्बन्धीत हुन्छन’ उनले भने ।

उनले नेपालको सुदुर र मध्यपश्चिमी क्षेत्रको उच्च हिमाली भेगको जंगल विनासको क्रम बढ्दै गएका कारण यहाँको पारिस्थितिकिय प्रणाली नै खतरामा परेको बताउदै हिउँ चितुवा जस्ता दुर्लभ बन्यजन्तुहरु लोप हुने जोखिम बढ्दै गएको बताए ।

लोप हुदै बहुमुल्य जडिबुटी
अत्याधिक वन विनास र अव्यवस्थित संकलनका कारण हिमाली क्षेत्रमा हुने बहुमुल्य जडिबुटी समेत विस्तारै हराउदै जान थालेको स्थानियको अनुभव छ । कांडाका जोवन बोहरा भन्छन ‘भएका रुख र झाडी काटेर सबै डाँडा नाङ्गा भैसके, विरुवा जमिन माथी नआउदै अन्दाजको भरमा पनि खनेर निकाले । माटोको फल न हो कति दिन टिक्थ्यो र ?’ उनले पहिला पाउने धेरै जडिबुटीहरु अचेल पाउन छोडेको बताए ।

डिभिजन वन कार्यालयको रेर्कड केलाउने हो भने पनि हिमाली क्षेत्रमा पाईने जडिबुटीहरु प्रतिवर्ष घट्दै गएको पुष्टी हुन्छ । प्रतिकिलो १० देखी १५ हजार सम्म विक्री हुने वन लसुन, आठ देखी १२ हजार सम्म विक्रि हुने सतुवा र यसैको हाराहारीमा विक्री हुने गुजरगानो, सेतक चिनी, मुस्ली, कटुकी, जटामसी, बज्रदन्ती लगायतका जडिबुटीहरु वन विनास र अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेको देखिन्छ ।

२०६६ सालमा ८ हजार छ सय किलो निकासी भएको सतुवा २०६७ सालमा ४ हजार ८ सय ८१ किलो, २०६८ सालमा २ हजार २ सय २५ किलोमात्र निकासी भएको थियो । डिभिजन वन कार्यालय बझाङको तथ्याङ्क अनुसार २०७१ सालमा आइपुग्दा सतुवाको निकासी घटेर १ हजार ५ सय ३० किलो मात्र निकासी भए पछि २०७२ सालमा तत्कालिन जिल्ला विकास समितिले सतुवाको अस्तित्व नै संकटमा परेको भन्दै यसको निकासीमा नै प्रतिबन्ध लगायो । यद्यपी अहिले पनि लुकिछीपी यसको संकलन हुने क्रम भने रोकिएको छैन ।

यस्तै २०६९ सालमा झण्डै ४ हजार किलो बन लसुन निकासी भएको थियो । यो परिमाणको बनलसुनको तत्कालिन मुल्य ४ करोड भन्दा बढी हुन्छ । तर २०७१ सालमा आइ पुग्दा बन लसुनको उत्पादन घटेर ९ सय किलो मात्र निकासी भएको जिल्ला वनको तथ्याङ्क छ । लोप हुन लागेको भन्दै हाल वन लसुन संकलनमा पनि प्रतिवन्ध लगाएको छ । २०६४ साल यता जिल्ला बाट बर्षेनी २४ देखी ३० प्रकारका जडिबुटी निकासी भैरहेकोमा २०७५ साल सम्म आइपुग्दा यो संख्या ८ प्रकारमा सिमित भएको डिभिजन वन कार्यालयको रेर्कड छ ।

त्रिभुवन विश्व विद्यालय वनस्पती शास्त्र केन्द्रिय विभाग, वनस्पती संरक्षण विषयका प्राध्यापक सुरेस घिमिरेका अनुसार जंगलमा वनस्पतीहरु तिनवटा तहमा एक अर्काका सँग अन्तरसम्बन्धीत भएर बसेका हुन्छन । ‘सबै भन्दा माथी रुख हुन्छ । रुखको छायाँ र ओसिलोपना पाएर त्यसको मुनी झाडी प्रजातीहरु बसेका हुन्छन । झाडीको आश्रय पाएर ग्राउन्डमा अन्य जडिबुटी र घाँसहरु पलाउछन’ उनि भन्छन ‘माथीको रुख मात्र काटिदा तिनिहरुको जैविक सम्बन्ध खलबलिन्छ ।

त्यस तल रहेका सबै बनस्पतीहरुलाई असर पर्छ । जडिबुटीहरु हराउनुको कारण पनि त्यही हो’ जंगल फाँडिदा कतिपय जडिबुटी, झारपात र झ्याउहरुहरुको सुक्ष्म बासस्थान नै विग्रने भएकाले त्यहा“को वातावरण वनस्पतीलाई हुर्कनका लागि प्रतिकुल हुने गरेको र जडिबुटी हराउने गरेको बताए ।

यस्तै धुपी र फुलफुल्ने प्रजातीका विरुवाको जंगल मासिदा यसको असर पुतलीको जिवनचक्रमा समेत परेको र यसको सोझो असर यार्सा गुम्बा उत्पादनमा परेको इसिमोडका डा.विनय पसखलले बताए । ‘पुतलीको लार्भाबाट यार्सागुम्बा बन्छ तर प्राकृतिक वासस्थान र फुल फुल्ने प्रजातीका विरुवाहरुको कमी हुदै जाँदा पुतलीको जिवन चक्रमा असर पर्छ । यसले यार्साको उत्पादन पनि प्रभावित हुन्छ’ उनले भने ।

‘वन फडाँनी र अधिक संकलनका कारण कतिपय जडिबुटीको त विउ समेत मासिने अवस्थामा पुगेको छ’ डिभिजन वन कार्यालयका निमित्त प्रमुख कपिल रावल भन्छन । ‘पहिलाको तुलनामा हेर्ने हो भने सबै जडिबुटीहरुको उत्पादन घट्दो क्रममा रहेको छ ।’ तिव्र गतिमा भैरहेको वन विनास र धेरै ठुलो जनसंख्याले एकै पटक संकलनको अभ्यास गर्दा प्राकृतिक पुनरुत्पादन प्रणाली नै खलबलिएकोले धेरै जसो जडिबुटीको अस्तित्व संकटमा रहेको उनको बुझाई छ ।

साइपाल गाउँपालिकाको मडुग्रा क्षेत्रमा देखिएको मनमोहक हिमाली वन ।

संवेदनशिल वन
त्रिभुवन विश्व विद्यालय वनस्पती शास्त्र केन्द्रिय विभाग, वनस्पती संरक्षण विषयका प्राध्यापक सुरेस घिमिरेका अनुसार उच्च हिमाली क्षेत्रको वन अन्य क्षेत्रको वनको तुलनामा निकै संवेदनशिल हुन्छ । ‘किनभने यो क्षेत्र छ देखी आठ महिना सम्म हिउँले ढाकिन्छ । बाँकी अवधीमा पनि यहाँ निकै जाडो हुन्छ’ उनि भन्छन ‘जाडोमा विरुवाहरु हुर्कन धेरै समय लाग्छ’ तराई र मध्य पहाडमा दुइ वर्षमा हुर्केको जत्रै विरुवा हिमालमा हुर्कनका लागि २० वर्ष भन्दा बढी समय लाग्ने गरेको उनको भनाई छ । हिमाली क्षेत्रमा कम तापक्रमका कारण विरुवा हुर्कने समय निकै कम हुने भएकाले पनि यो जंगल पर्यावरणिय महत्वका हिसाबले उच्च संवेदनशिल रहेको उनले बताए ।

हिमाली क्षेत्रको जमिन पनि अन्य भुभागको भन्दा कमजोर हुने भएकाले यहा“को जंगल फडानी हुदै जा“दा भुक्षयको जोखिम पनि बढने गरेको उनले बताए । बझाङमा मात्र नभएर सुदुरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा पनि यही गतीमा हिमाली वन फडाँनी भएकोले यसले भविश्यमा ठुलो वातावरणिय संकट निम्तिने उनको अनुमान छ । चिन लगायतका देशमा संवेदनशिल मानिएको हिमाली क्षेत्रमा मानव प्रवेशलाई नियमन गर्नका लागि कोटा संख्या निर्धारण गरिएको भए पनि नेपालमा कुनै पनि नियम नभएका कारण ठुलो संख्यामा मानिसहरु एकै पटक प्रवेश गर्दा विनास बढेको उनको भनाई छ । ‘एक पटकमा कति मानिस जाँदा त्यहाँको श्रोतले धान्न सक्छ भन्ने अध्ययन नै भएको छैन । मनलाग्दी गतिवीधी नियन्त्रण गर्ने कुनै पहल गरिएको छैन । यसले भविश्यमा ठुलो पछुतो हुने निश्चित छ ।’

‘अहिले जति जंगल फडानी भएको छ । यसको पुर्नभरण गर्न सयौं वर्ष कुर्नु पर्ने हुन सक्छ’ इसिमोडका डा. विनय पसखल भन्छन ‘त्यहा“ बृक्षारोपण गर्ने कुरा व्यवहारीक हुदैन । मानविय गतिविधीको व्यवस्थापन गर्नु नै एक मात्र विकल्प हो । यस विषयमा सोच्न ढिलाई गर्नु हुदैन’ उनले स्थानिय तहले नै यसको व्यवस्थापनको लागि अग्रसरता लिनु पर्ने बताए ।

बेखवर वन कार्यालय
डिभिजन वन कार्यालयको तथ्याङ्कमा भने अहिले पनि बझाङ जिल्लाको उच्च हिमाली भेगमा ३० सेन्टीमिटर अर्धव्यास (डायमिटर) भएका रुख सहितको वन ११ हजार ३० हेक्टर छ । अन्य काठ सहितका रुख भएको क्षेत्र (अदर उडल्याण्ड) १२ हजार ६ सय २५ हेक्टर छ । यस्तै झाडी बुट्यान भएको क्षेत्र ४ सय २४ हेक्टर गरी २४ हजार ७९ हेक्टर वन बझाङको उच्च हिमालमा रहेको निमित प्रमुख कपिल रावलले बताए ।

यद्यपी उच्च हिमालमा रहेको यो वनको तत्काल वैज्ञानिक नापजाँच गर्ने हो भने डिभिजन वन कार्यालयको तथ्याङ्क झुटो हुने वन प्राविधिकहरु नै बताउछन । एक जना वन प्राविधिक तथा सुर्मा गाउ“पालिकाका स्थानिय जिवन बोहरा भन्छन । ‘यो तथ्याङ्क धेरै १५/२० वर्ष पहिला गरिएको सर्वेक्षण (इन्भेन्ट्री) को कपिपेस्ट हो । अहिले इन्भेन्ट्री गर्ने हो भने त्यसको २० प्रतिशत मात्र वन बाँकी होला । सबै उजाड भैसकेको छ’ उनले आफुले लेकाली क्षेत्रका जंगल घुमेको र त्यहा“ भैरहेको विनास देखेको आधारमा यो कुरा ठोकुवा गरेर भन्न सक्ने दावी गरे ।

डिभिजन वन कार्यालयका निमित प्रमुख कपिल रावल भने अन्य जंगलको तुलनामा फडाँनी नहुने गरेको बताए । ‘हिमाली भेगमा मानिसहरुको चहलपहल कमै हुने भएकाले वन विनास त्यती साह्रो हुदैन की जस्तो लाग्छ’ उनले भने ‘विकट भएका कारण हामी पनि अनुगमनमा जान सकेका छैनौ’ उनले सामान्यतया कुनै उजुरबाजुर परे मात्रै वनका कर्मचारीहरु त्यस क्षेत्रमा जाने गरेको बताउदै वन विनास भैरहेको वारेमा कार्यालय अनभिज्ञ रहेको बताए ।

वसन्तप्रताप सिंह कान्तिपुर दैनिकका लागि बझाङ संवाददाता हुन् ।