‘क्वारेन्टाइनमा उपलब्ध सुविधा चित्त नबुझेको भन्दै भाग्छन्’

समाचार

बझाङ — बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो ।

विभिन्न ३४ क्वारेन्टाइनमा राखिएका उक्त संख्याका व्यक्ति पूरा अवधि नबसेरै भागेका हुन्। क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन्।

थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको स्वास्थ्य कार्यालय बझाङका कोरोना महामारी नियन्त्रण फोकल पर्सन नारायण जोशीले बताए। ‘सय जनाभन्दा बढी भागेको जानकारी आएको छ,’ उनले भने।

धेरैजसोले क्वारेन्टाइनमा उपलब्ध सुविधा चित्त नबुझेको भन्दै भागेको र कसैले घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएको जोशीको भनाइ छ। स्थानीय तहका जनप्रतिनिधिहरूले भने क्वारेन्टाइनबाट भागेकाहरूको पनि बचाउ गर्दै उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गर्दै आएका छन्। हाल क्वारेन्टाइनबाट भागेका र त्यहाँ बसिरहेकाहरूको संख्या सरकारले लकडाउनको घोषणा गरिसकेपछि बझाङ प्रवेश गरेकाहरूको हो।

लकडाउनअघि भारत र अन्य मुलुकबाट २० हजार हाराहारीमा आएको अनुमान गरिए पनि संख्या यकिन छैन। उनीहरूको निगरानी पनि कसैले गरेको छैन। उनीहरूको निस्फिक्री गतिविधिका कारण जोखिम झन् बढ्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए।

उच्च जोखिम, फितलो सतर्कता

गत सोमबार जिल्लाको प्रसिद्ध मेला बान्नीकी चैतली मनाउन छविसपाथीभेरा गाउँपालिकाको बान्नीचौरमा सयौंको संख्यामा भेला भएको खबर सामाजिक सञ्जालमा भाइरल भयो। धार्मिक प्रक्रिया पूरा गर्न न्यून संख्या मात्रै भेला हुन गाउँपालिकाले गरेको आग्रहको बेवास्ता गर्दै स्थानीय चैतली मेला भर्न पुगेका थिए।

यसअघि चैत १९ मा चैतेदसैंका दिन पनि जिल्लाका विभिन्न मन्दिरमा स्थानीय भेला भएर धुमधामसँग पूजापाठ गरेका थिए। उनीहरूले कोरोनाको जोखिमबाट बचाउन भन्दै मन्दिरमा राँगा र बोकाको बलिसमेत दिएका थिए। जयपृथ्वी नगरपालिका–१ मा मात्रै दसैंका दिन ५० भन्दा बढी पशु बलि दिएर विभिन्न १० वटा मन्दिरमा सामूहिक पूजाआजा गरिएको स्थानीय कस्मेर सिंहले बताए। उनका अनुसार कोरोनाको संक्रमण फैलिसकेपछि भारतबाट फर्केकाहरू पनि पूजाआजामा सहभागी भएका थिए। ‘इन्डियाबाट आएकाहरूमध्ये धेरैजसोले मन्दिरमा बोका चढाए। धामी काँपेर गाउँका सबैलाई कोरोनाबाट बचाउने भनेपछि मानिसहरू ढुक्क भएका छन्,’ उनले भने, ‘मेला, पर्व र पूजाआजा रोकिएका छैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *