बझाङ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले बझाङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बृद्धी हुने क्रम बढेकोले प्रत्यक्ष समाचारमा खटिने पत्रकारहरु जोखिममा रहेको भन्दै महासंघले सुदुरपश्चिमका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
समाचार संकलनमा खटिने पत्रकारहरुलाई न्युनतम स्वास्थ्य सुरक्षा सामाग्रीहरुको अभाव भएको भन्ने गुनासो आए पछि महासंघको प्रदेश समितिले प्रत्येक जिल्लामा पुगेर एन नाइन्टी मास्क, ग्लोब्स, सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गर्न थालेको हो ।
आइतवार महासंघको टोलीले बझाङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पत्रकारको व्यक्तीगत र पेशागत सुरक्षाको अवस्थाको जानकारी समेत लिएको थियो । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, महासचिव योगेस रावल, सदस्य भिम चौधरी, विराज रोस्याराको टोलीले बझाङका पत्रकारहरुले कोरोना महामारीको वेलामा भोग्नु परेका समस्याहरुको बारेमा छलफल गरेको थियो ।
छलफलमा समाचार संकलनको क्रममा हुने जोखिम, स्वास्थ्य सामाग्रीको अभाव, लकडाउनका कारण मिडिया क्षेत्रमा देखीएका समस्याका विषयमा बझाङका पत्रकारहरुले जानकारी गराएका थिए । उनीहरुले आर्थिक संकट भएको भन्दै संचारगृहले समयमै तलब नदिने, कामबाट निकाल्ने गतिविधी गरिरहेकोले यस तर्फ महासंघको ध्यान जानु पर्ने सुझाव दिएका थिए । यस्तै सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने कतिपय पत्रकारलाई दैनिक खाना र कोठा भाडा तिर्नका लागि समेत समस्या भएकोले राहतको लागि पहल गरिदिन प्रदेश महासंघलाई अनुरोध गरेका थिए ।
जिल्लामा स्वास्थ्य सुरक्षा सामाग्रीहरु नपाइएको अवस्थामा प्रदेश समितिले उपलब्ध गराएकोमा जिल्लाका पत्रकारहरुले खुशी ब्यक्त गरेका थिए । ‘सुरक्षा सामाग्री नभएका कारण जोखिमपुर्ण तरिकाले रिर्पाेटिङ गरिरहेका साथीहरुलाई प्रदेशले उपलब्ध गराएको सामाग्रीले ठुलो राहत भएको छ’ नेपाल पत्रकार महासंघ बझाङ शाखाका उपाध्यक्ष सम्राट सिंहले भने ‘संकटका बेला प्रदेश समितिले दिएको साथले सबैको आत्मविश्वास बढेको छ’
छलफलका क्रममा महामारीका बेला पत्रकारले खेल्नु पर्ने भुमिका तथा अपनाउनु पर्ने सावधानीको बारेमा पनि जानकारी दिइएको थियो । छलफलमा बोल्दै महासंघका अध्यक्ष अर्जुन शाहले पत्रकारहरुले संकटसंग जुध्नका लागि आफु सुरक्षित हुदै समुदायलाई सहयोग पुग्ने खालका सुचना प्रवाह गर्नु पर्ने कुरा बताएका थिए । उनले यस्तो वेलामा पत्रकारहरुले उच्च आत्मविश्वास र पुर्ण सावधानीका साथ सन्तुलित सुचना प्रवाह गर्न अझ सक्रिय भएर लाग्नु पर्ने तर्फ जोड दिएका थिए । पत्रकारका समस्याहरु समाधानको लागि महासंघले प्रदेश र जिल्ला स्तरमा समन्वय गरिने समेत बताएका थिए ।
महासंघका प्रदेश समिति महासचिव योगेस रावलले संकटको बेलामा समाचार सामाग्री तयार गर्दा र रिर्पाेटिङमा जाँदा पत्रकारहरुले उच्च नैतिकता देखाउनु पर्ने बताएका थिए । कतिपय ठाउँमा पत्रकारहरुले सुचना माग्ने क्रममा प्रहरी, स्वास्थ्यकर्मीहरुलाई हैरानी दिइरहेको भन्ने गुनासो समेत आएकालाई सबै संग विनम्र भएर प्रस्तुत हुनु पर्नेमा उनले जोड दिएका थिए ।