बझाङमा -खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङ जिल्लाभित्र संक्रमितको संख्या ७ जना पुगेको छ भने एक जना बझाङका सुर्खेतमा उपचारत छन् । संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षिया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एकहप्ता अगाडी आएको र एक जना २५ वर्षिय पुरुष २ हप्ता अगाडी काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताउनुभयो । दुई दिन अगाडी उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । २० जनामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिने भएको छ । तर गाउँपालिकाले आइसोलेसन बनाउन ढिलाई गरेकाले यसबारेमा गाउँपालिकाले सोचिरहेको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले बताउनुभयो । हाल खप्तडछान्ना गाउँपालिका भर ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।