बैतडी — बैतडीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको शव कोरोना परीक्षणबिनै आफन्तको जिम्मा लगाइको छ । शनिबार राति ८ बजेतिर मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवाको कोरोना परीक्षण नगरेरै दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको हो ।
२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पुगेका थिए । शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए । उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लिए पनि उनको राति साढे ८ बजेतिर मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । मृतकसँगै उनका भाइ र अन्य आफन्त गरी १४ जना शनिबार बिहान सँगै पुगेर ६ नम्बरकै भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका थिए । आफन्तका अनुसार उनी केही बिरामी भएको थाहा नभए पनि तौल भने अस्वभाविक रुपमा बढी थियो । ३० वर्षीय उनको तौल एक सय १० किलोग्राम थियो ।
परिवारले नमानेका कारण मृतको शव दाहासंस्कारको लागि परिवारको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । ‘ग्रीन जोन’बाट आएको भन्दै उनीहरुले नमानेपछि भाइलगायत सँगै आएका आफन्तले दाहासंस्कार गर्ने गरी शवलाई जिम्मा लगाएको उनले बताए । कोरोनाबाट मृत्यु भएको भन्ने विश्वास नभएको भन्दै कर गरेपछि सबैको सल्लाहमा लिएका उनले बताए । दाहसंस्कारका लागि शव लैजाने ६ जनाको आरडीटी परीक्षणमा सबैको एन्टिबडी नेगेटिभ देखिएको पनि महराले बताए ।