छोरीचेलीको हैसियत बिहे मात्रै ?

संकीर्णतामा रुमलिएका बौद्धिकहरूको मानसिकताले समाज गाँजेको छ । यसले न अघिल्लो पुस्तालाई चिर्न सक्यो, न त नयाँ पुस्तालाई स्वीकार्न सक्यो ।

विद्या राई

मेरी एक साथीले काठमाडौँ बसेर लोकसेवा परीक्षाको तयारी गर्ने योजना बनाई । उसलाई काठमाडौँ बस्दा कोठा भाडा तिर्न, खानाखाजा, कापी, पुस्तक किन्न महिनामा १३ हजारजति खर्च आवश्यक पर्थ्यो । भर्खर स्नातक सकेकी साथीको कमाइ थिएन । उसलाई चाहिने खर्च पठाउनका लागि बाआमा उदार थिएनन् ।

हुन त गाउँमा बाआमाको कमाइ पनि पुगिसरीचाहिँ होइन । अन्नपात, फलफूल, तरकारी बेचेको कमाइ न हो, उसलाई पठाउने पनि । तर बाआमाले चाहँदा महिनाको १३ हजार पठाउन खासै ठूलो आर्थिक बोझ थिएन । साथी यही कुराले पिरोलिन्थी । खर्चकै पिरलोले लोकसेवा तयारी पनि उपलब्धिविहीन योजना भइरहेको थियो ।

२३/२४ उमेरकी उसलाई बेलाबखत घरमा बिहेको कुरा चल्थ्यो । यो मामलामा बाभन्दा आमा अलि गम्भीर हुन्थिन् । ‘आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्नू’ भनेर छोरीलाई सुझाउँथिन् । तर छोरीलाई खर्च पठाउने निर्णय उनको हातमा हुँदैन थियो । त्यो बाको हातमा हुन्थ्यो । बा र आफन्तजनहरूचाहिँ ‘छोरी पाल्न सक्ने केटो’ पाए झ्याइँ–झ्याइँ बिहे गराउने कुरा गर्थे । गाउँमै भए पनि सामान्य खालको झ्याइँ–झ्याइँ बिहे गर्न कम्तीमा पनि ५/६ लाख खर्च पर्छ ।

साथीलाई बिहेभन्दा करियरको चिन्ता हुन्थ्यो । जागिर नखाई बिहे नगर्ने सोच थियो । तर करियर बनाउन पनि खर्चै चाहिन्थ्यो । बा र आफन्तका कुराले मन कटक्कै खान्थ्यो । ‘पढ्छु, जागिर खान्छु भन्दा महिनाको १० हजार पठाउन नसक्ने, बिहेचाहिँ झ्याइँ–झ्याइँ गरिदिन सक्ने ?’ । घाँटीसम्मै आइपुग्ने यो जवाफ फर्काउन सक्दिनथी । ‘बिहे नै गराइदिने भए टीकाटालो गराएर विधि फुकाइदिए मात्रै हुँदैन ?’ एक दिन उसले हिम्मत गरेरै बाआमासित यतिचाहिँ सोधी । बाआमाले गर्वसाथ भने, ‘हामीले पनि दुनियाँका छोरीको बिहे खाएका छौँ, उनीहरूलाई बोलाएर खुवाउनु परेन !, ऋण गरेरै नि बिहे उतारिन्छ ।’ यो जवाफले ऊ कायल हुन्थी । उसलाई त्यो जवाफदेखि आशा टुट्दै गयो ।

यसरी दुनियाँका लागि बाँच्नुपर्दा, हाँस्नुपर्दा आशा टुटाउने थुप्रै छोरीचेलीहरू छौँ, हाम्रो समाजमा । जो भविष्यमा आफ्नो सारथि आफैँ हुन चाहन्छौँ, योग्य र सक्षम बन्न चाहन्छौँ । प्रयास गर्छौं तर योग्य बनाउनका लागि परिवारबाट लगानीमैत्री वातावरण पाइरहेका हुँदैनौँ । एक त छोरीहरूको शिक्षा, रोजगार तथा वृत्ति विकासमा लगानी गर्न परिवारसित यथेष्ट सम्पत्ति हुन्न । अर्को, छोरीहरू ढिलोचाँडो पराई घर नै जाने त हुन् नि भन्ने पुरानो मानसिकता हावी छ । यसले गर्दा छोरीहरू महत्त्वमा पर्दैनन् । लेखपढ गराइहाल्यौँ, यति भए भइहाल्यो नि भन्छौँ । सकेको वृत्ति विकासमा फराकिलो सोचाइ राखिँदैन । निम्न वर्गका परिवारमा त पढाइलेखाइको कुरासमेत हुन्न ।

आज हाम्रो मध्यम वर्गीय परिवारभित्र यस्तो विकार हावी छ कि हिजो छोरीलाई पढाउन हुँदैन भनिन्थ्यो, कम्तीमा आजका छोरीले पढ्न पाएका छन् नि ! यति भए बाआमाको कर्तव्य पूरा भयो भन्ठान्छौँ । हो, हिजो आमा, हजुरआमाका पालाभन्दा आजका छोरीचेलीहरू स्वतन्त्र छन्, अवसर पाएका छन् । तर त्यो आजको पर्याप्तता होइन । अपर्याप्तताका विषयमा मध्यम वर्गीय परिवारले गम्भीर रूपमा लिनै सकेको छैन ।

यसले गर्दा केही लेखपढ गरेपछि छोरीचेलीहरू बिहेको तारोमा हुन्छन् । अझ यो हतारो परिवार र समाजलाई बढी हुन्छ । गन्यमान्यहरूलाई पर्छ । घरपरिवारले छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न सक्दैनन् तर पराई घर पठाउनका लागि ऋण गरेरै भए पनि लाखौँ खर्चन सक्छन् । बरु निम्न वर्गमा हो भने यसको हिसाबकिताब हुन्नथ्यो ।

जसोतसो करियर बनाउन लागेका छोरीचेलीहरूको पनि कहाँ सजिलो छ र ! हाम्रो वातावरण, समाजले उनीहरूलाई पचाउनै सक्दैन । कथित जान्नेबुझ्ने भइटोपल्नेहरूका आँखा बिझाइरहेका हुन्छन् । सम्मानित शब्दमा भन्नुपर्दा बौद्धिक स्तरका भनाउँदाहरू ।

बाआमाले त उतिबेला लेखपढ गर्न पाएनन्, गाउँभन्दा बाहिरको समाज बुझ्न पाएनन् भन्न मिल्यो तर यी बौद्धिक भनाउँदाहरूलाई त ज्ञान अभाव भनेर उनीहरूको बौद्धिकतामाथि प्रश्न तेर्स्याइहाल्न पनि मिलेन । तर नियतिचाहिँ पक्कै हो । यिनका नियति भनेकै छोरीचेलीहरूलाई करियरको मूलधारमा ल्याउनेभन्दा जतिसक्दो खुट्टा तान्ने, जन्जालमा पँmसाउने र बिहेको मामलालाई घुसाउने ।

हामी भन्ने गर्छौं– मान्छे भएपछि जस्तोसुकै चुनौती चिर्न तयार हुनुपर्छ, सानोतिनो कुरामा अल्झिनु हुँदैन । तर नियतवशका सानातिना कुरासित पनि चुप बस्नु हुँदैन रहेछ भन्ने लागेको छ ।

मसँग पनि यस्ता थुप्रै अनुभव छन् । यही लकडाउनकै अनुभव पनि छन् । यो बीचमा थुप्रै बौद्धिकहरूसित गफगाफ भयो । त्यसभित्र कतिपय माइतीहरू पनि पर्नुहुन्छ । तर तिनको नियति उही । लकडाउनले अर्थतन्त्रमा पारेको मन्दीले गर्दा निजी तथा व्यावसायिक क्षेत्रमा परेको असरले करियरसित जोडेर तर्साए । म निर्धक्क भएर जवाफ दिन्थेँ, ‘अब गाउँ गएर कृषि क्रान्ति गर्ने हो, बाआमाको खेतीपातीलाई व्यावसायिक बनाउने हो । जस्तोसुकै मन्दी आए पनि भोको भइँदैन ।’

उनीहरूलाई पीर पर्न थाल्थ्यो र भन्थे, ‘अब त ज्वाइँका घर पो जानुपर्छ अनि जेजे क्रान्ति गर्नुपर्छ, गर्ने ।’ कोहीले भने, ‘जहिले बाउआमासितै बस्ने हो र ! अब त (बिहे गर्ने) बेला भएन र !, समाचार–समाचार भन्दै नहिँडौँ, अब सेटल्मेन्ट हुने तरखरतिर पनि सोचौँ, उमेर कटेपछिको बिहे र यो बेलाको बिहेमा निकै अन्तर छ, यही बेला सोचौँ है … ।’

यत्ति मात्रै हो र ! उनीहरू थप्थे, ‘बरु ज्वाइँ खोजिदिनुपर्छ भने भन्नू है, मेरो पनि एक–दुई ठाउँ सम्पर्क छ ।’

ज–जसले यस्ता कुरा भने, तिनीहरू बौद्धिक स्तरकै थिए । महिला सशक्तीकरण र मूलप्रवाहीकरणका ठूला कुरा गर्नेले नै भने । लक्षित वर्ग र समुदायका खोक्रो बहस गर्नेहरूले नै भने । तर करियर कसरी उकास्ने, क्षमता कसरी बढाउने, सक्षम कसरी बन्ने, उनका सवाल भएनन् । सवाल बन्नुपर्थ्यो भन्ने मेरो अपेक्षा थिएन । तर छोरीहरूले आफ्नो निर्णय आफैँ गर्न सक्छन्, त्यो अरू कसैले चासो लिइरहनुपर्ने विषय होइन । त्यसमा पनि नितान्त व्यक्तिगत कुरालाई किन बारम्बार चासो लिइरहनुपर्‍यो ?

महिलाप्रति कथित बौद्धिकहरूको कुण्ठा, जसले उनका स्तरलाई झन् नजिकबाट चिन्ने मौका मिल्यो । चेलीबेटीलाई ज्वाइँ खोज्ने लाइनमा लामबद्ध बौद्धिक भनिएका माइतीहरूसित दया जागेर आयो । अनि भन्न मन लाग्यो– सहर पसेर जबर्जस्त बौद्धिक वर्गको ट्याग भिरिरहेका माइतीहरूभन्दा गाउँमा खेतीकिसानी गरिरहेका बाआमाहरू नै महान छन्, जसलाई आफूले जन्माएका छोरी भारी भएका छैनन् ।

संकीर्णतामा रुमलिएका बौद्धिकहरूको मानसिकताले समाज गाँजेको छ । यसले न अघिल्लो पुस्तालाई चिर्न सक्यो, न त नयाँ पुस्तालाई स्वीकार्न सक्यो । यिनै हावी हुँदा महिला सशक्तीकरण पचाउन समाजलाई हम्मे भइरहेको छ । अझ यसमा ‘मातृसत्ता’ को पनि साथ मिल्दा बौद्धिक भनिएकाहरूलाई महिलाको स्तरोन्नति स्वीकार्न कठिन भइरहेको छ । पितृ होस् या माृत ‘सत्ता’ आफैँमा थिचोमिचोको पराकाष्ठा हो ।

जस्तो, २६ जेठमा प्रतिनिधिसभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले क्षमताका आधारमा मात्रै महिला सहभागिता बढाउनुपर्ने अभिव्यक्ति दिइन् । मन्त्रालयको आगामी वर्षको कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भनेकी थिइन्, ‘हामीले संविधानअनुसार नै महिला सहभागिता बढाउँदै जाने हो, महिलाको हकाधिकारको कुरा गर्दा आफ्नो कर्तव्यको कुरा पनि के हो भन्ने बुझ्नुपर्छ ।’

यस विषयमा आ–आफ्नै खाले व्याख्या हुन सक्छन् । तर यसले घुमाइफिराइ महिलालाई मूलप्रवाहीकरणमा ल्याउनु हुँदैन भन्ने अर्थ लगाउँछ । नयाँ पुस्तालाई स्वीकार्नु हुँदैन भन्ने नै बुझाउँछ । राज्यका यस्तै नेतृत्वले गर्दा जन्म दिने बाआमाका लागि भारी नभएका छोरीहरू आज खोक्रे बौद्धिकहरूका लागि बोझ भएका छन् ।