खोजौं रैथाने खानेकुरा

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ । यस्ता सागसब्जी, अन्नहरु उत्पादन गरेर आफ्नै लागि उपभोग गर्न सकिन्छ । हुनसक्छ, कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला । यद्यपि घरकै करेसाबारी, छत, बार्दली आदिमा पनि सागसब्जी लगाउन सकिन्छ ।

हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ । पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ । हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ ।

तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन् रु ति वनस्पतिमध्ये कति खान योग्य छन् रु कति स्वादिलो र पोषिलो छन् रु पहिचान गर्न सकिन्छ । हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे । जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन् । खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं ।

खानेकुरा भनेको शरीरको एक अंश हुन् । जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ । त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ । अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ । किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं ।

अहिले धेरैको शरीर रोगको भण्डार बन्दैछ र त्यसको कारण बनेको छ अस्वस्थ्यकर खानेकुरा ।

साग चाहियो, बजारमा खरिद गर्न पुग्छौं । सिमी चाहियो, बजार धाउँछौं । चामल, दाल, तेल, मसला सबै बजारबाटै आपूर्ति गर्छौं । यसरी आयतित खानेकुरामा हामी सम्पूर्ण रुपमा निर्भर छौं । जबकि हामीले थोरैमात्र प्रयास गर्ने हो भने आफ्नै उत्पादनले धेरै छाक टार्न सक्छौं । अर्थात हामी आफैले उत्पादन गरेका, अग्र्यानिक खानेकुरा आफ्नो छाकमा समावेश गर्न सक्छौं ।