पत्रकार महिलाले महामारीमा टिक्न ‘मिडिया फेलोसिप’ को माग

समाचार

काठमाडौं । कोरोना महामारीले आम्दानीमा गिरावट आएको, विना तलव र पाएकाले तलब पनि कम भएकोले संकटमा परेका पत्रकार महिलालाई लेखनवृति र मिडियामा ऋणको व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार सञ्चारिका समुह नेपाल र फ्रीडरिक इबर्ट स्टिफ्टुङ्ग नेपालले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक विधुतिय सम्मेलनमा सहभागि पत्रकार महिलाले पेशामा टिक्न र आर्थिक सुरक्षाका लागि यस्तो माग राखेका हुन् । ‘यो बेला पत्रकार महिलाले बेतलबी काम गर्नु परेको छ, रोजगारी गुमाउनु परेको छ, धेरैले गुमाउने स्थिती छ, यो महामारीको बेला उनीहरुलाई पेशामा टिकाउनकै लागि ‘मिडिया फेलोसिप’हरुको व्यवस्था हुदा राहत मिल्ने थियो,’ प्रदेश –२ बाट पत्रकार मनिका झाले भनिन् ।

हरेक विपत्तिमा सञ्चार क्षेत्र शक्तिशाली माध्यम भएपनि यस्तोबेला सञ्चार उद्योग धरासायी भएकैले नेपालमा पत्रकार महिलाको लागि यो सहज समय नभएको सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले बताइन् । ‘वेरोजगार हुनु, काम गरेर पनि तलव नपाउनु र काम गर्न जा“दा स्वास्थ्य समस्या अर्कोतिर छ, आर्थिक र स्वास्थ्य समस्याका बीच हामीले संभावना पनि खोज्न सक्नुपर्छ,’ उनले भनिन् ।

जुम्लाकी पत्रकार कृष्णमाया उपाध्यायले भाडामा बस्ने र बच्चा सानो भएका पत्रकार महिलालाई काम गर्न अझ गाह्रो भइरहेको, भाडामा बस्ने पत्रकारलाई कोरोना ल्याउने आरोप लाग्ने गरेको बताइन् । ‘यो बेला बाहिर निस्केर रिपोर्टिङ गर्ने सम्भावना छैन, प्रविधिको भर पर्नुपरेको छ, दुरदराजमा फोन, इन्टरनेटको समस्या पनि उति नै झेल्नुपरिरहेको छ’ उनले भनिन् ।

आफ्नो कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक विश्लेषक तथा सञ्चारकर्मी आरती चटौतले महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै नभएकोमा दुःख व्यक्त गरिन् । सम्मेलनमा देशभरबाट झण्डै एक सय पत्रकार महिला सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *