बालविवाह रोक्न पुजारी र पण्डितको प्रतिबद्धता

सुदुरपश्चिम

बझाङ । बाजुरामा बाल विवाह गर्नेहरुको संख्या बर्षेनी बढ्न थाले पछि यसलाई रोक्न स्थानिय पुजारी तथा पण्डीत पुरोहितहरुलाई सक्रिय गराउन थालिएको छ । बाल विवाहका नकारात्मक परिणाम बारे पण्डीत पुरोहित र स्थानिय पुरोहितहरुलाई सम्झाई बुझाई गरे पछि उनिहरु यसलाई रोक्नका लागि आफुहरु सक्रिय हुने प्रतिबद्धता गरेका हुन ।

सामाजिक विकासको बाधकको रुपमा रहेको बाल विवाह रोक्नका लागि धार्मिक अगुवाहरुलाई परिचालन गर्ने रणनितीको सुरुवात जिल्लाको बुढीनन्दा नगरपालिकाले गरेको हो । विवाह गर्नु पुर्व धार्मिक अगुवाहरु (पण्डीत, पुरोहित र पुजारी) को अनिवार्य परार्मश लिने संस्कार भएकोले उनीहरु मार्फत सचेतना फैलाउनका लागि नगरपालिकाले यस्तो कदम चालेको हो ।

‘हामीले विभिन्न गोष्ठी अन्र्तक्रिया लगायतका कार्यक्रमहरु गरेर बाल विवाहले महिला बालबालिकाको विकास, स्वास्थ्य तथा समग्र समाजमा कस्तो असर पार्छ भन्ने कुरा उहाँहरुलाई सम्झाए पछि बालविवाह रोक्न सक्रिय हुने प्रतिबद्धता गर्नु भएको हो’ नगर पालिकाकी उपप्रमुख सृष्टी रेग्मीले भनिन ‘विवाह गर्नु पुर्व अनिवार्य रुपमा पण्डीत पुरोहितको सल्लाह लिने चलन भएकोले उहाँहरुलाई परिचालन गर्ने सोच बनाएका हौं’ उनले कोराना महामारी पनि नगरपालिकामा बाल विवाह गर्नेहरुको संख्या बढ्न थालेको पनि यस्तो कदम चाल्नु परेको बताईन ।

नगरपालिका क्षेत्रमा रहेका मुख्य मुख्य धार्मिक अगुवाहरुले नगर समक्ष विवाह गराउदा केटा र केटीको नागरिकता वा जन्म दर्ताको प्रमाण हेरेर २० वर्ष पुगेको निश्चित भए पछि मात्रै विवाह गराउने, वाल विवाह भएको वा हुन लागेको जानकारी पाए तुरुन्तै सम्बन्धीत निकायमा खवर गर्ने र यो सम्झौता उलंघन गरे आफुहरु पनि कानुनी सजायको भागिदार हुने कुराको नगरपालिका समक्ष लिखित प्रतिवद्धता गरेको उपप्रमुख रेग्मीले बताईन । ‘उहाँहरुले लिखित प्रतिबद्धता नै गरे पछि वालविवाहका घटनामा कमि आउने विश्वास नगरपालिकाले गरेको छ । यस्तो चलन रोक्नका लागि अरु सिर्जनशिल तरिका के हुन सक्छन भनेर पनि हामीले मन्थन गरिरहेका छौ’ उनले भनिन ।

धार्मिक अगुवाहरुले पनि आफुहरुले बाल विवाहका असरको बारेमा थाहा नपाएका कारण यस अघी स्विकृती दिने गरेको स्विकार्दै अवका दिनमा आफुहरुले नै यस्तो चलन रोक्नका लागि प्रयास गर्ने बताएका छन । ‘विभिन्न कार्यक्रममा गए पछी हामीले बाल विवाहका कारण मानिसहरुले कसरी दुख पाएका रहेछन भन्ने कुरा थाहा पायौ । बच्चाले बच्चा बोकेका (सानै उमेरका केटी आमा) देख्यौ । कतिले सुत्केरी हुन नसकेर ज्यान गुमाएको हाम्रै समाजमा देख्यौ’ स्थानिय पुरोहित पुष्पराज उपाध्यायले भने ‘सानैमा विवाह गर्दा पढन नपाएको, उनिहरुको स्वास्थ्य खराव भएको कुरा थाहा पाए पछि यो राम्रो रहेनछ ।

धर्मको नाममा हामीले कतै पाप त गरिरहेका छैनौ की भन्ने लागेर वाल विवाह रोक्ने प्रतिवद्धता गरेका हौ’ उनले नगरपालिकाका १५ भन्दा बढी पुरोहितले बाल विवाह रोक्ने प्रतिवद्धता गरेको जानकारी दिदै आमागी दिनमा नगरपालिका क्षेत्र भित्र आफुले पनि वाल विवाह नगराउने र कसैले गराएको थाहा भएमा कारबाही गराउनका लागि पहल गर्ने बताए ।

बालविवाह बढी हुनेमा सुदुरपश्चिममै अगाडी रहेको बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा मात्रै तीन वर्षको अवधीमा ६१ जोडीले उमेर नपुग्दै विवाह गरेको नगरपालिकाको तथ्याङक छ ।

तस्विर सौजन्य : सृष्टि रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *