बझाङ–नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह लाई प्रदान गरिने भएको छ ।
वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
रेडियोवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चारमाध्यममा आवद्द रहेर १५ बर्ष देखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन । ‘डुलुवा पत्रकार’ को परिचय बनाएका सिंहले वझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।
अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।