ग्रेसबहादुर सिंह
बझाङ । यार्सा संकलकहरुको भिडभाड बढेसंगै बझाङका लेकाली क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । जिल्लामा चैत्रको अन्तिम सातादेखी कोरोना संक्रमण देखिएको थियो । भारतबाट आएर क्वारेन्टाइनमा नबसेका तथा क्वारेन्टाइनबाटै भागेर यार्सा टिप्न लेक जानेहरुले गर्दा संक्रमणको जोखिम बढेको छ । कोरोना महामारीका बेला सचेतना नअपनाएर यार्सा संकलकलाई आफुखुसी संकलन क्षेत्र जान अनुमति दिएर गाउ“मा संक्रमणको जोखिम बढाएको साइपाल गाँउपालिका – ४ धुलीकी रमिला बोहरा बताइन् । उनले भनिन्, ‘जिल्लाको विभिन्न पालिकाहरु, जिल्ला बाहिर र भारतबाट बिना चेकजाँच नै यार्सा टिप्न लेक छिर्न दिइदा जोखिम बढेको छ ।’
लेकाली क्षेत्रहरुमा सिजन सुरु भएको बैशाखदेखि साउन पहिलो हप्तासम्म यार्सा संकलन गरिन्छ । यहाँको मुख्य आयस्रोत मानिने यार्सा टिप्नका लागि बर्षेनी हजारौं संकलकहरु सुर्मा गाँउपालिका, साइपाल गाँउपालिका र बुङ्गल नगरपालिकाका लेकहरुमा पुग्ने गर्छन् । यतिबेला महिनौसम्म क्याम्पिङ गर्दै यार्सा टिप्नका लागि साइपाल गाँउपालिकाको माझा, कालापानि, राइढुङ्गी, साइपाल लगायतका लेकतिर उक्लिएका छन् । तर बिना चेकजाँच प्रवेश दिइदा संक्रमण जोखिम बढ्ने भन्दै स्थानीयहरुमा त्रास फैलिएको छ ।
‘महामारीको रुप लिएको कोरोनाबाट गाँउपालिकालाई सुरक्षित राख्नुको साँटो गाँउपालिकाले आफुखुसी लेक जान दिएको छ, पालिकाले मान्छेको ज्यान भन्दा पनि राजस्वको लोभ गरेको छ’ साइपालका स्थानीय वसन्त बोहराले बताए । गाँउलाई सुरक्षित राख्नका लागी यार्सा संकलकहरुलाई गाँउपालिकाले पिसिआर रिर्पोट अनिवार्य गर्नुपर्ने स्थानीयको भनाइ छ । गाँउपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले स्थानीयहरुको अर्थोपार्जन र गुजाराको समस्यालाई बुझेर स्वास्थ्य जाँच गरेरै यार्सा संकलन प्रवेशको व्यवस्था गरिएको बताए । ‘सवैको पिसिआर परिक्षण गराउन भुगोलको समस्याले सम्भव छैन, सामान्य खालको ज्वरो परिक्षण गरी लेक जान दिइन्छ, सहजताका लागि हामीले दुई ठाउँमा हेल्थडेस्कको व्यवस्था गरेका छौं, पालिकाबासीहरु डराइहाल्नु पर्दैन,’ उनले भने ।
यार्सा संकलन हुने क्षेत्रहरुमा पालिकाका जनप्रतिनिधीहरुले प्रशासनलाई कुनै जानकारी नगराएर प्रवेश दिएपछि संकलकहरुलाई रोक्न नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । संकलकहरुलाई स्वास्थ्य समस्या आइपरे गाँउपालिकाले नै ब्यबस्थापन गर्नेगरी यार्सा संकलन गर्न दिइएको उनले भने । साइपाल गाँउपालिकाले यार्सा संकलकबाट राजस्व संकलन गर्ने ब्यबस्था मिलाएको वडा नं. १ र २ को धलौनमा तथा वडा नं. ५ को वलौडीमा हेल्थडेस्क तोकेको छ ।साइपाल गाँउपालिका भित्रका करिव ७५ प्रतिशत यार्सा संकलकहरु धलौन हुदै लेक जाने गरेको हेल्थडेस्कका प्रतिनिधी नरेन्द्र धामीले जानकारी दिए ।
साइपाल गाँउपालिकामा यार्सा संकलनका लागी मात्र बर्षेनी पाँच देखि सात हजार संकलकहरु लेक जाने गर्छन् । यसपाली जारी निषेधाज्ञा र संक्रमण जोखिमकै कारण यो संख्या ४० देखी ५० प्रतिशतले घटेको गाँउपालिका अध्यक्ष बोहराले बताए । यससंगै लेकमा संक्रमणको जोखिम कम हुनेमा विश्वस्त हुन स्थानीयलाई अनुरोध गरेका छन् । ‘कोरोनाको जोखिम बढेको र बाहिरी जिल्लाका धेरैजसो मान्छे निषेधाज्ञाले आउन पाएका छैनन्, यसले गर्दा महामारी लेकतिर फैलिने डर मान्नुपर्दैन,’ उनले भने । गतबर्ष भने कोरोना महामारीले विकराल रुप लिने भन्दै गाँउपालिका, जिल्ला प्रशासन कार्यालय र डिविजन बन कार्यालयले यार्सा संकलनमा रोक लगाएका थिए । कोरोना महामारीको दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्ट पहिलोभन्दा तीन गुणाबढी जोखिमयुक्त भनिए पनि सम्बन्धित निकायको यसमा ध्यान जान सकेको छैन ।
स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानु जोशी भन्छन्, ‘भारत लगाएतका अन्य मुलुकबाट आएकाहरु, उनीहरुको सम्पर्कमा आएकाहरुलाई विना जाँच प्रवेश गर्न दिनुले लेकतिर भविष्यमा लेकतिर महामारीको रुप नलेला भन्न सकिन्न ।’ जिल्ला कोभिड संकट ब्यबस्थापन समितिले यार्सा संकलन हुने क्षेत्रमा कोरोनाको लक्षण देखिने वित्तिकै एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गर्ने र बाँकी सम्पूर्ण जिम्मेवारी गाँउपालिकाले लिनुपर्ने उनको भनाइ छ ।