सत्यराज सिंह
बझाङ । हिमाली पाटनहरुमा यार्सागुम्बा संकलकहरुको संख्या घटेको छ । साइपाल गाउँपालिकामा पर्ने माझाँ, राइढुंगी, औलागाड लगायत दर्जनौँ पाटनहरुमा बर्षेनी तँछाड्मछाड् गर्दै बिहानदेखि साँझसम्म यार्सा खोज्ने संकलकहरु यस बर्ष घटेका छन्।
साइपाल गाउँपालिकाका स्थानियहरुको आम्दानीको स्रोत यार्सागुम्बा नै भएकाले बालबालिका पढाउने र बढाउने सबै यार्साबाट कमाउने भन्दै जिल्लाका विभिन्न स्थानियतह तथा जिल्लाहरुबाट ३÷४ दिन हिँडेर यार्सा संकलन क्षेत्रमा पुग्ने संकलकहरु अहिले भने कोरोना माहामारी र मौसम परिवर्तनका कारण यार्सा संकलकहरुको संख्या कम भएको यार्सा संकलक तन्जन लामाले बताउनु भयो । उहाले भन्नुभयो, “पहिला यार्सागुम्बा संकलनका लागि साना बालबालिका समेत विद्यालय छोडेर हिमाली पाटनमा पुगेपनी पहिलेको तुलनामा यस बर्ष भने कम संख्यामा आएका छन । पहिलेको तुलनामा यार्सा पनी कम पाईने गरेको छ । यार्सा पनी घटेको छ । कहिले काँहि त दिनभर खोजेर १ मात्रै पाइन्छ । धेरै जसो मानिसहरु अहिले ढिलो हिमपात भएकाले आएर पनी यार्सा टिप्न नपाई घर फर्कि सकेका छन । ”
पहिलेका बर्षहरुमा यार्सा टिप्नकै लागि मानिसहरु घरगोठ बन्द गरेर बैशाख महिना देखीनै पाटन पुगेका हुन्थे । साइपाल गाउँपालिकामा पर्ने औलागाड, राइढुंगी, माझा, श्यामवन, चाल्ना वन, लगायतका दर्जनौ स्थानमा हजारौ मानिस पुगेका हुन्थे । पालहरु हाल्ने ठाउँ पुग्दैन थ्यो । पाललले पाटन भरिन्थ्यो । पोहोर साल कोरोनाका कारण यार्सा संकलनमा गाउँपालिकाले रोक लगायो यो बर्ष पनी अलमलमा परेर नआएको यार्सा संकलक पानकला गुरुङले बताउनुभयो ।
मौसम परिवर्तन र कोरोनाका कारणले यो बर्ष जेठ ५ गते बुधबार सम्मको तथ्याङ्क हेर्दा सुर्मा गाउँपालिकाका १ सय ३४ जना, तलकोट गाउँपालिकाका ६० जना, मष्टा गाउँपालिकाका ८० जना, साईपाल गाउँपालिकाका १ सय ८७ जना र जयपृथ्वी नगरपालिकाका ३ जना गरी जम्मा ४ सय ६४ जना संकलकहरु साइपाल गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । धामीले २०७७ साल बाहेक पहिलेका सबै बर्षहरुमा ४/५ हजार को हाराहारीमा संकलकहरु यार्सा टिप्न आउने गरेको भए पनी यस बर्ष कम संख्यामा यार्सा संकलकहरु आएको समेत बताउनु भयो ।