बझाङले आगामी बजेटमा यसरी पायो प्राथमिकता

सुदुरपश्चिम

साइपालखबर संवाददाता
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि शनिबार पेश गरेको बजेटमा बझाङको सदरमुकाम चैनपुरलाई नदि कटानबाट संरक्षण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

अध्यादेशमार्फत अर्थमन्त्री बिष्णु पौडेलले पेश गरेको बजेटमा भनिएको छ, ‘बझाङ्गको चैनपुरलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरेको छु ।’

बर्खामास अविरल बर्षा, जथाभावी सडक निर्माणका लागि डोजर प्रयोगले गर्दा सेती नदि र बाहुलीगाड खोलाको बीचमा पर्ने चैनपुरले बर्षेनी कटानको जोखिम खेप्दै आएको छ ।

बढ्दो सहरीकरणले गर्दा बढेको अव्यवस्थित बसोबास र संरक्षणको अभावले जोखिमपुर्ण बन्दै गएको चैनपुरलाई संरक्षण गर्न सरकारले प्राथमिकतामा राखेको छ ।

यसैगरी मातृ स्वास्थ्यमा सुधार ल्याउन बझाङ लगायत २० दुर्गम जिल्लामा मातृ प्रतीक्षा गृह सञ्चालन ल्याइने भएको छ । प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधीको सुविधा सहितको मातृ प्रतीक्षा गृह सञ्चालन हुने उल्लेख छ ।

भने जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने प्रस्तुत बजेटमा भनिएको छ । महिला, प्रजनन तथा सुरक्षित मातृत्व सुविधामा कमजोर रहेको बझाङलाई सरकारले प्राथमिकतामा पार्नु सकरात्मक रहेको निर्वतमान सांसद आशा विक बताउँछिन् ।

‘समयमा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना गर्भवति, सुत्केरीलाई नहुदा बच्चा जन्माउदाजन्माउदै, जन्माउन नसकेर बर्षेनी थुप्रै आमा र बच्चाहरुले अकालमा ज्यान गुमाउदै आउनु परेको छ, सरकारले यो दुर्गम भुलोगलाई सम्बोधन गर्नु हाम्रा लागि अत्यन्तै सह्राहनीय छ,’ उनले भनिन् । यसले समुदायस्तरमा चेतना र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने हुदा बझाङको मातृ मृत्युदरको जोखिम न्युनीकरण गर्न टेवा पुग्ने बताइन् ।

यससंगै बझाङ्गीले प्रत्यक्ष लाभान्वित हुन सक्ने कार्यक्रम तथा बजेट पेश भएका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत बझाङका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान गरी लगत संकलन, नाप नक्साङ्कन, सत्यापन र अभिलेखाङ्कन कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने भएको छ ।

बझाङका बादी, माझी लगायत आर्थिक सामाजिक रुपमा सीमान्तकृत र लोपोन्मुख समुदाय, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द पिडित, कोभिड– १९ को संक्रमणबाट मृत्यु भएका परिवारका छात्रछात्रा तथा एचआईभि एड्स संक्रमित बालबालिकाले शिक्षा प्राप्ती संरक्षणका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।

बझाङका हिमाली क्षेत्रमा स्थानीय तहमा ऊन मिशन कार्यक्रम मार्फत भेडा र च्याङ्ग्रापालकहरुलाई प्रोत्साहन कार्यक्रमको व्यवस्था छ । उनीहरुलाई मासु उद्योग सञ्चालन गरी निर्यातलाई प्रोत्साहन कार्यक्रमको व्यवस्था गरेको छ ।

बझाङको प्रमुख पर्यटकीय गन्तव्य खप्तड संरक्षण तथा विकासको लागि बजेट बिनियोजन गरेको छ । प्राकृतिक दृष्टिले महत्वपूर्ण खप्तडलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विस्तार गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *