मिस खामोसी डेफ २०२१ को उपाधि बझाङकी हेवनलाई

समाचार

साइपालखबर संवाददाता
बझाङ । बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङकी हेवन उपाध्यायले उपाधि चुमेकी छन् ।

भारतको जमसेदपुरमा श्रवण र वाक शक्ती नभएका मानिसहरुको हितमा काम गर्दै आएको संस्था ला ग्राविटीले संचालन गरेको खामोसी विथ लाईफ (मौनता सहितको जीवन) कार्यक्रम अन्तर्गत मिस खामोसी डेफ २०२१ को उक्त उपाधि बझाङको तलकोट गाउ“पालिका–४ की उपाध्यायलाई दिइएको हो ।

सन् २०२१ को क्रियाकलाप अन्तर्गत कोभिड–१९ को कारण लकडाउन भएका बेला बोल्न तथा सुन्न नसक्ने व्यक्तिहरुले समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् ? भन्ने विषयमा उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो ।

जसमा जेष्ठ नागरिकहरु, बालबालिकाहरु तथा अन्य अपांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो । त्यसै अनुरुप सहभागी हेवनले एउटा लेख र २ मिनेटको चेतनामूलक भिडियो बनाएकी थिईन् । उनले बनाएको भिडियोमा पसलबाट खानेकुरा र मास्क किनेर अपांगता भएका व्यक्तीलाई बाँडेको देखाइएको छ ।
यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, नाइजेरिया लगायतका मुलुकबाट ७७ जना सहभागि भएका थिए ।

वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलाप गराईको थियो । बहिरा व्यक्तिहरुमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउने यस कार्यक्रमको मुख्य उद्देश्य थियो । यस प्रतियोगिताको उपविजेता भारत वेगलुरुकी श्वेता गोश्वामी, नागालैण्डकी सालमान चुइलो, काठमाण्डौकी लक्ष्मी मर्हजन र बंगलादेशका नइम इस्लाम भए ।

भारतकै बल्लभ युथ अर्गनाइजेसनको सहयोगमा आयोजना गरेको खामोसी डेफ बोल्न तथा सुन्न नसक्ने व्यक्ती विच गरिने यो प्रतियोगिता विश्वमा अन्त कतै आयोजना नहुने भारतिय मिडिया जागरणले उल्लेख गरेको छ । २०२१ मा आयोजना भएको यो कार्यक्रम प्रतियोगिताको पाँचौ संस्करण हो ।

को हुन् हेवन ?
२० बर्षिया हेवन उपाध्याय बझाङ जिल्ला तलकोट गाउँपालिका–४ का रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी छोरी हुन् । उनी जन्मजात बोल्न र सुन्न नसक्ने सक्दीनन । ५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् । बोल्न र सुन्न नसक्ने भए पनि हेवनमा शैक्षिक ज्ञान मात्रै लेखन अन्य सिर्जनात्मक कलामा पनि निर्पुण छिन ।

शिक्षक पेशामा कार्यरत पिता रमेश र स्वास्थ्यकर्मी आमा शान्ती एक मात्रै छोरीमा परिवार नियोजन गर्ने बझाङकै पहिलो जोडी हो । छोराको चाहानामा दर्जनौ सन्तान जन्माउने बझाङ जस्तो ठाउँमा अपांगता भएका सन्तानलाई पनि उचित माया ममता र शिक्षा दिक्षा दिन सके छोरा र सवलाङग व्यक्ती भन्दा राम्रो काम गर्न सक्छन भन्ने सन्देश दिनका लागि थप सन्तान नजन्माएको यो दम्पतीको भनाई छ ।

‘पढाईमा मात्रै होइन, अतिरिक्त क्रियाकलापमा पनि छोरीले हामीले सोचे भन्दा राम्रो गरिरहेकी छिन’ हेवनका बुवा रमेसले भने ‘छोरीको प्रगतीले हाम्रो परिवारको शिर गर्वले उचो भएको छ । अपांगता भएकी छोरी मात्रै हुदा पनि परिवार नियोजन गरे भनेर हाम्रो कुरा काट्नेहरुका लागि छोरीले कामबाट जवाफ दिइरहेकी छिन् ।’

कक्षा ११ मा अध्ययनरत हेवनको मोडलिङ गर्ने र समाज सेवा गर्ने उद्देश्य रहेको आमा शान्ती अवस्थीले बताइन । ‘छोरीको उद्देश्य पुरा गर्न र उनलाई स्थापित गर्नका लागि नै हाम्रो जिवन पनि सर्मपित गर्ने सोच बनाएका छौ’ उनले भनिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *