ठेकेदारलाई मस्ती: जनतालाई सास्ती

अर्थ बझाङ समाचार

मकरराज धामी

बझाङ । साइपाल गाउँपालिकाको इंगलद्वार नदीमा ठेक्का सम्झौता भएको पाँच बर्ष वितिसक्दा पनि झोलुङे पुल अझै बन्न सकेको छैन । नदी तर्ने क्रममा बर्सेनि मानिसले ज्यान थाले पछि २०७३ मंसिरमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडार परियोजनाल पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइ भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरि ठेकेदार कम्पनी हरि निर्माण सेवा प्रालि संग सम्झौता भएको थियो । लामो समय सम्म काम सुरु नभएपछि गत बर्ष व्यापक जनदवावमा निमार्ण कम्पनिले हेलिकप्टर मार्फत झोलुंगे पुल निर्माणको लागि लठ्ठा, फलामे सामान र सिमेन्टलगायत सम्पूर्ण सामानहरू निर्माण स्थलमा पु¥याएको थियो । गत वर्षको भदौमा निर्माण सामग्री निर्माण स्थल पु¥याएको ठेकेदार कम्पनीका प्रमुख प्रकाशजंग शाहले गत वर्षको असोजभित्रै काम सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएका थिए । तर सम्झौता भएको पाँच बर्ष वितिसक्दा पनि अझै झोलुङे पुल अझै बन्न सकेको छैन । पुलको एकतर्फको पर्खालको आधा काम गरेर ठेकेदार सम्पर्क विहिन बनेका छन ।

दश बर्षसम्म पुल नबने पछि तल्कोटमा बनाईएको काठेपुल ।

यहि बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाजका लागी ओहोरदोहोर गर्ने गरेका छन । नदी ठूलो भएको र वारपारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर खोला तर्ने वा काठको साँधु प्रयोग गरेको साईपालका दिपक बोहराले बताए । हेलिकप्टरबाट सामान ढुवानी हुँदा पुल बन्ने भयो भनेर खुसी भएका साईपालवासी पुल नबन्दा काठको साँधुमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको उनको भनाई छ । पुल नभएका कारण यो खोला तर्ने क्रममा पाँच वर्षमा ७ जनाले ज्यान गुमाइसकेका छन । गत बर्ष दुई÷चार दिन काम गरेर निमार्ण सामाग्री पारि ठेकेदार सम्पर्क विहनि बनेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । उनले भने मैले पुल निमार्णको काम छिटो गर्न बारम्बार आग्रह गरेको थिए । पहिले त हुन्छ समयमै सक्छु । काम भईरहेको छ भन्थे । अहिले त फोन गर्दा पनि उठाउँदैनन् । यो नदी तर्ने क्रममा बर्सेनि मानिसहरूको ज्यान गुमाउने गरेको र अब हुने अप्रिय घटनाको जिम्मेवार ठेकेदारले हुनुपर्ने उनको भनाई छ ।

हिउँदमा धुलाम्मे बर्खामा धुलाम्मे हुने जयपृथवी राजमार्ग । फोटो/साइपालखवर

तल्कोट गाउँपालिकाको देवसैनमा सेती नदीमा पक्की पुल निमार्णका लागी २०६८ सालमा ठेक्का सम्झौता भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको काम पनि हाल सम्म सुरु हुन सकेको छैन । यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का निमार्णको अवधि भने नवीकरण गरि रहेको छ । राजनैतिक संरक्षणका कारण ठेकेदारले निमार्ण कार्यमा ढिलाई गर्ने गरेको स्थानियहरुको आरोप छ । तमैलमा निमार्ण हुन लागेको पक्की पुल, केदारस्युँ गाँउपालिकाको नारुगौडामा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् । तमैलमा निर्माणाधिन पुलको पनि गएको पुसमा सम्झौता अवधि सकिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने सर्तमा के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरि ठेक्का पाएको थियो । निमार्ण कार्यको समायावधि सकिँदा पनि पुलको निमार्ण कार्य सम्पन्न भएको छैन ।
जयपृथ्वी राजमार्गको स्तरोन्तीका लागी सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम र सडक क्षेत्र विकास आयोजना अन्र्तगतका कार्यक्रम बाट करोडौ रकम खर्च गरेको छ । यति धेरै रकम खर्च गर्दा पनि सडकको अवस्था भने परिवर्तन भएको छैन । ठेकेदार कम्पनिले गुणस्तरहिन काम गर्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृती निमार्ण सेवा, ग्वाल्लेक निमार्ण सेवा र जलजला निमार्ण सेवाले सडक स्तरोन्तीको ठेक्का लिएका छन । अहिले राजमार्गको बागथला देखि चैनपुर सम्मका सडकमा भएका खाल्डा पुर्ने, मोडहरु फराकिलो गर्ने र केहिस्थानमा कालोपत्रे गर्ने काम सकिएपनि ठेकेदार कम्पनिले गरेको काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो समस्या भएको बझाङवासीको आरोप छ । सडकको स्तरोन्तीका लागी बजेट विनियोजन हुने गरेको भए पनि ठेकेदार कम्पनिको लापरवाहिका कारण समयमै सडकको स्तरोन्ती हुन सकेका नसक्दा सास्ती खेपिरहनु परेको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको अवस्था पनि उस्तै छ । सदरमुकाम चैनपुर देखि रुपातोला सडकलाई चौडा बनाउन २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको भए पनि निमार्ण कार्यले गति लिन सकेको छैन । सडक निमार्णका लागी दुई खण्डमा काम भईरहेको छ । बझाङ सदरमुकाम चैनपुर देखि तल्कोट गाउँपालीकाको रुपातोला सम्म १८ किलो मिटर मा लुम्बिनी र राजेन्द्र निर्माण सेवा र रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक खण्डमा स्वच्छन्द नागार्जुन जेभी कम्पनी ले काम गरिरहेको छ । दुई खण्डमा निमार्ण कार्य भैरहेको भए पनि सडकको भौतिक प्रगति सन्तोषजनक छैन । २२ करोडको लागतमा काम गर्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधनहरू सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो । ट्रयाक खोल्ने क्रममा कडाखालको चट्टान लागेकोले मेसिनले काम गर्न सक्ने अवस्था नभएको र विस्फोटक पदार्थ आवश्यक भएकाले निमार्ण कार्यमा केही ढिलाइ भएको ठेकेदार कम्पनीको भनाई छ ।

ठेकेदार कम्पनिको लापरवाहिका कारण बझाङमा हुने विकास निमार्णका काममा ठेकेदारलाई मस्ती र जनतालाई सास्ती हुने गरेको छ । ठेक्का लिने र समयमा काम नगरि ढिला सुस्ती गर्ने र राजनैतिक पहुँचका कारण म्याद थप गरि निमार्ण कार्य अलपत्र पार्ने गरेका कारण यो अवस्था आएको हो । जिल्लामा भईरहेका निमार्ण कार्यमा ठेकेदार कम्पनिको भुमीका सन्तोषजनक नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । उनले भने “कतिपय अटेरी गर्ने ठेकेदारको भुक्तानी रोक्का गर्न पत्र पठाएको थिए । अधिकांस ठेकेदारको भुक्तानी रोकिएको छ । देवसैन पुल निमार्णको ठेकेदारले पुलको सामान ढुवानी गरेर रकम भुक्तानी गर्न खोजेको भएपनि तत्कालै पत्र पढाउदा रोकिएको छ । नारुगौडामा पुल र जयपृथ्वी राजमार्ग स्तरोन्नतीको कामको पनि भुक्तानी रोकिएको छ । अरु भन्दा पनि समन्वयका लागी कार्यालयहरु टाढा हुँदा समस्या भएको छ । त्यसैमा ठेकेदारहरुको राजनैतिक पहुँचका कारण पनि असहज भएको छ । बर्षेसन ठेक्का नविकरण गर्दै बस्ने प्रवृतिका कारण यस्तो अवस्था आएको छ । तुरुन्तै काम गर्न भनेको छु ।” बझाङमै आयोजनाका कार्यालय नहुँदा पनि ठेकेदारहरुले लापरवाहि गर्ने गरेका छन । आयोजनास्थलको स्थलगत अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई निर्देशन समेत दिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *