सत्यराज सिंह,
बझाङ । भालुको आक्रमणबाट बझाङका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ५ तीतानीका ७३ वर्षीय वृद्ध पदमराज जोशी रहनुभएको छ । उहाँलाई असोज २९ गते बिहान ४ बजे घरबाहिर सौच गर्न गएका बेला भालुले आक्रमण गरेको हो ।
२९ गते बिहान ४ बजे उहाँको टाउको, अनुहार र शरिरमा आक्रमण गरि गम्भीर घाइते बनाएकोमा ३१ गते मात्रै आफन्तले थाहा पाएका थिए । डिलबगरको टुप्पो तितानी लेकमा रहेको छानामा गोठालोमा रहनुभएको जोशी घर नफर्केपछि मात्रै आफन्तले सोधीखोजी सुरु गरि थाहा पाएका थिए ।
घाइते जोशीलाई आइतबार जिल्ला अस्पताल ल्याइएको र अस्पतालमा उपचार हुन नसकेपछि सोमबार उहाँलाई धनगढी रेफर गरिएको थियो । केदारस्युँ १ नारुगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा घाइते जोशीलाई पुनः जिल्ला अस्पताल फर्काइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।