एनआरएन अष्ट्रेलियाद्धारा बझाङका विपद पिडितलाई राहत

प्रवास समाचार

साइपाल खवर
बझाङ– कार्तिक पहिलो साताको बेमौसमी बर्षा पछि आएको बाढी र पहिरोमा परेर घरबार विहिन भएका बझाङका विपद पिडितलाई गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले राहत दिएको छ । एनआरएन अष्ट्रेलियाले बझाङको खप्तडछान्ना र जयपृथ्वी नगरपालिकाका पिडितहरुलाई राहत प्रदान गरिएको हो ।
विपद पछि समस्यामा परेका खप्तडछान्ना गाउँपालिकाका ३२ परिवार पिडितहरुलाई क्षतिको अवस्था हेरेर दुइ हजार देखी नौ हजार सम्म नगद रकम र सबै पिडित परिवारलाई न्यानो ओडने (ब्लाङकेट) र ओच्छ्याउने (म्याट्रेस) उपलब्ध गराइएको हो । यस्तै जयपृथ्वी नगरपालिकाका ४२ परिवारलाई प्रति परिवार ५० किलो चामल र न्यानो व्लाङकेट राहत स्वरुप उपलब्ध गराइएको हो ।
बझाङमा कार्यरत स्थानिय गैर सरकारी संस्था सामाजिक विकास केन्द्र नेपाल मार्फत उक्त राहत पिडितहरुलाई वितरण गरिएको थियो । खप्तड छान्ना गाउँपालिकाका वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष जानकी रोकाया, पालिकाका अधिकृत निरज प्रशाद रेग्मी र नागरिक समाजका अगुवा कलक खत्री लगायतको उपस्थितीमा पिडितहरुलाई राहत वितरण गरिएको थियो भने जयपृथ्वी नगरपालिकाका वडा नं १, मा वडा अध्यक्ष गगन बहादुर सिंह र पत्रकार महासंघ बझाङका पुुर्व अध्यक्ष जगदिस रोकाया लगायतको उपस्थितीमा राहत वितरण गरिएको अध्यक्ष गौरी चन्दले जानकारी दिइन ।
एनआरएन अष्ट्रेलियाले पठाएको ४ लाख १४ हजार र सामाजिक विकास केन्द्र नेपालको ५० हजार गरी चार लाख ६४ हजार रकम बरावरको राहत पिडितलाई दिइएको अध्यक्ष चन्दले बताईन । विपदमा परिवारका सदस्य गुमाएका, घरबार विहिन भएका, जग्गा बगेर सुकुम्बासी भएका, घर जोखिममा परेर पनि कुनै राहत नपाएका एकल महिला, हलिया, असाहाय र अपाङगता भएका व्यक्तिीहरुलाई उक्त राहत वितरण गरिएको चन्दले जानकारी दिइन ।
अष्ट्रेलिया रहेका नेपालीहरु र त्यहाँ कार्यरत नेपाली संघ संस्थाहरुबाट बझाङका विपद पिडितहरुका लागि सहयोग संकलन गरिएको एनआरएन अष्ट्रेलियाकी सचिव सन्ध्या शाहले बताईन । ‘नेपालमा कुनै पनि मानविय समस्या पर्दा एनआरएन अष्ट्रेलियाको पहलमा यहाँ रहेका नेपालीहरुले सहयोग गर्दै आउनु भएको छ ।’ सचिव शाहले भनिन ‘बझाङमा पनि ठुलो मानविय र भौतिक क्षती भएको थाहा पाए पछि पिडितहरुलाई केही सान्त्वना मिलोस भनेर सहयोग संकलन गरेर पठाएका हौं’ उनले गैर आवासिय नेपालीहरु पनि नेपालीहरुको पिडामा सँगै छौ भनेर सान्त्वना दिने उद्देश्यले राहत रकम पठार्ईएको बताईन ।
विपदमा परेर घर जग्गा विहिन भएका तर हाल सम्म कुनै पनि राहत नपाएका पिडितहरु नगद, बन्दोवस्तीका सामान र खाद्यान्न पाए पछि सहयोगीहरुलाई धन्यवाद दिएका छन । बाढी पहिरोमा परेर सुकुम्बासी भएको अवस्थामा पनि सरकारले नहेरेको तर सात समुन्द्र पारीका नेपालीले सम्झेको बताउदै जयपृथ्वी नगरपालिका १, की एकल महिला चन्दा ओखेडाले भनिन ‘विहान साँझ खाने र जाडोमा राम्रो ओढ्ने लुगा पनि थिएन । यहाँ हाम्रो समस्या सुनिदिने पनि कोही छैन । एक डेढ महिना भए पनि ढुक्कले खान पाइने भयो । सहयोगीहरुको जय होस’

Leave a Reply

Your email address will not be published. Required fields are marked *