मकरराज धामी, बझाङ
बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार देखि मौसममा आएको परिवर्तन संगै सुदुरपश्चिमका पहाडि जिल्लामा भारी हिमपात भएको छ । सुदुरपश्चिममा आईतबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित भएको छ ।
सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भयको स्थानीयले बताएका छन । गत वर्ष मंसिरमै हिमपात भएको भए पनि यस वर्ष ढिला गरि हिमपात भएको छ । बझाङको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ ।
हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं १ का बिर्ख बोहराले बताए । उनले भने, ‘गाँउमा २ फिट भन्दा बढी हिँउ परेको छ । एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन । दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।’ विगतका वर्षहरुको भन्दा यस वर्ष चिसो अत्यधिक बढेका कारण चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको बोहराको भनाई छ ।
हिमपातका कारण यातायात सेवा प्रभावित
हिमपातका कारण पहाडि जिल्ला बाट प्रदेश राजधानी संगै अन्य ठाँउ संगको यातायात सम्बन्ध टुटेको छ । डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण पहाडि जिल्ला भित्रने बाहिरिने सावरी साधनहरु बाटोमै रोकिएका छन । सुदुरपश्चिम प्रदेशको राजधानी धनगडी र महेन्द्रनगर बाट पहाडि जिल्लाका लागि छुटेका रात्रीकालिन सेवाका बसहरु बाटोमै रोकिएका छन । बैतडीको खोडपे, डडेल्धुराको अनारखोली र अन्य ठाँउमा भयको हिमपातले बझाङ बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भयको जिल्ला प्रहरी कार्यालय बैतडिका सुचना अधिकारी प्रहरी निरीक्षक दर्शन खडकाले बताए ।
हिमपातका कारण संचारमाध्यम र टेलिफोन सेवा अबरुद्ध
हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ । शनिबार देखि नै बेला बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराले बताए ।
घाम नलाग्दा पहाडि जिल्लाका एफ एफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भयको छ । रिले स्टेशनमा बिधुत सेवा नहुदा सौर्य उर्जाका भरमा प्रसारण भईरहेका एफ एफहरुको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भयको छ । तीन दिन देखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुदा सेवा प्रभावित भयको जयपृथ्वी एफ एम बझाङका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने ‘तीन दिन देखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुन सकेको छैन । रिले स्टेशनमै भारी हिमपात भयको छ । सौर्य उर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याईएको छ ।’ दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर विहान ५ घण्टा र साँझ ५ घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाई छ ।