मकरराज धामी, बझाङ । विहिबार दिउँसो देखिको निरन्तरको हिमपातका कारण सुदूरपश्चिमको पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । मौसममा आएको परिवर्तनसँगै बिहीबार अपरान्हदेखि बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलामा सुरु भएको हिमपात अझै रोकिएको छैन । हिमपातका कारण सुदुरपहाडका विभिन्न जिल्ला जोडने राजमार्ग क्षेत्रमा भारी हिमपात भएपछि सवारी आवागमन रोकिएको छ । हिमपातले राजमार्ग अवरुद्ध हुँदा धनगडी बाट पहाडी जिल्लाका लागी छुटेका दिवा तथा रात्री सेवाका यातायातका साधन बाटोमै रोकिएका छन ।
बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ दार्चुला जोडने महाकाली राजमार्ग र डडेल्धुरा, खोडपे जोडने दशरथचन्द राजमार्ग, धनगडी–डडेल्धुरा जोडने भिमदत्त राजमार्ग, स्याउले– दिपायल जोने डा. केआई सिंह राजमार्ग, अछाम र बाजुरा जोने पहलमानस्वार राजमार्ग लगायतका अन्य पहाडी राजमार्ग अवरुद्ध बनेका छन । हिउँ पर्ने क्रम जारी रहेको र बाटो खोल्ने प्रयास नहुँदा यात्रुहरु विच बाटोमै अलपत्र परेका छन । राजमार्ग बन्द हुँदा बैतडी, बझाङ र दार्चुलाका लागी छुटेका सवारी साधन खोपेमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक दर्शन खडकाले बताए ।
डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको वित्थड, देउलेक क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण सुदुर पहाडमा विधुत तथा संचार सेवा पनि अवरुद्ध भएको छ । विधुतका पोल ढलेर पहाडी जिल्लामा विधुत सेवा पनि अवरुद्ध भएको छ । हिमपात र बर्षातका कारण जिल्लाको टेलिफोन सेवा,बिद्युत सेवा तथा ईन्टरनेट सेवा समेत पूर्ण रुपले अवरुद्ध भएपछि जिल्लाको जनजिवन अस्तब्यस्त भएको हो । पहाडी जिल्लाबाट प्रसारण हुने एफ.एम रेडियोको प्रसारण सेवा पनि अवरुद्ध बनेको छ ।
रिलेस्टेशनमा घाम नलाग्दा सौर्य उर्जा मार्फत व्याट्री चार्ज नहुँदा रेडियोको प्रसारण सेवा अवरुद्ध बनेको सामुदायिक रेडियो प्रसारक संघ सुदुरपश्मि प्रदेशका अध्यक्ष जगत खडकाले बताए । बझाङ सदरमुकाम चैनपुरमा पनि यस बर्ष हिँउ परेको छ । हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको साइपाल गाउँपालिकाका दिपक बहादुर बोहराले बताए । गाँउमा ३ फिट भन्दा बढी हिँउ परेकोले एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन । दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । विगतका वर्षहरुको भन्दा यस वर्ष चिसो अत्यधिक बढेका कारण चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको बोहराको भनाई छ ।