जयपृथ्वी साक्षर नगर घोषणा हुँदै

बझाङ समाचार सुदुरपश्चिम

सत्यराज सिंह बझाङ । बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकालाई भोलि (बुधवार) साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा नगर क्षेत्रका विभिन्न वडाको अनुगमन गरिएको छ ।

दुई बर्ष अघि जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा अनुगमन टोली गठन गरी १८ जना सहजकर्ता तोकेर गाउँमा डाँटा संकलन गरिएको थियो । प्रगतिशील युवा समाज र नगरपालिकाको साँझेदारीमा साक्षरता अभियान चलाएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रका ११ वटै वडामा गएर केही घरधुरीमा अन्तिम अनुगमन गरेर निरक्षरहरुको नामावली संकलन गरिएको थियो । पछिल्लो अनुगमनका क्रममा ९५ प्रतिशत भन्दा बढीले लेखपढ गर्न सक्ने अर्थात् साक्षर व्यक्ति पाइएको नगरपालिकाका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए ।

अनुगमनमा घरधुरी, घरको मूली, परिवार सदस्य संख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्ष मुनिको उमेर समूह तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति लगायतको विषयमा सर्वे फारमसमेत भरिएको बताइएको छ ।

सरकारको मापदण्ड अनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था छ । सो मापदण्ड अनुसार जयपृथ्वी नगरपालिकामा साक्षर व्यक्ति ९५ प्रतिशत बढी रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जयपृथ्वी नगरपालिकाका प्राविधिक सहायक देविन्द्र जोशीले बताए ।

उनका अनुसार नगरपालिकाकामा करिब १ हजार ५ सय निरक्षर व्यक्तिहरुको डाटा संकलन भएपछि साक्षरता सहजकर्ताहरु पठाएर दुई बर्षसम्म नगरपालिकाका वडा तथा टोलहरुमा साक्षरता कार्यक्रम संचालन गरिएको थियो । त्यसपछि नगरपालिका साक्षर घोषणा गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *