सत्यराज सिंह बझाङ । आगामी आर्थिक वर्ष २०७९÷०८० लागि बझाङका १२ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ ।
मन्त्रालयले बझाङ जिल्लाका १२ स्थानीय तहलाई पनि एकीकृत बस्तीको लागि स्थान छनोट गर्न पत्राचार गरेको छ । एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्न १० दिनभित्र स्थान पहिचान गरी पठाउन पालिकाहरूलाई निर्देशन दिइएको छ । एकीकृत बस्ती विकास गर्नको लागि स्थानीय तहले पठाएको स्थान उचित हुने, नहुने विषयमा अध्ययन गर्नुपर्ने भएकोले आगामी आर्थिक वर्षको योजनाका लागि अहिले नै पत्राचार गरेको हो । मन्त्रालयले बझाङ सहित देशभरका ११ जिल्लाका ८८ स्थानीय तहलाई एकीकृत बस्तीको लागि स्थान छनोट गर्न पत्राचार गरेको छ ।