बझाङ- पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न बझाङ आउने भएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी बझाङले चैत २८ गते सदरमुकाम चैनपुरमा आयोजना गर्ने बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङ आउने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य, बझाङ जिल्ला सह–इन्चार्ज तथा पुर्व अनेरास्ववियु अध्यक्ष ऐन महरले जानकारी दिएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी बझाङको आइतबार बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्लास्तरीय बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।
सोमबार सम्पन्न नेकपा एमाले जिल्ला कमिटी बझाङको ३७ औँ पुर्ण बैठकले चैत २८ गते सदरमुकाम चैनपुरमा उक्त कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी बझाङका अनुसार ओलीसँगै केन्द्रिय कमिटी सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थाइकमिटी सदस्य तथा सह इन्चाज कर्ण बहादुर थापा, केन्द्रिय सदस्य, बझाङ जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य भैरव बहादुर सिंह, केन्द्रिय सदस्य तथा सह इन्र्चाज अफिलाल ओखेडा, केन्द्रिय सदस्य, बझाङ जिल्ला सह इन्चार्ज तथा पुर्व अनेरास्ववियु अध्यक्ष ऐन महर,नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज आशा कुमारी विक र नेकपा एमाले सुदुरपश्चिम प्रदेशकमिटी अध्यक्ष दामोदर भण्डारी आउने भएका छन् ।
उक्त कार्यक्रम व्यवस्थापनका लागी प्रचारप्रसार उपसमिती लगाएत ११ वटा उपसमितीहरु गठन गरी जिम्मेवारी समेत दिइएको छ ।