साइपालखवर, बझाङ । जयपृथ्वी नगरपालिकाका दुई वटा वडाले आफ्नै भवनबाट सेवा दिन थालेका छन् । वडा नं. १ कैलाश र २ र्मोतोलीको वडा कार्यालय भवन निर्माण भएपछि सेवा सुरु गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्र बहादुर खड्काले भवनको उद्घघाटन गरे । यसअघि स्वास्थ्य चौकीका पुराना भवनबाट सेवा प्रवाह गर्दैँ आएका वडाले नवनिर्मित भवनको उद्घघाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका हुन् ।
स्थानीय तहको सरकार बने लगतै स्वास्थ्य चौकीका जिर्ण भवनहरुलाई मर्मत गरेर सेवा प्रवाह थालिएको थियो । जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगन बहादुर सिंहले आफ्नै भवनबाट सेवा दिन पाउनुलाई अवसरका रुपमा लिएको बताए ।
जयपृथ्वी नगरपालिका–१ कैलाशमा १ करोड ५० लाख र जयपृथ्वी नगरपालिका–२ र्मोतलीमा १ करोड ५० लाख गरी दुबै वडाका भवन ३ करोड ५० लाख लागतमा निर्माण गरिएका हुन् । भवनमा हलसहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष, दर्ता,चलानी, महिला, पुरुष शौचालयसहित आधुनिक भवन निर्माण गरिएको वडानम्बर २ का वडाध्यक्ष शुक्रराज जोशीले बताए ।
अध्यक्ष जोशीले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालनमा सहज हुनुका साथै वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरे । जोशीले विकासका पूर्वाधार निर्माण कार्यलाई तीव्रताकासाथ अगाडी बढाएको र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको बताए ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्काले वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गदैँ नगरपालिकालाई समृद्ध बनाउन आफू र आफ्नो टिम लागि परेको बताए ।
वडा भवन उद्धघाटन कार्यक्रममा जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्री, नेकपा एमालेका जिल्ला कमिटी सहसचिव सुरत बहादुर सिंहसहितका अतिथिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको सहभागिता रहेको थियो ।