बझाङ-शुक्रबार बिहान आठ बज्न नपाउँदै बझाङको सदरमुकाम नजिकै रहेको भोपुरको सत्यवादी माविको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो ।
खुल्ला आकासमुनी चर्को घाममा बसेर लिखित परीक्षा दिई म्यादीमा जागिर खान स्थानीय तम्सिएका थिए । बिहानै सुरु गर्ने भनिएको लिखित परीक्षा विहान १० बज्दा चर्को घाम लागिसकेको थियो । झन्डै १ हजार ६ सय ४० जनाले लिखित परीक्षामा भाग लिएपछि प्रहरीलाई चौरमै परीक्षार्थीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
स्थानीय निर्वाचनका लागि मतदानस्थलमा सुरक्षार्थ खटाइने म्यादी प्रहरी मागेको भन्दा करिब ५ सय बढीले आवेदन दिएपछि प्रहरीले भर्ना छनौट प्रक्रियालाई समेत कडाई गरी छनौट अगाडी बढाएको थियो । जिल्लाबाट १ हजार ९३ जना म्यादी प्रहरी भर्ना गर्न आवेदन खुल्ला गरिएको भएपनि १ हजार ६ सय बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म्यादी प्रहरीका लागि सेटअप, पुसअप मेडीकलजाँच लिखित मौखिक परीक्षा उर्तिण गर्नुका साथै शारीरीक परीक्षण समेत गरिने छ । परीक्षा पास गर्ने अब्बल र योग्य व्यक्ति मात्र म्यादी बन्ने निश्चित छ । मागिएको भन्दा करिब ५ सय बढीले आवेदन दिएकाले पनि सक्षम छनौट हुनेमा कुनै शंका छैन ।’ चर्को घाममै सेटअप पुसअपबाट उर्तिण भएका युवायुवतीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङले भोपुरमा रहेको सत्यवादी माविको खुल्ला चौरमै लिखित परीक्षा दिने व्यवस्था मिलाएको थियो ।
लाइनबद्ध राखेर प्रहरीले प्रश्नपत्र दिएर परीक्षा गराएको हो । ठूलो संख्यामा आवेदन परेपछि प्रहरीले सबै प्रक्रिया पुरा गरेर छनौट गर्ने भनेपछि लिखित परीक्षा दिन चौरमै स्थानीय उपस्थित भएका हुन् । थोरै समयमा पैसा र प्रहरी सरह सुविधा पाउने भएपछि स्थानीय युवा मात्र नभएर वृद्ध देखिने पुरुषहरूको समेत आवेदन परेको थियो । ५० वर्षदेखि माथिका पुरुषले पनि आवेदन दिएर परीक्षामा सामेल भएको प्रहरीले जनाएको छ ।
झन्डै १ महिनामै ४४ हजार रुपैँयाभन्दा बढी पैसा हात पर्ने भएपछि स्नातक उर्तिण गरेकासम्मले आवेदन दिएर म्यादी बन्ने इच्छा देखाएका हुन् । बेरोजगारी समस्या ठूलो छ एक स्थानीयले भने १ महिनाको लागि भएपनि जागिर खुलेकाले शिक्षित युवाहरु पनि आकर्षित भएका हुन् । निर्वाचनको मिति नजिकिएकाले छोटो समयमै दिन रात नभनी प्रहरी प्रशासन खटेर म्यादी प्रहरी भर्ना छनौट गरिरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।
म्यादी प्रहरीको लिखित परीक्षा निरीक्षण गर्न बिहानै खुल्ला चौरमै पुग्नुभएको प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाबाट गर्नुपर्ने तयारीका लागि आफुहरु तिब्र रुपमा खटेको बताउनुभयो ।