बझाङ-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनौटमा परेका छन ्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका – ९ झोता बजारमा रहेको भैरव माध्यमिक विद्यालय कार्यक्रमका लागि छनोटमा परेका छन।
छनौटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ । यी दुबै विद्यालयमा प्राविधिक तर्फको कृषि र पशुपालनको पढाई हुने गरेको छ ।
पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनौटमा परेको जानकारी दिदै जालपा माध्यमिक विद्यालयका प्रधानाध्यापक उतम मल्ले कार्यक्रमका प्रावधान अनुसार व्यवहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताए। उनलेभने, ‘विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नमा कार्यक्रमले सघाउने उद्देश्य लिएका छौं । यस कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई पढन र सिक्नका लागि थप हौसला थपिने अपेक्षा गरेका छौं ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो । केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनौट गरेको हो । कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ । छनौटमा परेका विद्यालयलाई सशर्त अनुदान अन्र्तगत वित्तिय हस्तान्तरण भै स्थानीय तह मार्फत अनुदान रकम विद्यालयको खातामा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेखित कार्य प्रकृया बमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ । विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोश्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलव्ध गराइने छ ।