बझाङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई पाँच वटा बाख्राको उपमा दिएका छन् । उनले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै बैशाख ३० गतेको चुनावमा गठबन्धनको हैसियत देखाइदिने बताए ।
उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँ भए भैसी जत्रो हुँदैन होला ।’ बझाङ सदरमुकाम चैनपुरमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जति गठबन्धन गरेपनि एमालेसँग चुनाव लड्न सक्नुहुन्न, खुसुक्क एमालेसँग मिलेर केही सिट फुत्काए हुन्छ ।’
अध्यक्ष ओलीले अहिले गठबन्धनको हालत रिसाएको बिरालो जस्तो भएको भन्दै ब्यङग्य गरे ।
‘मैले पहिले पनि भन्ने गरेको थिए, रिसाएको बिरालोले खाबो चिर्तोछ, अहिले उहाँहरुको हालत त्यस्तै भएको छ । एमालेसँग रिसाएर गर्भनरलाई बर्खास्त गर्नुभयो ।’उनले एमाले प्रतिपक्षमा भएका बेला मन्त्री, राजदूत नियुक्त नगर्ने भएपनि सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेको दाबी गरे ।
ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको र त्यसमा बहाना खोजिरहेको बताए । उनले आफूलाई अजम्बरी सरकार नसोच्न र एमालेले चाहेमा सात दिनमै सरकारको जरै उखेल्न सक्ने बताए । उनलेभने, ‘यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’