साइपालखवर बझाङ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एकीकृत समाजवादी पार्टीले बझाङका चार पालिकामा दावी गरेको छ । १२ वटा पालिका रहेको बझाङ नेकपा एकीकृत समाजवादी पार्टीले दुई नगरपालिका सहित अन्य दुई गाउँपालिकामा प्रमुखको दावी गरेको छ । गठबन्धनमा चुनावमा जाने केन्द्रीय निणर्यपछि नेकपा एसले बझाङका चार पालिकामा आफ्नो दावी गर्दै आएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकामा आफुले प्रमुखको जिम्मेवारी पाउनु पर्ने बताउदै आएको छ । त्यसैगरी केदारस्यूँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकामा पनि उसले आफ्नो दावी गरिरहेकोको छ । जयपृथ्वी नगरपालिका, केदारस्यूँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले जित हात पारेको थियो । तर अहिले केदारस्यूँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका नेकपा एकिकृत समाजवादीले नेतृत्व गरिरहेको छ ।
बुंगल नगरपालिकामा भने तत्कालिन नेकपा एमालेका उम्मेद्वार धनबहादुर बोहरा नेपाली काँग्रेसका धनबहादुर विष्टसँग पराजित भएका थिए । अहिले बोहरा नेकपा एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष रहेका छन् । पहिलो निर्वाचनमा हार व्यहोरेको भएपनि यस पटक फेरी पनि नेकपा एकीकृत समाजवादीले बोहरालाई नै बुंगल नगरपालिकाको मेयरमा अघाडी सार्ने योजना बनाएको छ ।
तर गठबन्धनमा रहेका दलले नेकपा एसले रोजेका पालिकामा सहजै नेतृत्व गर्ने दिने सम्भावना भने न्युन रहेको छ । अघिल्लो स्थानीय निर्वाचनमा थोरै मतले हार व्यहोरेको नेपाली काँग्रेसले जयपृथ्वी नगरपालिकामा आफ्नो दावी नछोड्ने देखिन्छ । त्यसैगरी नेपाली काँग्रेसका वलिया नेताको रुपमा रहेका नरेशबहादुर सिंहको पालिका बुंगलमा पनि नेपाली काँग्रेसले आफ्नो दावी नछोड्ने देखिन्छ । आफ्नो राजनितीक भविष्यका लागी भएपनि सिंहले नेपाली काँग्रेसले नै बुंगलको नेतृत्वका लागी अडान लिनसक्ने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।
यसैवीच केदारस्युँ गाउँपालिकामा पछिल्लो समय नेपाली काँग्रेस वलियो बन्दै गएको भएपनि पालिकाको नेतृत्वको लागी नेपाली काँग्रेसले र माओवादी केन्द्रले समाजवादीलाई नै सहमतीm दिनसक्ने आधार रहेको छ । तर छविसपाथिभेरा गाउँपालिकाको नेतृत्वका लागी नेकपा माओवादीले कुनैपनि हालतमा नछाड्ने बताएको छ । ०७४ सालको निर्वाचनमा दोस्रो भएको नेकपा माओवादीले यसपालि आफुले पालिकाको नेतृत्व गर्ने बताएको छ ।