साइपाल गाउँपालिकामा अध्यक्ष सहित चार वडाअध्यक्षका उम्मेदवार एमालेले सिफारिस गर्यो

बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ — नेकपा एमालले बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मानबहादुर बोहरालाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

बोहोरा गत निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र धामीसँग पराजित भएका थिए । ५८ मतको अन्तरले पराजित बोहराले ३ सय ३६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी धामी ३ सय ९४ मत ल्याएर विजयी भएका थिए । बोहरा र धामी दुवै जना साइपाललाई अलग्गै गाउँपालिका बनाउन स्थानीयले चलाएको आन्दोलनको नेतृत्वकर्ता हुन् । बोहरा उक्त आन्दोलनमा संयोजकको भूमिकामा थिए भने धामी सक्रिय सदस्यका रूपमा रहेका थिए ।

अध्यक्षसँगै चार वटा वडमा अध्यक्षको उम्मेदवार समेत सर्वसम्मत चयन गरिएको नेकपा एमाले साइपाल गाउँपालिका कमिटीका अध्यक्ष सुरेन्द्र बोहराले बताए । साइपालको वडा नम्बर–१ मा नरेन्द्र धामी, वडा नम्बर–२ मा जया बोहरा, वडा नम्बर–४ मा जोगी बोहरा र वडा नम्बर–५ मा जयपाल बोहरालाई छनोट गरिएको बोहराले बताए ।

पाँच वटा वडा रहेको यस पालिकामा उपाध्यक्ष र वडा नम्बर ३, को वडाध्यक्षको उम्मेदवारको भने टुंगो लाग्न सकेको छैन । उपाध्यक्ष पदमा डोल्मा तामाङ, गीता बोहरा र असौजी बोहरा र वडा नम्बर ३ को अध्यक्षमा फकिर बोहरा र गोरख बोहोराको दाबी छ । दुईभन्दा बढी आकांक्षी रहेकोले यी पदका लागि सर्वसम्मत गराउने प्रयासमा भइरहेको उनले बताए ।

यस्तै गाउँपालिकाको अध्यक्षको उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस पनि सघन छलफलमा रहेको नेपाली कांग्रेस साइपाल गाउँकार्यसमितिका अध्यक्ष राम बोहराले बताए । वर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र धामी, उज्जव बोहरा र कन्जु भन्डारी पालिका अध्यक्षमा दाबेदार रहेको र उनीहरूबीच सहमतिका लागि छलफल भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *