काठमाडौँ । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरूमा १६ हजार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको एक सर्भेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा सडक बत्ती आवश्यक भएको हो ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको हो ।
सडक बत्ती जडान, मर्मतसम्भार कार्य महानगरको बर्सेनि चलिरहने योजनाभित्र पर्छ । योजनालाई देखिने तथा महानगरवासीले अनुभव गर्ने तथा प्रभावकारी बनाउन चालू आर्थिक वर्षलाई ‘मेयर उज्यालो कार्यक्रम’ घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत महानगरलाई झिलीमिली बनाउन हालै सर्भेक्षण गरेको थियो । महानगरको सहरी पूर्वाधार विकास विभागको मातहतमा कुल ५ करोड लागतको उज्यालो कार्यक्रमलाई महानगरले महात्त्वकांक्षी योजनाकै रूपमा अघि सारेको छ ।
गएको पुस महिनामा सहरी विकास विभागका विभागले सबै वडामा विवरण उपलब्ध गराउन सूचना गरेका थिए । झन्डै डेढ महिनापछि वडाहरूबाट आएको विवरणअनुसार हालसम्म महानगरभित्र १ हजार ७ सय ४७ थान सडक बत्ती जडान भइसकेका छन् । जसमा ५० वाटका ७ सय ५० थान, ३० वाटका ७ सय ५८ थान र २४ वाटमा २ सय ३९ थान जडान गरिएका छन् ।
यसैगरी महानगरले वडा नं. २, ८, ९, १४, १६, १७, २६ र ३२ मा ५०, ३० र २४ वाटका १ हजार १ सय तीन थान सडक बत्ती जडान गरिसकेको छ । एम्बेसडर होटलदेखि सांग्रिला होटलसम्म लगायत भित्री सडकको गल्ली, गुहयेश्वरी, गौरीघाट क्षेत्र चोकदेखि दिव्य पार्टी प्यालेससम्म, बालाजु हाइट, टौडल मार्ग, म्हैंपी, वनस्थली, पेप्सीकोला प्लानिङलगायतका क्षेत्रमा जडान गरिएका छन् ।
यतिले मात्रै महानगरलाई उज्यालो बनाउन असम्भव हुने भएपछि वडाहरूमा आवश्यकता र स्थान पहिचान गरेर साढे १६ हजारको थान बत्तीको माग भइआएको प्रवक्ताले बताए । महानगरको १५ वडामा सबैभन्दा बढी १ हजार ७ सय ८८ थान सडक बत्ती माग भएको छ । ५० वाटको २३० थान र २४ वाटको १ हजार ५ सय ५८ थान माग भएको छ ।
हाल यहााका सडकमा २४ वाटका ३० थान मात्रै सडक बत्ती जडान गरिएका छन् । यसैगरी ३० वडामा ५० वाटको ८० थान माग भएको छ । यो सबैभन्दा कम माग हो । ‘वडाले महानगरमा माग गरेर पठाए पनि जडान गर्ने काम वडाले नै गर्छ, महानगरले बत्ती खरिद गरेर पठाउने हो,’ प्रवक्ता भन्छन् । योजनालाई वडा तहबाटै कार्यान्वयन गर्नका लागि आवश्यकता पहिचान, मागका काम पनि वडाले नै गरेका थिए ।
झिलीमिली काठमाडौं कार्यक्रमअन्तर्गत महानगरक्षेत्रभित्रका सडकहरूमा आवश्यक संख्यामा सडक बत्ती जडान गर्ने र हरेक घरले सार्वजानिक प्रयोगका लागि बाटोतर्फ बत्ती बाल्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उज्यालो मेयर कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्रमा महानगरभित्र सम्पूर्ण सडक, चोक, गल्लीहरूमा सडक बत्तीको व्यवस्था गरिसक्ने महनगरको लक्ष्य छ । कलंकीदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगन्ज, चक्रपथ, पुतलीसडकदेखि माइतीघर लगायत महानगरका मुख्य सडकहरूमा सडक बत्तीको व्यवस्था गरिसक्ने चालू आर्थिक वर्षको वार्षिक लक्ष्य छ ।
तर महानगरले लक्ष्यअनुरूप कार्यसम्पादनमा भने ढिलाइ भएको छ । उसले प्रथम चौमासिकमा आवश्यक स्थान पहिचान र लागत तयार गर्ने लक्ष्य बनाएको थियो । यसैगरी दोस्रो चौमासिकमा सूचना प्रकाशन सम्झौता, निर्माण कार्य सुरु गर्ने र तेस्रो चौमासिकमा सम्झौताबमोजिम कार्यसम्पन्न गर्ने योजना बनाएको थियो । दोस्रो चौमासिकको अन्त्यमा बल्ल आवश्यकता पहिचान गरेको छ ।
‘वडामा आवश्यकता, स्थान पहिचान गरेर विवरण पठाउन भनेका थियौँ, प्राविधिक कारणले गर्दा निक्कै ढिला गरी प्राप्त भए, यसले गर्दा लक्ष्यअनुरूपको प्रगति हुन सकेको छैन,’ मेयर विद्यासुन्दर शाक्यले बताए । कतिपय स्थानमा कुन प्रकृतिको बत्ती जडान गर्ने टुंगो लागेको छैन । माग भइआएका वडाका सडकहरूमा बत्ती जडान गर्न सडक विभाग र विद्युत् प्राधिकरणसँग चाँडै छलफल र सहकार्य गरेर काम अघि बढाउने उनले बताए ।