मेरो पार्टी नेकपा एमालेले मलाई जयपृथ्वी नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । म लामो समय यही राजनीतिक यात्रामा यात्रा गरिरहेको यात्री हुँ । केवल उम्मेदवार बनेर प्रतिष्ठा कमाउनका लागि म राजनीतिक यात्रामा हिँडेको मान्छे होइन, समाजको रूपान्तरण हुनुपर्छ र सामाजिक विकास हुनुपर्छ, भन्ने मेरो मान्यता रहेको छ ।
जनताको सेवा गर्ने चाहना छ र सेवा गर्ने मौका पाउनुपर्छ भन्ने मान्यताका साथ पार्टीमा दाबी पेस गरेँ र त्यहीअनुसार जयपृथ्वीको मेयरको उम्मेदवार बनेको छु । जनसेवाको भावनाबाट जनताको सेवा गर्ने अठोटका साथ मैले जयपृथ्वी नगरपालिकाको नगरप्रमखमा उम्मेदवारी दिएको छु ।
तपाइँको नाम ०७४ को स्थानीय तहको निर्वाचनमा नै चर्चामा थियो । त्यतिबेला टिकट नलिएर अहिले हार्ने बेला सुरतबहादुर सिंहले टिकट पाए भन्ने जनताको बुझाइ छ नि?
कुनै पनि इमान्दार कार्यकर्ताले पार्टीको विधि, पद्धति र निर्देशनअनुसार नै चल्ने पर्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नै मलाई मेयर बन्नुपर्थ्यो भन्ने जुन जनताको भनाइ छ, त्यो केही हदसम्म ठीकै हो । तर, हामीले पार्टीको निर्देशनलाई पनि त अस्वीकार गर्न सक्दैनौँ । फेरि पहिले टिकट पाएन र अहिले आएर टिकट पाए भन्ने कुरामा मलाई कुनै दुःख छैन । पार्टीले मलाई अहिले टिकट दिँदा म झन् खुसी छु ।
प्रसारप्रचारको दौरान जनतामा यहाँले कस्तो खालको एजेण्डा लिएर जानु भएको छ ?
राजनीतिको मूल मर्म भनेको सेवाभाव नै हो । अर्को कुरा समाज रूपान्तरण र सकारात्मक विकास नै राजनीति गर्नेहरूको उद्देश्य हुनुपर्छ । त्यसकारण मेरा तमाम सोचहरू छन् । खसगरी जयपृथ्वी नगरपालिकाको स्रोतसाधनले भ्याउनेगरी, नगरवासीसँगको सहकार्यमा म अगाडि बढ्छु भनेको छु । जयपृथ्वी नगरपालिकामा मलाई जनताले निर्वाचित गरेको खण्डमा योभन्दा अघिल्लो कार्यकालका जनप्रतिनिधिले गर्न नसकेका काममा मेरो निरन्तरता रहने छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, विद्युत्, खानेपानी, आयआर्जन, वन वातावरण, पर्यटन, सुशासनको क्षेत्रमा सुधार ल्याउनु नै मेरो ध्येय हुनेछ । विशेषतः जयपृथ्वी नगरपालिकामा पछाडि परेका र पछाडि पारिएका वर्ग, महिला, बालबालिका शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा सामाजिक विकासमा मेरो लगानी हुनेछ । वर्ग र पक्षको हितमा म बेसरी लाग्ने छु ।
अघिल्लो स्थानीय निर्वाचनमा पनि जयपृथ्वीमा एमालेको सरकार थियो । उनीहरूले केही गरेनन् भन्ने जनताको आरोप छ, यो विषयमा के भन्नु हुन्छ?
समाजमा केही सीमित मानिसहरूले व्यक्तिगत रूपमा होस् वा केही असन्तुष्ट पक्षहरूले केही पनि गरेनन् भन्ने नारा बनाउने गर्दछन् । तर, वास्तविक जनताले त्यसो भन्दैनन् । केही पनि भएन भन्ने कुरा होइन । धेरै चिज भएका छन् तर केही चिज हुन अझै बाँकी छ । जयपृथ्वीमा एमालेको सरकार भइरहँदा यो नगरपालिकाका प्रत्येक वडा र टोलसम्म सडक पुगेका छन् । राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।
अधिकांश विद्यालयमा भवनहरू बनेका छन् । स्वास्थ्य क्षेत्रमा वडास्तरमा स्वास्थय चौकी निर्माण भएका छन् । पहिलो कार्यकालमा जयपृथ्वी नगरपालिकामा विकासको जग हाल्ने काम भएको छ । जुन जग अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले हालेका छन्, त्यो जगमा हामी आएर तला थन्ने र त्यसलाई सिंगार्ने काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरवासीले तपाईंलाई पत्याउने आधार के हुन्?
मलाई लागेको कुरा के हो भने म विपन्न परिवार, कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मेको मान्छे हो । अहिले पनि मेरा जीवनस्तर कस्तो छ, यहाँका जनतालाई थाहा छ । अहिले पनि मलाई हेक्का छ एउटा भारी बोक्ने भरियाको पीडा कस्तो हुन्छ, भोको पेट परिश्रम गर्नेहरूको पीडा कस्तो हुन्छ ? खानेपानीका कारण विद्यालयमा समयमा नै नपुग्ने विद्यार्थीको पढाइमा परेको असर कस्तो छ ? एउटा स्टेचर नपाएर बाटोमा नै ज्यान गुमाउने आमाको पीडा हामीले बुझ्ने कि नबुझ्ने ? त्यो कुरा मलाई राम्रोसँग थाहा छ । मैले भोगेको छु । त्यस कारण जसले भोगेको छ, उसले केही गर्छ भन्ने जनताले बुझेका छन् । त्यसकारण मलाई जनताले पत्याउने छन् ।
अर्को कुरा म जयपृथ्वीका सम्पूर्ण नगरपालिकाका सम्पूर्ण नागरिकको सुझावबिना कुनै पनि काम नगरमा अगाडि बढाउने छैन । जनतको आवश्यकता र मागअनुसार नै मेरो नगरको यात्रा अघि बढ्ने छ । मेरा केही योजना र भिजन पनि छन् । ती योजना र भिजनले गर्दा नै जनताले मलाई पत्याउने छन् ।
जनताको व्यापक गुनासो के छ भने – नेताहरू चुनाव जितेपछि दिएका आश्वासन नै बिर्सिन्छन्, उनीहरूलाई भेट्नसमेत पाइँदैन, यदि तपाई विजयी भए हालत त्यही त होला?
निर्वाचित जनप्रतिनिधिका अनेक फण्डा नआएका पनि होनन् । कसले के गरे भन्ने कुरामा म जान चाहन्नँ । मबाट त्यस्तो कदापि हुँदैन । म २४ वर्ष उमेरमा कैलाश गाविसको अध्यक्ष भएँ, त्यसपछि मेरो राजनीतिक जीवन अगाडि पनि बढ्यो । राजनीतिक जीवनमा रहँदा मैले गर्ने व्यवहार कस्तो थियो भन्ने जनतालाई थाहा छ ।
जनताले प्रस्ताव गरेको योजना, प्रस्तावनालाई नै हामीले अगाडि बढाउने छौँ । जनताले मागेका योजनालाई हामी कुनै पनि हालतमा निर्माण गर्ने छौँ, र त्यसको संरक्षणको जिम्मा पनि जनतालाई नै दिइने छ । र, अर्को कुरा भनेको मैले मेरो मनमा म नगरको मेयर हुँ, जयपृथ्वी नगरपालिकाको सरकारको प्रमुख हुँ भन्ने भावना कहिल्यै पनि पाल्दिन । यो मेरो वाचा हो । फरकधारवाट