बझाङमा तरकारी उत्पादन बढ्दा अछाममा घट्यो

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम
बझाङ : केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार तरकारीको समग्र उत्पादन सबैभन्दा बढी बझाङ जिल्लामा भएको पाइएको छ । उक्त जिल्लामा तरकारी उत्पादन ४९दशमलव८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै अछाममा तरकारी  उत्पादन ३४दशमलव२० प्रतिशतले घटेको छ । फलफूल तथा मसला बालीको समग्र उत्पादनमा छ दशमलव२५ प्रतिशतले बढेको छ ।
यस समूहअन्तर्गत केरा उत्पादन ३०दशमलव३७ प्रतिशत, अन्य फलफूल उत्पादन २६दशमलव६७ प्रतिशत, मसला उत्पादन सात दशमलव७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै आँप उत्पादन ४७दशमलव६९ प्रतिशत, स्याउ उत्पादन दुई दशमलव९९ प्रतिशत, र सुन्तला उत्पादन एक दशमलव३२ प्रतिशतले घटेको छ ।
कञ्चनपुर जिल्लामा फलफूल तथा मसला बालीको समग्र उत्पादन ४३दशमलव२४ प्रतिशतले बढेको छ भने डडेल्धुरा जिल्लामा सोही वस्तुको उत्पादन ४१दशमलव४४ प्रतिशतले घटेको छ ।
क्षेत्रगत कृषि कर्जाअन्तर्गत २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७८ असार मसान्तको तुलनामा २३दशमलव३८ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ९० करोड ८१ लाख पुगेको छ । गत वर्ष यस्तो कर्जा ४०दशमलव७१ प्रतिशतले वृद्धि भएको थियो ।
कूल कृषि कर्जामध्ये सबैभन्दा बढी रु पाँच अर्ब ३१ करोड ६० लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाह भएको छ भने सबैभन्दा कम रु १९ लाख ८० हजार सनपाटमा प्रवाह भएको छ ।
कूल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०दशमलव१० प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६५दशमलव६८ प्रतिशत, कञ्चनपुरको १९दशमलव४० प्रतिशत, डडेल्धुरा, दार्चुला, बझाङ, डोटी, बैतडी, अछाम, तथा बाजुराको अंश क्रमशः तीन दशमलव८४ प्रतिशत, दुई दशमलव६३ प्रतिशत, एक दशमलव९७ प्रतिशत, दुई दशमलव६८ प्रतिशत, एक दशमलव४६ प्रतिशत, एक दशमलव४६ प्रतिशत र शुन्ना दशमलव८८ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७७ असार मसान्तको तुलनामा एक दशमलव१९ प्रतिशतले कमी भई रु नौ अर्ब १२ करोड ६३ लाख पुगेको छ । गत वर्ष यस्तो कर्जा १४२दशमलव०१ प्रतिशतले वृद्धि भएको थियो ।
धान बालीका ब्लक र पकेट क्षेत्रमा उन्नत बीउ र रासायनिक मलमा उपलब्ध गराइने अनुदान तथा उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादनमा करिब पाँच प्रतिशतले वृद्धि हुने अध्ययनले देखाएको छ । यस्तै गहुँको उत्पादनमा सात प्रतिशतले वृद्धि हुने अनुमान छ । पकेट र ब्लक विकास कार्यक्रममार्फत तरकारी उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र सिँचाइ सुविधामा वृद्धि हुनाका साथै विभिन्न जिल्लामा मुख्यमन्त्री नमूना गाउँ कार्यक्रम लागू भएका कारण वर्षे तरकारीको उत्पादनमा करिब १० प्रतिशतले वृद्धि हुने अनुमान छ ।
पहाडी जिल्लामा स्याउ जोन, मुख्यमन्त्री नमूना फलफूल गाउँजस्ता कार्यक्रम लागू भएका कारण फलफूलको समग्र उत्पादन छ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञको अनुमान छ ।
नश्ल सुधार, बजार व्यवस्थापन, उन्नत पशु आयात, कृषक पशुपालनतर्फ आकर्षित हुनु, सहुलियत ब्याजदरमा कृषि कर्जा तथा पशु बीमा योजना उपलब्ध हुनाका साथै किसान लेयर्स तथा ग्रामीण कुखुरापालनतर्फ आकर्षित भएका छन् ।
स्थानीयस्तरमा नै मिनी ह्याचरीको स्थापना हुनु, पशुपालनमा मुख्यमन्त्री नमूना कार्यक्रम, मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन जस्ता कार्यक्रम सञ्चालनमा आएका कारण दूध उत्पादनमा सात दशमलव चार प्रतिशत, मासु उत्पादन सात दशमलव तीन प्रतिशत, अण्डा उत्पादन पाँच प्रतिशतले वृद्धि हुने अनुमान भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञले गरेको अध्ययनमा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *