एमालेको जिल्ला अधिवेशन उदघाटन गर्न महासचिव शंकर पोखरेल बझाङ आउने

बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेकपा (एमाले)ले बझाङ जिल्ला कमिटीको अधिवेशन आगामी २२ असारमा सदरमुकाम चैनपुरको पार्टी कार्यालय पानकोटमा आयोजना गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको सदरमुकाम चैनपुर पार्टी कार्यालय पानकोटमा जेठ २४ गते बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

उक्त अधिवेशनलाई उद्घाटन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल बझाङ आउने भएका छन् । बझाङको सदरमुकाम चैनपुर पानकोटमा सम्पन्न ३९ औँ पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि ९४ वटै वडाले १५ असारभित्र प्रतिनिधि चयन गरी १८ असार भित्र छनोट भएका प्रत्येक प्रतिनिधी र आयोजक कमिटीका प्रतिनिधीहरुको छनोट बैठकको निर्णयको फोटोकपी गाउँकमिटी तथा नगरकमिटी मार्फत जिल्ला कमिटीमा बुझाई सक्ने निर्णय पनि गरेको छ ।

बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दमन भण्डारीको संयोजकत्वमा २४१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । बैठकले प्रतिनिधी चयनका लागि चार वटा भुगोललाई आधार बनाउने निर्णय पनि गरेको छ । जसअनुसार (खुल्ला महिला, दलित, जनजाती) खुल्ला सदस्यको हकमा नविकरण भएका २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, ३० देखि ४९ जना बराबर २ जना, ५० देखि ५९ जना बराबर ३ जना प्रतिनिधी चयन हुने छन् ।

त्यसै गरी दलित, महिला, जनजातीको हकमा नविकरण भएका १० जना बराबर १ जना, १५ देखि २० जना बराबर २ जना, २५ देखि ३० जना बराबर ३ जना प्रतिनिधि हुनेगरी मापदण्ड बनाइएको छ ।

बैठकले जिल्ला अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको तयारीका लागि जिल्ला अध्यक्ष दमन भण्डारीको संयोजकत्वमा ५ सदस्यीय उपसमिती, जिल्ला कमिटी उपसचिव सुरत बहादुर सिंहको संयोजकत्वमा ९ सदस्यीय आर्थिक प्रर्तिवेदन लेखन तथा व्यवस्थापन उपसमिती, जिल्ला कमिटी उपाध्यक्ष मोहनराज जोशीको संयोजत्वमा ७ सदस्यीय प्रतिनिधि व्यवस्थापन उपसमिति, जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा ९ सदस्यीय प्रचारप्रसार उपसमिति, जिल्ला कमिटी सदस्य नयन बोहराको संयोजकत्वमा ३ सदस्यीय स्वयंमसेवक परिचालन उपसमिती, जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष देवकी जोशीको संयोजत्वमा ७ सदस्यीय अथिति सत्कार उपसमिती र जयपृथ्वी नगरपालिकाका पुर्व मेयर तथा जिल्ला कमिटी सदस्य विरेन्द्र बहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिती गठन गरेको छ ।

२४ असारमा सम्पन्न हुने जिल्ला अधिवेशनलाई सदरमुकाम चैनपुरमा व्यवस्थित र प्रभावकारी बनाउन ९४ वडा र १२ वटा पालिकामा बैठकको आयोजना गर्ने निर्णय पनि एमाले जिल्ला कमिटीले गरेको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि जिल्ला कमिटीले नै तय गरेको छ ।

बैठकले जिल्ला अधिवेशनभन्दा अघि टोल कमिटीको भेला र कमिटी निर्माण, पार्टी प्रवेश गर्न चाहनेको अभिलेख तयार गर्न पालिका कमिटीलाई सर्कुलर गरेकोछ । एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दमन भण्डारीको अध्यक्षतामा बसेको बैठकलाई पार्टीका केन्द्रिय सदस्य बझाङ जिल्ला सह–इन्चार्ज ऐन महर, एमाले केन्द्रिय सदस्य सह–इन्चार्ज अफिलाल ओखेडा लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

२०७९ असार १५ गते हुने ९४ वटै वडाको प्रतिनिधी छनोटमा सहजिकरण गर्न १ वडामा १ जिल्ला कमिटी सदस्य खटाउने र प्रत्येक वडामा निर्वाचन अधिकृतको रुपमा १ जना नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य खटाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *