प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत

काठमाडौँ । कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ महिनावारी स्वच्छता दूत नियुक्त हुनुभएको छ । उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

आज मन्त्रालयमा खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्नुभएको थियो ।महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो । 

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो । 

उहाँले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो । 

प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा  धनुषा जिल्लाबाट यो अभियानको सुरुवात हुने भएको छ ।