बझाङ : नेकपा एमाले बझाङको असार २२ गते उद्घाटन भएको आठौ जिल्ला अधिबेशनले अझै नेतृत्व चयन गर्न सकेको छैन । एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरब बहादुर सिहंको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
जिल्ला अधिबेशनमा जिल्ला भरिका ८९५ जना प्रतिनिधी सहभाागी भएका छन् । हाल २४५ जना सदस्य रहेको जिल्ला कमिटीलाई खुम्च्याएर ९० सदस्यीय बनाउन लागेकाले पनि नेतृत्व छनोटमा सकस भएको नेताहरुले बताएका छन् ।
९० सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने भनिएकोमा आकांक्षि धेरै भएपछि यो समाचार तयार पार्दा सम्म नयाँ नेतृत्व छनोट गर्न सकस भएको हो ।
जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष दमन भण्डारी, संविधान सभा सदस्य लाल बहादुर रावल (एलवि), जयपृथ्वी नगरपालिकाका निर्वतमान प्रमुख विरेन्द्र खड्का दाबी गरिरहेका छन । सचिवमा आनन्दलाल विक, नयन बोहरा, लोकेन्द्र सिहं, गोकुल सिह चर्चामा छन् । उपसचिबमा रामप्रसाद भट्टको दाबी छ ।
भैरब बहादुर सिहं, ऐन महर, आशा विक र अफिलाल ओखेडा गरी चार जना केन्द्रिय सदस्य रहेका यो जिल्लामा अघिल्लो कार्यकालमा अध्यक्षमा दमन भण्डारी, उपाध्यक्ष मोहन राज जोशी, सचिव आनन्दलाल विक, उपसचिब भागरथी सिहं जिल्ला कमिटीको जिम्मेवारीमा रहेका थिए । तलकोट गाउँपालिकाका निर्वतमान अध्यक्ष लाल बहादुर बिष्ट पनि उपाध्यक्षका आकांक्षी रहेका छन् ।
निवर्तमान पदाधिकारी मध्ये अध्यक्षमा दमन भण्डारिलाई पुनः अध्यक्षमा निर्वाचित गर्नमा चारै जना केन्द्रिय सदस्य सहमत छन तर अध्यक्षका अर्का आकांक्षी संविधान सभा सदस्य लाल बहादुर रावलले पनि आफ्नो दाबी छोडेका छैनन ।
अन्य पदाधिकारीमा केन्द्रिय नेताहरुका आफ्ना आफ्नै निकटका व्यक्ति ल्याउन खोजिरहेका हुदाँ सहमतिका नाममा अधिवेशन लम्बिएको सहभागी प्रतिनिधिहरुले बताएका छन् ।
नेताहरु आ–आफ्ना समर्थकलाई जिल्लाको नेतृत्वमा ल्याउन खोजिरहेका छन् । अधिकांश सहभागी प्रतिनिधीहरुले हलबाट निर्वाचित गरेर नेतृत्व चयन गर्न नेताहरुलाई सुझाव दिइरहेका छन । २४ गते राती सम्म सहमतीमा नेतृत्व चयन गर्ने नेताहरुले बताएपछी धेरै जसो प्रतिनिधीहरु घर फर्किसकेका छन् ।
एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले आफ्नो एकल निर्णय नभएर सहभागी प्रतिनिधीहरुको सुझाव अनुसार जाने बताएका छन् ।