बझाङ: नेकपा एमाले जिल्ला कमिटी बझाङको ८औँ जिल्ला अधिवेशन असार २२ गते देखि सदरमुकाम चैनपुरको पार्टी कार्यालय पानकोटमा चलिरहेको छ । अधिवेशनले शनिबार अध्यक्षमा दमन भण्डारीलाई सर्वसम्मत चयन गरिसकेको छ ।
अन्य पदका लागि पनि सहमतीको प्रयास भए पनि सहमती हुन नसकेपछी निर्वाचनको तयारी थालेको नेकपा एमाले ८औं जिल्ला अधिवेशन निर्वाचन कमिटीले सबै तयारी पुरा गरिसकेपछी ८औं जिल्ला अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष भैरव बहादुर सिंहले अधिवेशन स्थगित भएको सुचना निकालेको छ ।
प्रतिनिधीहरुको हाजिरी, समेत नभएकाले चिन्न गाह्रो, उम्मेदवारको माप्दण्ड पुरा नभएको, लेवी, दायित्व नतिरेको र सर्वसम्मत नेतृत्व चयन गर्ने सहमती उलंघन भएकाले अधिवेशन स्थगित गर्नुपरेको सुचनामा उल्लेख गरिएको छ ।
एमाले ८औं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष भैरव बहादुर सिंहले हस्ताक्षर गरेको सुचनामा निर्वाचन अस्वस्थ, धादलीयुक्त हुने र अर्को सुचना जारी नभए सम्मका लागि अधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ ।
निर्वाचन कमिटीले आफुसंग कुनै परामर्श नगरी एकलौटी ढंगले निर्वाचन नहुने भनेर अध्यक्ष मण्डलले प्रतिनिधी घर पठाउने काम गरेको निर्वाचन समितीले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।
‘अध्यक्ष मण्डलको जिम्मेवारीमा रहेको प्रतिनिधीहरुको हाजिरी, प्रतिनिधी पहिचान, लेवी तथा दायित्व र उम्मेदवारको माप्दण्ड सम्वन्धी विवादमा पार्टीको संगठन विभागले प्रमाणित गरिदिएका विषयमा समेत आफु जिम्मेवारीबाट पन्छिदै अध्यक्ष मण्डलले निर्वाचन कमिटीलाई दोषी देखाएको छ । यी तथ्थ्य विनाका कोरा कुरा मात्रै हुन् ।’ निर्वाचन कमिटीले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।
निर्वाचन कमिटीले उम्मेदवारहरुको नामावली प्रकाशन र मतपत्र समेत छपाई सकेको छ। अध्यक्ष मण्डलले मनपरी ढंगले अधिवेशन स्थगितको सुचना जारी गरेपछी आफु पनि सुचना जारी गर्न बाध्य भएको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशन अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ ।