बुबा वडा सचिव, छोरा सरकारी मोटरसाइकल सिक्ने सिकाउने

बझाङ सुदुरपश्चिम

बझाङ । जयपृथ्वी नगरपालिकाले जनप्रतिनिधीका लागी भनेर वितरण गरेका सवारी साधनको दुरुपयोग भएको पाइएको छ । वडाध्यक्ष र वडाका कर्मचारीहरुले गर्ने सेवा प्रवाहमा सहजता होस् भनेर नगरपालिकाबाट वितरण गरिएका सवारी साधनको दुरुपयोग हुने गरेको पाइएको छ ।

स्थानीय तहको पहिलो कार्यकालमा जनप्रतिनिधीको रुपमा आएका जनप्रतिनिधीहरुले आर्थिक वर्ष २०७४/०७५ मा सवै वडाका वडाध्यक्ष र अन्य नगरपालिकाका कर्मचारीहरुका लागी भन्दै मोटरसाइकल वितरण गरेको थियो । तर नगरपालिकाले वितरण गरेका सवारी साधनहरु वितरण गरेको समयदेखी नै दुरुपयोग हुने गरेका छन् । नगरपालिकाले दिएका सवारी साधनहरुलाई सवारी चालक अनुमती पत्र नभएका व्यक्तिहरुले जथाभावी चलाउने, कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा बढी प्रयोग हुने, वडाका जनप्रतिनिधी र कर्मचारीहरुभन्दा बढी बाहिरका व्यक्तिहरुले चलाउने गरेको पाइएको छ । पछिल्लो समय नगरपालिकाले वितरण गरेका सवारी साधन सरकारी कार्यालयको कामका लागी भन्दा बढी सिकारुहरुले प्रयोग गर्ने गरेका छन् ।

यसैवीच अहिले सामाजिक संञ्जाल एउटा भिडीयो निकै नै चर्चित भएको छ । जयपृथ्वी नगरपालिका वडा नं. १ को सरकारी बाइकको दुरुपयोग गरेको भिडीयो अहिले सामाजिक संञ्जालमा भाइरल बनेको हो । उक्त भिडीयोमा एक खेतको कुना चारपाँच जनाको समुहमा मानिसहरुको उपस्थिती देखिन्छ । त्यसैमध्येका एकजना खेतमा बाइक घुमाइरहेका हुन्छन् । केही समय उनले बाइक घुमाएपछि अर्का एकजनाले बाइकको एक फन्को लगाउँछन् । बाइकलाई खेतको छेउमा लिएर बाइक हाक्ने राइडर हुन् जयपृथ्वी नगरपालिका वडा नं. १ का वडा सचिवका छोरा । उनीसँग न त सवारी साधन संञ्चालन अनुमती पत्र छ, नत उनी सरकारी सेवासँग आवद्ध व्यक्ति हुन् । उनी मात्र नभएर यसअघी पनि उक्त बाइक पटक पटक दुरुपयोग गर्ने गरिएको स्थानीयहरुले बताएका छन् ।

यता जयपृथ्वी नगरपालिकाका सुचना अधिकारी लालबहादुर थापाले भने सरकारी सवारी साधनलाई दुरुपयोग गर्न नपाइने र कसैले गरेको पाइएको खण्डमा नगरपालिकाले कार्वाही गर्ने बताएका छन् । उनले नगरपालिकाको काम र वडाको कामबाहेक अन्य काममा सवारी साधन प्रयोग गर्न नपाइने र व्यक्तिगत रुपले विना अनुमतीपत्र सवारी साधन हाक्न झनै नमिल्ने बताएका छन् ।

यस विषयमा जयपृथ्वी नगरपालिकाका वडाध्यक्ष डम्बरबहादुर सिंहले भने आफुलाई कुनै जानकारी नभएको बताए । वडा कार्यालयको बाइक वडा सचिवको साथमा रहेको कारण कसरी दुरुपयोग भयो भन्नेवारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफुले उक्त गाढी नबुझेको र आफुले बाइक निर्वाचित भएको अहिलेसम्म प्रयोग समेत नगरेको वडाध्यक्ष सिंहले बताए । साभार: फरकधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *