रिदम सिंह, बझाङ । सामाजिक तथा वीत्तीय सीप रुपान्तरण सम्बन्धि सहजकर्ताहरुलाई ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम आजवाट चैनपुरमा सुरु भएको छ । युएनएफपिएको आर्थिक सहयोग तथा भिएसओ र पीसवीन नेपालको आयोजनामा सहजकर्ताहरुलाई ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइन लागेको हो । तालिममा जिल्लाको वित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका र जयपृथ्वी नगरपालिकामा गठन गरिएका २४ वटा किशोरकिशोरी समुहका २४ जना सहजकर्ताको सहभागिता रहेको छ ।
जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंह प्रमुख अतिथी रहनु भएको थियो भने, सामाजिक विकास कार्यालयका प्रमुख विरबहादुर धामी र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा जयपृथ्वीमा कार्यरथ मिना रेग्मी विशिष्ट अतिथी रहनु भएको थियो । त्यसैगरी कार्यक्रममा यूएनएफपिएका कार्यक्रम संयोजक धनबहादुर लम्साल र गणेश शाहीले तालिमको बारेमा जानकारी गराउनु भएको थियो । ८ दिने तालिममा किशोरकिशोरी समुहका सहजकर्ताहरुलाई प्रशिक्षक देवकी सिंह र रमिता सिंहले तालिम दिनुहुने पीसवीन नेपालका जिल्ला कार्यक्रम संयोजक भुवन सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत धनबहादुर लम्सालले युएनएफपिएका कार्यक्रमहरु बालविवाह बढी हुने देशहरुमा लागु भएको र कार्यक्रम संञ्चालन पश्चात् राम्रो प्रभाव परेको बताउनु भयो । लैङ्गिक विभेद, समान व्यवहार, किशोरकिशोरी रुपान्तण, यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउदै, लम्सालले रुपान्तरण कार्यक्रममा सहभागी किशोरकिशोरीहरुमा नेतृत्व लिन सक्ने क्षमताको विकास भएको बताउनु भयो । साथै जिल्लाका ४ पालिकाका २ हजार वढी किशोरकिशोरीहरुलाई रुपान्तरण तालिम दिने लक्ष्य रहेको समेत उहाँले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले नेपाललाई सन् २०३० सम्म बालबिवाह मुक्त देश बनाउनका लागी नेपालले अन्तर्राष्ट्रिय रुपमा नै प्रतिवद्धता जनाएका कारण बालबिवाह अन्त्यका लागी किशोरकिशोरीहरुलाई रुपान्तरण कक्षा आवश्यक रहेको बताउनु भयो । ‘सामाजिक दिगो विकासको लक्ष्य प्राप्तीका लागी बाधक बनेको बालबिबाह अन्त्य गर्न आवश्यक रहेको छ । बालबिबाह अन्त्यका लागी हाल विश्वका १२ वटा राष्ट्र लागि परेका छन्,’ शाहीले भन्नुभयो, ‘बालबिबाहसँगै पछिल्लो समय लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने प्रचलन बढेको छ । १०० जना छोरी जन्मदा नेपालमा १ सय १० जना छोराहरु जन्मने गरेको र त्यो छोरी जन्मने तुलनामा निकै बढी छ । सरदर १ सय ४ छोरा जन्मनु स्वभाविक भएपनि त्यो निकै बढी रहेको छ । यसवाट पनि लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेहरुको संख्या धेरै रहेको पुष्टी हुन्छ ।’
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख विरबहादुर धामीले सामाजिक विकास कार्यालयमा आउने कुल बजेटको १५ प्रतिशत बजेट महिला तथा बालबालिकाको क्षेत्रमा छुट्याउनु पर्ने भएका कारणआगामी दिनहरुमा संस्था र आफुहरु सँगै अघाडी बढ्न सकिने बताउनु भयो । देशका तीनवटै सरकार र अन्य दातृ निकायहरुले एकै तरिकाले काम गर्ने र एक आपसमा सहकार्य गरी आवश्यकताका आधारमा काम गरेको खण्डमा त्यसले रुपमान्तरणमा राम्रो प्रभाव पार्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले समाजमा रहेका विकृतिहरुलाई न्युनिकरण गर्नका लागी बालबालिका सशक्त माध्याम भएको बताउँदै बालबालिका माथी हुने विभेदको अन्त्य गर्नका लागी बालबालिका आफैले अग्रसर हुन आवश्यक रहेको बताउनु भयो । ‘परिवार, समाज र आफैभित्र संघर्ष गर्न सकेको खण्डमा रुपान्तरण सम्भव छ,’ उपप्रमुख सिंहले भन्नुभयो ‘समाजमा जुन तल्लो स्तरका मान्छे अर्थात आर्थिक, सामाजिक रुपले पिल्सिएका नागरिकहरुको आवाज उठाउन र अधिकारको सुनिश्चित गर्नका लागी बालबालिकाहरुलाई रुपान्तरण शिक्षा दिन आवश्यक रहेको छ ।’ साथै आगामि दिनहरुमा सेवा प्रवाह गर्ने संघसंस्था र नगरपालिकाले आपसमा सहकार्य गरेर अघाडी जाने समेत उपप्रमुख सिंहले बताउनुभयो ।