बझाङ: बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्।
मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्।
मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउदै छौँ। त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं। नक्साअनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडिदैन। त्यसका लागि म काठमाडौंका मेयर बालेन जस्तै डोजर हान्न तयार छु। साथीहरूले त्यसमा सहयोग गर्नुहोला।’
धेरै स्थानीयले नक्सा पासविनै सदरमुकाम चैनपुरमा घर बनाएकाले सूचना दिएर त्यस्ता संरचना भत्काउने नगरपालिकाको अभियान रहेको उनको भनाइ छ। केही इन्जिनियरसँग पनि आफूले छलफल गरेको र अझै पनि स्थानीयसँग छलफल गरी स्मार्ट सिटी बनाउने योजनामा नगरपालिका रहेको मेयर बजालले दाबी गरेका छन्।
मेयर बजालले आफू नगरपालिकाभित्रका समस्यासँग पहिल्यैदेखि परिचित भएकाले समस्या समाधानतर्फ चिन्तित रहेको बताए। उनले पहिले एक महिनाभित्रै सिसिटिभी क्यामेरा जडान गर्ने र चैनपुरमा जथाभावी फोहोर फाल्नेमाथि निगरानी गरिने र कुहिने नकुहिने फोहर व्यवस्थापन गरिने बताए।
नगरपालिकाका हरेक समस्याले आफूलाई राति निदाउँदा पनि चिन्ता थप्ने गरेको तर कतिसम्म गर्न सकिन्छ आगामी दिनले बताउने मेयर बजालले सहभागीलाई बताए। जयपृथ्वी नगरपालिकावासीले बढी परिणाम खोजिरहेकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ थियो।