बझाङ – बझाङको तलकोट गाउँपालिकाको डाँडापुच्छामा चुनावी घोषणा पत्र अनुसार नेपाल टेलिकमको टावर जडान गरिने भएको छ ।
मष्टा गाउँपालिकामा टावर भए पनि तलकोट गाउँँपालिका वडा नम्बर १ का सुनिकोट, धमेना, विकुल्ली, गुठिचौर, जयपृथ्वी नगरपालिका ११ को सुइल र सुर्मा गाउँपालिकाको गजौनलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको छैन ।
सोही क्षेत्रका स्थानियहरुको माग अनुसार गाउँपालिकाको पहलमा नमस्तेकोे टावर जडान गरिन लागेको हो ।
सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी शुक्रबार टावरको सर्वे गरिएको र केहि दिनमा ठेक्का प्रक्रिया हुने तलकोट गाउँपालिका- १ सुनिकोटका वडाअध्यक्ष रामचन्द्र रावलले बताए ।
गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता थियो ।
वडा नं १ मा रहेको तातो पानी रहेको तपोवन क्षेत्र घुम्न आउनेहरुको संख्या बढदै जाँदा सो क्षेत्रमा सञ्चारको सुविधा हुन नसकेकाले समस्या हुने गरेको थियो ।
‘यो क्षेत्र सञ्चारबाट निकै विकट थियो । गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता थियो ।’ वडाअध्यक्ष रावलले भने, ‘चुनावको बेला मैले बनाएको घोषणा पत्र अनुसार सो क्षेत्रमा छिट्टै टावर सञ्चालनमा ल्याउने गरी काममा लागेको छु ।’
अहिले गाउँपालिका, वडा र नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरको पहलमा टावर जडानको कार्य सुरु भएको जनाएको छ ।
महरले केहि समय अगाडि गाउँपालिका अध्यक्ष कलक बहादुर रोकाया संग भेटवार्ता गरी संचारमा पहुँच नभएका क्षेत्रहरुमा टावर जडान गर्न आग्रह गरेका थिए ।
वडाअध्यक्ष रावलले अहिले आफुले चुनावमा गरेका अन्य प्रतिवद्धता पुरा गर्नका लागि जनता संग निरन्तर भेटघाट गरिरहेको बताए ।