बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ ।
प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।
प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’
उनले राष्ट्रिय गान पश्चात कार्यालयको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको जानकारी दिए ।