काठमाडौँ — मन्त्री भएपछि रवीन्द्र अधिकारीले प्राथमिकता दिएको एउटा काम थियो– बन्द भएका विमानस्थल सुचारु, स्तरोन्नति र सम्भावित स्थानमा नयाँ विमानस्थल निर्माण ।यही योजनाअनुसार उनले बन्द भएका आधा दर्जन विमानस्थल सुचारु गरे ।
चलिरहेका केही विमानस्थल स्तरोन्नति गरे । बुधबार उनी विमानस्थल निर्माणको अध्ययन गर्न तेह्रथुम पुगेका थिए । सम्भावना भए पनि वर्षौंदेखि एयरपोर्ट बन्न नसकेको तेह्रथुम यसपल्ट सरकारको प्राथमिकतामा परेको थियो ।
त्यही निर्णय कार्यान्वयनका लागि थप अध्ययन गर्न उनी तेह्रथुम पुगेका थिए । दुर्भाग्य, त्यतैबाट उनी कहिल्यै नफर्किने गरी बिदा भएका छन् । बिहानैदेखि धुम्म परेको मौसम छिचोल्दै तेह्रथुम पुगेका अधिकारीका लागि त्यही मौसम काठमाडौं फर्किने बेला प्रतिकूल बन्यो ।
हँसिलो अनुहार, मिलनसार व्यवहार, सधैं केही गरौं भन्ने जोसले भरिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी धेरैका प्रिय थिए । उनको निधनमा सामाजिक सञ्जाल स्तब्ध छ, सर्वसाधारण मलिन छन् ।
मुलुक शोकमा परेको छ । शोकमा बिहीबार मुलुकभर सार्वजनिक बिदा दिइएको छ । ‘धेरै युवा बिदेसिइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ, राजनीतिबाटै सुधार गर्न सकिन्छ भनेर लागेको र राम्रो गरिरहेको जुझारु नेता गुमाउनुपरेको छ,’ अधिकारीले आफ्ना गुरु मान्ने त्रिभुवन विश्वविद्यालय पूर्वउपकुलपति केदारभक्त माथेमाले भने । माथेमाका अनुसार राजनीतिलाई फोहोरी खेल मान्ने जमात थियो, राजनीति आफैं विकृत पनि बनेको थियो ।
सर्वत्र निराशा छाएका बेला ‘आशाको दियो’ का रूपमा अधिकारी उदाएका थिए । त्यसैले पूर्वउपकुलपति माथेमा आफूलाई भेट्न आउने विद्यार्थी र युवालाई अधिकारीको उदाहरण दिने गर्थे । ‘म उपकुलपति हुँदा उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुनुहुन्थ्यो, त्यो बेलादेखि नै उहासँग सम्पर्कमा थिएँ, अरूलाई पनि उहाँजस्तो बन्न भन्थें,’ माथेमाले अधिकारीबारे भने, ‘राजनीतिलाई फोहोरी खेल भनेर युवा अन्यत्र हिँड्न थालेको अवस्थामा उहाँ कमलजसरी फुल्नुभएको थियो ।’
अधिकारी तिनै व्यक्ति हुन्, जो विद्यार्थी राजनीतिदेखि नै राष्ट्रिय मुद्दाको नेतृत्व गर्थे । तिनै नेतृत्वदायी भूमिकाको सम्मानस्वरूप २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा गरी लगातार तीनवटा चुनावमा कास्कीका जनताले जिताए ।‘केही गरौं भन्ने भावना धेरैले राख्न सक्छन् तर त्यसअनुसार आफ्नो दृष्टिकोण पनि राख्ने र त्यसमा प्रतिबद्ध भएर लाग्नेहरू थोरै हुन्छन्,’ विद्यार्थी आन्दोलनमा सहकार्य गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘रवीन्द्रजीसँग केही गरौं भन्ने भावना मात्र होइन, दृष्टिकोण पनि थियो ।’
उनका अनुसार अधिकारी जहिल्यै केही नयाँ गरौं भनेर हिँडिरहे । त्यसैले उनको राजनीतिक उचाइ पनि चुलिँदै गयो । समकालीन अन्य नेताभन्दा छिट्टै उनी राजकीय जिम्मेवारी लिन पुगे । ‘विद्यार्थीलाई सहुलियत दिने आन्दोलन होस् कि तत्कालीन राजपरिवारका सदस्य पारसविरुद्ध हस्ताक्षर संकलनको नेतृत्व रवीन्द्रजीले गर्नुभयो,’ नेकपाका केन्द्रीय सदस्य एवं अधिकारीकै समकालीन राजेन्द्र राईले भने, ‘उहाँले कहिल्यै पदको लालच गर्नुभएन, जे–जे प्राप्त गर्नुभयो, आफ्ना असल कर्मले प्राप्त गर्नुभयो । पदले उहाँलाई आफैं पछ्याउँदै आयो ।’
२०२६ साल वैशाख २२ गते कास्कीको भरतपोखरी, जामुनाबोटमा जन्मिएका अधिकारी पृथ्वीनारायण क्याम्पसमा पढ्न थालेपछि राजनीतिमा जोडिए । २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए । सानैदेखि नेतृत्व गर्ने क्षमता भएका अधिकारीले २०५७ सालमा तत्कालीन राजपरिवारमाथि औंला ठड्याए ।
तत्कालीन शाहज्यादा पारस शाहको कारले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको निधन भयो । घटना थापथुप पार्न दरबारले नक्कली ड्राइभर खडा गर्यो । अधिकारीले पारस शाहको ज्यादतीविरुद्ध आन्दोलनको नेतृत्व गरे । ‘हत्यारा बस्ने दरबारमा हैन, जेलखानामा हो’ भन्दै हस्ताक्षर संकलन गरी पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाए ।
त्यतिबेला राजदरबारका सदस्यहरूमाथि हत्याराको संज्ञा दिँदै हस्ताक्षर अभियान चलाउनु चानचुने कुरा थिएन । तत्कालीन मालेको विद्यार्थी संगठनको नेता रहेका अधिकारी उक्त घटनापछि राष्ट्रिय रूपमा परिचित भए । त्यस्तै अधिकारीले विद्यार्थीलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत छुट दिलाउने आन्दोलनको नेतृत्व गरे । त्यसको प्रतिफल अहिले पनि विद्यार्थीले पाइरहेका छन् ।विद्यार्थी फाँट छोडेपछि अधिकारी पार्टीको मूल काममा लागे । २०६२/६३ को जनआन्दोलन लगायतमा अग्रमोर्चामा रहेर लडदा अधिकारीले पटक–पटक गरी पाँच महिना जेल जीवन पनि बिताए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कास्की क्षेत्र ३ बाट निर्वाचित भएपछि संसदीय मोर्चामा आफूलाई अब्बल सावित गरे ।
सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत्, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडेबल पासर्पोटलगायत विवादित विषयको अध्ययन गर्ने उपसमितिमा बसेर नेतृत्व गरे । संविधानसभामा राष्ट्रिय हित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधान निर्माणमा निरन्तर खबरदारी गरे ।
२०७० को चुनावपछि उनी संसदको विकास समिति सभापति बने । उनले समितिको भूमिकालाई नै नयाँ ढंगले परिभाषित गरिदिए । राष्ट्रिय गौरवका योजना र अन्य विकासका योजनालाई सफल बनाउन उनले संसदीय मोर्चाबाट गरेको नेतृत्व धेरैका लागि स्मरणीय छ । विकास समितिमा देखाएको नेतृत्व क्षमताकै कारण उनलाई पार्टीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको थियो । पार्टीभित्र हुने सैद्धान्तिक लडाइँमा अधिकारी तटस्थ बसेनन्, कुनै न कुनै नेताको लाइन पक्रे ।
तत्कालीन एमाले विभाजन हुँदा नेकपा मालेतिर लागे र वामदेव गौतमको निकट भएर काम गरे । पछिल्लो समय अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट भएर काम गरे । पार्टीभित्र हुने गुटबन्दीका निम्छरा खेलमा उनी संलग्न थिएनन् । सबै नेतासँग समदुरीको सम्बन्ध राख्थे ।
‘राजनीतिमा अत्यन्त उज्ज्वल सम्भावना बोकेका तपाईंसित सँगै यात्रा गर्ने सम्भावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन,’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लेखेका छन् । मन्त्रिपरिषद्मा सँगै काम गरिरहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखेका छन्, ‘श्रद्धाञ्जलीका यी शव्द लेख्नुपर्दा हात काँपिरहेका छन् । कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ? अलबिदा रवीन्द्र कमरेड, हाम्रो सम्झनाको क्यानभासमा तपाईं सधैंभरि बाँचिरहनु हुनेछ ।’
अधिकारी पूर्णतः कमजोरीविहीन थिएनन् । काम गर्ने सवालमा उनीमाथि कतिपय विन्दुमा प्रश्न पनि आए । ४९ वर्षे जीवनको बहिखातामा उनले खेपेका प्रश्नभन्दा बढी आफ्नो कामबाट दिएका जवाफको सूची लामो छ । त्यसैले त मन्त्री ज्ञवालीले भनेजस्तै धेरैको सम्झनाको क्यानभासमा अधिकारी छाइरहेका छन् ।
प्रश्न अधुरै
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगको प्रश्नोक्तरको कार्यत्रम हुने संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको थियो । बैठकको सुरुमै अधिकारीसँगको प्रश्नोत्तर हुने कार्यसूची थियो । सांसद गगन थापाले फेक रेस्क्युबारे अध्ययन गर्न बसेको समितिको प्रतिवेदन किन सार्वजनिक भएन ? भन्ने प्रश्न टिपाएका थिए ।
अधिकारीले थापाको प्रश्न सामना गर्ने सचिवालयलाई जानकारी दिइसकेका थिए । बिहीबार १ बजेलाई तय गरिएको संसद् बैठक प्रश्नोत्तरमा होइन अब उनै अधिकारीको शोकमा डुब्नेछ । थापासहित सांसदहरूको अधिकारीलाई प्रश्न गर्ने इच्छासमेत अधुरै रहने भएको छ ।