स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता

बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :  नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको  अन्र्तगत जयपृथ्वी बहुमुखि क्याम्पसमा संगठन दर्ता गरेको छ ।

अनेरास्ववियुका बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीको नेतृत्वमा गएका विद्यार्थीहरुले शुक्रबार स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गरेको हो ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि संगठन दर्ता गरिएको क्याम्पस कमिटीका अध्यक्ष सत्यराज सिंहले जानकारी दिए ।

चैत ८ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकेको छ ।

यस्तै, २९ गते अन्तिम मतदाता नामावली प्रकाशन, ३० गते उम्मेदवारका लागि मनोनयन वितरण गरिनेछ। चैत १ मा उम्मेदवारको मनोनयन दर्ता गरिने कार्यक्रम छ ।

चैत २ मा उम्मेदवारको नामावलीमा दाबी, विरोध र त्यसमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

३ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।

चैत ८ गते बिहान ८ देखि ४ बजेसम्म मतदानको कार्यतालिका छ। सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो ।

पहिलो पटक हुन लागेको निर्वाचन प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीमा हुन लागेको छ ।

२०६६ मा विश्वविद्यालय स्थापना भएको थियो । विश्वविद्यालयको कानुन संकायका डिन कर्ण थापाका अनुसार निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा हुनेछ ।

सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन प्रत्यक्ष हुनेछ । उपसभापति, सहसचिव र सदस्यहरू समानुपातिक प्रणालीबाट आउनेछन ।

डिन थापाका अनुसार स्ववियुको कार्यसमिति विद्यार्थी संख्याको आधारमा ११ देखि १५ सदस्यीय हुनेछ ।

सदस्यहरू आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणालीबाट छनौट हुनेछन् ।

कार्यसमितिमा बहुमत प्राप्त संघ, संगठनले निर्वाचित सदस्यमध्येबाटै उपसभापति र सहसचिव चयन गर्ने कार्यविधि रहेको उनले बताए ।

प्रत्यक्ष र समानुपातिक दुवैका लागि एउटै निर्वाचन कार्यतालिका छ। केन्द्रीय क्याम्पस र आंगिक गरी १५ वटा क्याम्पसमा एकै दिन निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए ।

उनका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा १७ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *