बझाङ : लामाे समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ ।
मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् ।
बझाङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ र सुदुरपश्चिम विश्वविध्यालय अन्तर्गतकाे १ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिस्पर्धी खडा भइसकेका छन् ।
यसैक्रममा बझाङमा त्रिविअन्तर्गतका ७ क्याम्पसमा उम्मेदवारी मनोनयन भइसकेको छ । केहीमा भने विवाद कायमै रहेको छ ।
४ सय १७ जना विद्यार्थी मतदाता रहेको सेती क्याम्पस बगडगाउँमा स्ववियु नेतृत्व हत्याउने दाउमा नेपाली कांग्रेसनिकट नेवि संघबाट अस्मिता कुमारी सिंह र नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट लक्ष्मण गिरि मुख्य दाबेदारको रूपमा देखिएका छन् ।
सेती क्याम्पसको पहिलो महिला उम्मेदवार अस्मिता
सेती क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि विद्यार्थी संघ वा संगठनबाट सभापतिमा महिला उम्मेदवार बनेका थिएनन् ।
चैत ५ मा हुने निर्वाचनमा नेविसंघले अस्मिता कुमारी सिंहलाई सभापतिको उम्मेदवारको रूपमा अघि सारेको छ । निर्वाचन जितेको खण्डमा अस्मिता सेती क्याम्पसबाट सभापति जित्ने पहिलाे विद्यार्थी नेतृ बन्नेछिन् ।
यस्तो छ सेती क्याम्पसकाे स्ववियु इतिहास
इतिहास केलाउँदा सेती क्याम्पस अनेरास्ववियुको ‘पकेट’ क्याम्पसको रूपमा देखिन्छ । अहिलेसम्मका लगभग सबै स्ववियु निर्वाचनमा यहाँ अनेरास्ववियुले बाजी मारेको छ ।
तर, नेताहरूको शब्द सापटी लिने हो भने मतदाता कसैका पनि निजी होइनन् उनीहरुले स्वतन्त्र निर्णय गर्छन् ।
नेताकै कुरालाई ध्यानमा राख्दा भने सेती क्याम्पसमा पनि बितेकाे समयमा धेरै कुरा बदलिएको सहजै अनुमान लगाउन सकिन्छ ।
परिवर्तनको ज्वलन्त उदाहरण गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान उमहानगरपालिका, धनगढी उपमहानगरपालिका कै निर्वाचन एवम् मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनलाई नै लिन सकिन्छ ।
देशको राजनीतिमै आम मतदाताको चेतनामा आएको रुपान्तरणले सबै अवस्था बदलिरहँदा सेती क्याम्पसमा पनि विगतको भाष्य कायमै रहन्छ भन्ने छैन भन्छन् यहाँका विद्यार्थी अगुवा ।
को हुन् अस्मिता कुमारी सिंह ?
२०६० सालमा जन्मिएकी अस्मिता बझाङकाे छविसपाथिभेरा गाउँपालिकाकी स्थानिय बासिन्दा हुन् ।
उनका अंकल करनजंग सिंह पनि नेपाली काँग्रेसकाे राजनीतिमा सशक्त छन् ।
हाल नेपाली काँग्रेस बाटै वडाअध्यक्ष जितेका छन् । अंकल लगाएत घरपरिवारकाे प्रभावस्वरूप उनले अन्याय र अत्याचारविरुद्ध बोल्ने गुण सानैदेखि सरेको निकटस्थ बताउँछन् ।
विद्यालयदेखि नै सामान्य राजनीतिमा रुचि राखेकी अस्मिताले माध्यामिक तहकाे शिक्षा अध्ययन गर्दै गर्दा नेविसंघकाे विध्यालय समितिको अध्यक्ष भएर काम गरेकी थिइन् ।
उनि अहिले नेविसंघकि जिल्ला सदस्य पनि रहेकि छन् ।
मानवीय सम्बन्ध स्थापित गर्न माहिर उनलाई उनको क्षमता र दक्षताकै आधारमा नेविसंघले सभापतिको उम्मेदवार सर्वसम्मतमा सिफारिस गरेको नेविसंघका एक नेता बताए।
यस्ता छन् अस्मिताका एजेण्डा
लामाे समयदेखि अनेरास्ववियुले एकछत्र राज गरेको सेती क्याम्पसमा नेवि संघको जग हाल्ने अस्मिताको लक्ष्य छ । जुन चुनौतीपूर्ण छ । यद्यपि उनी आफू अनेरास्ववियुको खम्बा भत्काउने गरी तयारीमा रहेको बताउँछिन् ।
विशेषगरी उनले आफ्नो क्याम्पस परिसरलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन भूमिका खेल्ने बताउँछिन् । त्यस्तै, महिलामैत्री, अपांगमैत्री सेती क्याम्पस एवंम जिल्लाकै उत्कृष्ट छवि बोकेको क्याम्पसका रुपमा स्थापित गर्न विद्यार्थी प्रतिनिधिका तर्फबाट गर्नुपर्ने जिम्मेवारीलाई अक्षरंश पालना गर्ने उनको उद्घोष छ ।
विद्यार्थीहरुबाट शिक्षक डराउनुपर्ने अवस्थाको अन्त्य गर्न, विद्यार्थीहरुलाई वृत्ति विकासका लागि विभिन्न कार्यक्रमहरु गर्न, महिला विद्यार्थीहरुको सुरक्षा प्रत्याभूतिका लागि विशेष भूमिका निर्वाह गर्ने अस्मिताका एजेण्डा रहेका छन् ।
सभापतिको उम्मेदवारमा नेविसंघ र अनेरास्ववियु मुख्य प्रतिस्पर्धामा देखिएको छ । एमाले निकट अनेरास्ववियुकाे साथमा नेकपा एसनिकटको अनेरास्ववियू पनि छ । अस्मितालाई माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी ) काे साथ देखिन्छन् ।
अस्मिता आफू विद्यार्थीको दु:खसुखमा सधैँ सँगै रहेको भन्दै निर्वाचन जित्नेमा आशावादी देखिएकी छन् ।
उनले भनिन्,‘आम विद्यार्थीमा आएको परिवर्तन महिलाप्रतिको सम्मानका विषयले पनि मलाई अवश्य जिताउँछन् ।
सचेत विद्यार्थीले आफूलाई मत हाल्ने उनको अपेक्षा छ । लामो समयसम्म विद्यार्थी आन्दोलनमा सक्रिय भएको विषयलाई बुझेर पनि मलाई साथ दिनुहुन्छ ।`