सरल सीप समुह प्रशिक्षक प्रशिक्षण सम्बन्धी चार दिने तालिम सम्पन्न

बझाङ समाचार

रिदम सिंह, बझाङ । सरल सीप समुह प्रशिक्षण प्रशिक्षक सम्बन्धी चार दिने तालिम आज सम्पन्न भएको छ । प्रगतीशिल युवा समाज बझाङको आयोजना, वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग तथा जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकासँगको सहकार्यमा संञ्चालन गरिएको उक्त तालिमको आज एक कार्यक्रमकावीच समापन गरिएको हो ।

जिल्लाका दुई पालिका जयपृथ्वी नगरपालिका र केदारस्यूँ गाउँपालिकाका परियोजना लागु बालबालिकाहरुमा राम्रो छुवाई र नराम्रो छुवाई, हिंसा र हिंसाका प्रकार, हिंसा हुने स्थान र सुरक्षाका उपायहरु, बालबालिका माथी हुने अन्लाइन जोखिमका किसिम तथा ती जोखिमहरुलाई कसरी माधान गर्न सकिन्छ, अनलाइन सम्बन्धीका समस्या तथा जोखिममा परेको खण्डमा त्यसबाट कसरी जोगिने लगायतका विषयमा जानकारी दिने उदेश्यले चार दिने तालिमको आयोजना गरिएको थियो । साथै परियोजना लागुभएका वडामा रहेका दर्ता गरिएका बालबालिकाहरुलाई विद्यालय बाहेकको अतिरिक्त पढाईको महत्व, जीवन र उदेश्य लगायतका विषमा जानकारी दिनका लागी साथी शिक्षकहरुलाई चारदिने तालिम दिइएको परियोजना संयोजक विनोद थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बालबालिकाको सवालमा काम गर्नका लागी साथी शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने र बालबालिकालाई जीवन र जीवनको महत्व वुझाउनका लागी साथी शिक्षकहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । साथै उनीहरुलाई पढाई मात्रै नभइ समग्रमा स्वास्थ्य, शिक्षा तथा जीवन उपयोगी शिक्षा दिनका लागी साथी शिक्षकको अवधारणा तयार पारिएका कारण आज हामीले बालबालिकालाई सही ज्ञान र सीप दिन सकेको खण्मा ती बालबालिकाले भोली समाज र राष्ट्रका लागी महत्वपूर्ण भुमिका निर्वाह गर्ने केसीले बताउनुभयो ।

त्यसैगरी प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बालबालिकाहरुमा हुने हिंसा, उनीहरुमाथी राखिने खराव नजरका बारेमा जानकार बनाउन तथा सफल बालबालिकाको रुपमा स्थापित गर्नका लागी साथी शिक्षकको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । साथी शिक्षकहरुले आफुले गर्ने काम नितान्त समाजिक कार्य रहेको र भोलिका सक्षम ब्यक्ति निर्माणका लागी आफुले काम गरिरहेको छु, भन्ने मनसाय राखी काम गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी रहनु भएका वल्र्डभिजन इन्टरनेशनल नेपाल बझाङका फिल्ड कोडिनेटर तिलक केसीले आज विश्व प्रविधि र विकासका रुपले नेपाल धेरै विकसित भइसकेको भएपनि नेपाली बालबालिको क्षेत्रमा प्रगतिका पाइलाहरु चाल्न थालेको बताउँदै बालबालिकाको स्वास्थ्य सवैभन्दा महत्वपूर्ण कुरा रहेको उहाँले बताउनुभयो । बालबालिकालाई सरसफाई अनुशासनका क्षेत्रमा मात्रै पनि अब्बल बनाउन सकेको खण्डमा त्यसले ठुलो परिवर्तन ल्याउने बताउनुभयो ।

प्रगतिशिल युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा अहिले बझाङका दुई पालिकामा विभिन्न परियोजना संञ्चालन भइरहेका छन् । जयपृथ्वी नगरपालिकाको वडा नं. १,३,६,८,९ र ११ मा त्यसैगरी केदारस्यूँ गाउँपालिकाका २, ३, ६, ७ र ८ नं. वडामा यो परियोजनाले काम गरिरहेको छ । सरल सीप समुह प्रशिक्षक प्रशिक्षण तालिममा जयपृथ्वी नगरपालिका र केदारस्यूँ गाउँपालिकाका २२ जना साथी शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *